चण्डीले चाहेका भए ५ वर्षअघि नै बैंकको कालोसूचीमुक्त हुन्थे, यस्तो छ नालीबेली



काठमाडौं । तपाईंसँग बैंकबाट लिइएको ऋण नतिर्ने हिम्मत छ ? पक्कै पनि छैन । किस्ता तिर्न २/४ दिन ढिलो भयो भने बैंकका कर्मचारीले फोन गरेर हैरान पार्छन् ।

खराब ऋणीको सूचीमा राख्ने धम्की दिन्छन् । त्यति गर्दा पनि तिरेन भने ऋण लिँदा राखेको धितो लिालम गरेर असूलीको प्रक्रियामा लैजान्छन् ।

बैंकबाट ऋण लिएपछि तिर्नित भन्दा सुख पाइँदैन । बैंकले ३ पुस्ताको विवरण राखेर सूचना निकालेर बाबुबाजेको समेत बेइज्जत गर्छन् । बैंकलाई ऋण असूली गर्न कानूनले यो अधिकार दिएको छ । त्यसैले बैंकबाट ऋण लिनुअघि तिर्न सक्छु कि सक्दिन भनेर ५०औं पटक सोच्नुपर्छ ।

ऋण तिर्न दवाव आएपछि उन्मुक्ति गराउन चण्डीराज ढकाल महासंघलाई प्रयोग गर्दै

तर, यही समाजमा एउटा यस्तो व्यक्ति छन्, बैंकबाट लिएरको ऋण नतिरी खुलेआम बैंकको विरोध गर्दै हिँड्छन् । ती व्यक्ति हुन् नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल ।

अब प्रश्न उठ्छ तपाईहामीलाई नछाड्ने बैंकले चण्डीराजलाई किन छाड्यो त ? सबैलाई बराबर कानून लाग्नुपर्ने होइन र ?

हो । तपाईंहामीले यसरी ऋण नतिरेको भए यतिखेर बैंकिङ कसूरमा जेलभित्र हुने थियौं ।

तर शक्तिको आडमा वर्षौंदेखि चण्डीराजले कानूनलाई लत्याउन सफल भएका छन् ।

नेपाला उद्योग वाणिज्य महासंघ भनेको सरकारपछिको शक्तिशाली सञ्जाल भएको संस्था हो । ढकाल त्यही महासंघका पूर्वअध्यक्ष हुन् । यो उनको एउटा शक्ति हो ।

ढकालको दोस्रो शक्ति भनेको उनका आफन्तहरु राज्यको उच्च ओहोदामा थिए ।

यी दुई कारणले उनी बैंकिङ कसूरमा जेल जानबाट जोगिँदै आएका छन् ।

कुनै बेलाका भेट्रान व्यापारी थिए ढकाल । त्यसैले बैंकले ऋण नपत्याउने कुरै भएन ।

माओवादी द्धन्द्ध भयो । मुलुकमा औद्योगिक वातावरण बनेन । जसले अरु उद्योगीलाई जस्तै चण्डीराजलाई पनि समस्या भयो ।

तर, अरु उद्योगीहरु बैंकको ऋण तिरे । चण्डीराजले उद्योग राखेको जग्गा बेचिसकेका छन् । जग्गा बेच्दा राम्रै पैसा पाए पनि बैंकको ऋण नतिरि बसे ।

पटक पटक गरेर पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकबाट ढकालले ३० करोड रुपैयाँ ऋण लिएका थिए । ढकालले सञ्चालन गरेको
‘मोमेन्टो एपेरल्स’ले लिएको ऋण नतिरेको १५ वर्षभन्दा बढी भइक्यो । मोमेन्टो एपेरिएल्स प्रालि सन् २०१२ बाट बन्द भयो ।

राष्ट्रिय वाणिज्य बैंकका अनुसार अहिले सावाँ, ब्याज र हर्जना गरी ढकालले राष्ट्रिय वाणिज्य बैंकलाई झन्डै डेढ अर्ब रुपैयाँ तिनुपर्ने देखिएकोछ ।

बैंकले ऋण तिर्नका लागि चण्डीलाई पटक पटक ताकेता नगरेको पनि होइन । तर, उनी मन्त्री, प्रधानमन्त्री, शक्तिशाली नेता, गभर्नर, सचिव, प्रहरी प्रशासन लगायतलाई भनसुन गर्न लगाएर अहिलेसम्म ऋण नतिरी बसेका छन् ।

‘चण्डीले चाहेका भए ५ वर्षअघि नै ५० करोड तिरेर बैंकको ऋण र कालोसूचीबाट मुक्त हुन सक्थे,’ महासंघका एक अधिकरीले भने, ‘उनको नियत नै ऋण नतिर्ने देखियो । महासंघले दबाब दिएर मिनाहा नै गराउनुपर्नेमा चण्डीले दबाब दिइरहन्थे ।’

