हिमाल आरोहणबाट सरकारलाई ४९ करोड राजस्व, सगरमाथाबाट मात्रै ४३ करोड



काठमाडौं । यस वर्षको बसन्तकालिन सिजनमा हिमाल आरोहण गर्ने हालसम्मकै सबैभन्दा बढी ८ सय २० जनाबाट झण्डै ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले भने, ‘यस सिजनमा २७ वटा हिमाल आरोहणका लागि ९८ समूहबाट ८ सय २० जनाले अनुमति लिएका छन् । जसबाट ४८ करोड ७३ लाख ८ हजार १ सय ९२ रुपैयाँ राजस्व संकलन भएको छ ।’

२७ वटा हिमालमध्ये समध्ये सबैभन्दा बढी सगरमाथा आरोहरणका लागि ३ सय ६२ जना विदेशी र १३ जना नेपालीले आरोहणको अनुमति लिएका छन् । जसबाट ४३ करोड ६२ लाख ३० हजार ९ सय १२ रुपैयाँ संकलन भएको थापाले जानकारी दिए ।

त्यस्तै, लोत्से हिमाल आरोहणका लागि अनुमति लिने ९२ जना विदेशी नागरिकबाट १ करोड ८१ लाख ४८ जार ८ सय १५ रुपैयाँ, मकालु हिमाल आरोहणका लागि अनुमति लिने ५३ जना विदेशी नागरिकबाट १ करोड ५३ लाख ८ हजार ७ सय ३० रुपैयाँ राजस्व संकलन भएको छ ।

हिमाल आरोहणका लागि विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार डलर र नेपाली नागरिकले प्रतिव्यक्ति ७५ हजार रुपैयाँ शुल्क बुझाउनु पर्छ । विदेश नागरिकले हिउँद र बर्खाको समयमा भने अनुमति शुल्कवापत २ हजार ७ सय ५० डलर मात्रै बुझाए पुग्छ ।

विभागले दिएको तथ्यांक अनुसार कुल ८ सय २० जना आरोहीमध्ये २३ जना नेपाली छन् । नेपाली नागरिकहरुले सगरमाथा आरोहरणका लागि १३ जना, ग्यालजेन आरोहणका लागि ६ जनाले अनुमति लिएका छन् ।

त्यस्तै, धौलागिरी र कञ्चनजंगा आरोहणका लागि २–२ जनाले अनुमति लिएका छन् ।
सरकारले हालसम्म ४ सय १४ वटा हिमाल आरोहणका लागि अनुमति दिइएको छ । एक वर्षमा २ सिजनमा मात्रै हिमाल आरोहणका लागि खुला गरिन्छ ।


क्लिकमान्डु