उद्योग वाणिज्य महासंघका बहालवाला अध्यक्ष भएका कारण त्यो बेला वाणिज्य बैंकले कानूनी प्रक्रिया अघि बढाउन सकेन । आफ्नो कार्यकाल सकिएपछि पनि चण्डीराज सँधैजसो महासंघको छायाँ अध्यक्ष बनिरहे । जसकारण बैंकले चण्डीराजको कर्जा असूलीको प्रक्रिया अघि बढायो कि उद्योग वाणिज्य महासंघको टोली नै प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर लगायतकहाँ पुगेर दबाब दिन्थे । दिइरहेका छन् । महासंघको संस्थागत दबाब सामू सरकारको केही चलेन । र, ऋण असूली प्रक्रिया अघि बढेन ।

महासंघको शक्तिका कारण बैंकले ऋण असूलीको कानूनी प्रक्रिया अघि नबढाएपछि ढकालको मनोवल बढ्यो । र, उनी सँधै महासंघको शक्तिमा बसिरहन खोजे । खोजिरहेका छन् ।

५ वर्षअघि चण्डीकै समर्थनमा सुरज बैद्य महासंघको अध्यक्षमा चुनिए । त्यो बेला पनि बैंकले चण्डीलाई ऋण तिर्न तीब्र दबाब दिइरहेको थियो ।

सुरज बैद्य बैंकसँग नेगोसेसन गरेर चण्डीलाई ऋणमुक्त गराउन चाहन्थे । केही व्यवसायीहरु मिलेर ८÷१० करोड रुपैयाँ उठाएर भएपनि चण्डीलाई ऋणमुक्त गराउन लागि परे उनी

चण्डीराज बैंकसँग नेगोसेसन गर्न गए । त्यो बेला उनले तिर्नुपर्ने करिब अर्ब पुगिसकेको थियो । लामो छलफ पछि ५५ करोड रुपैयाँ तिर्ने भए बैंकले लिलामी प्रक्रिया अघि नबढाउने नेगोसेसन भयो ।

तर, उनले आफूसँग १०/१५ करोड रुपैयाँ मात्रै भएको भन्दै त्यत्रो पैसा तिर्न नसक्ने बताए ।

त्यसपछि महासंघको नेतृत्वले बैंक र अर्थ मन्त्रालयसँग चण्डीको ऋण असूलीको विषयमा छलफल गर्यो । महासंघ नेतृत्वले दबाब दिएपछि बैंकले ५० करोड तिरे पुग्छ भन्यो ।

चण्डीले केही दिनको समय मागे ।

तर, हप्तादिन पछि आएर ५० करोड पनि बढी भयो ४० करोड पनि तिर्न सक्दिन भन्ने जवाफ दिए ।

त्यसपछि चण्डीलाई ऋणमुक्त बनाउन लागेका सुरज बैद्य, भाष्करराज कर्णिकारहरु जिल्ल परे । र, उनीहरुले यो विषयमा लबिङ गर्न छाडिदिए ।

जब सुरज बैद्यले आफ्नो ऋण नतिर्ने विषयमा संस्थागत लबिङ गर्न छाडे । तब सुरजसँग चण्डी रिसले चुर भयो ।

सुरज र चण्डीको झगडा सतहसम्मै छताछुल्ल भयो । कारण थियो त्यही ऋण ।

‘चण्डीले चाहेका भए ५ वर्षअघि नै ५० करोड तिरेर बैंकको ऋण र कालोसूचीबाट मुक्त हुन सक्थे,’ महासंघका एक अधिकरीले भने, ‘उनको नियत नै ऋण नतिर्ने देखियो । महासंघले दबाब दिएर मिनाहा नै गराउनुपर्नेमा चण्डीले दबाब दिइरहन्थे ।’

ऋण नतिर्नका लागि बन्द भएको आफ्नो उद्योगलाई रुग्ण उद्योगमा राख्न सरकारी अधिकारीहरुलाई दबाब दिए । महासंघ नेतृत्वले पनि तीब्र लबिङ गर्यो ।

चण्डीजस्तै व्यापारीहरुले ऋण नतिरेपछि पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक कुनैबेला धरासायी भएको थियो । सरकारले विश्व बैंकबाट ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गर्नु परेको थियो ।

अहिले फेरि चण्डीलाई ऋण तिर्नका लागि तीब्र दबाब आएको छ ।

प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडाले समेत ऋण नतिरे कानूनी प्रक्रियाबाट असूल गर्ने चेतावनी दिइसकेका छन् ।

प्रधानमन्त्री र अर्थमन्त्रीले अब बचाउन नसक्ने बताएपछि चण्डीले बैंकसँग नेगोसेसन गरिरहेका छन् । नेगोसेसनमा उद्योग वाणिज्य महासंघका अहिलेका केही पदाधिकारी पनि लागेका छन् ।

असारसम्ममा ऋण चुक्ता गर्नेगरी नेगोसेसन भइरहेको बैंक स्रोतले बतायो । स्रोतका अनुसार अहिले पनि ५० करोडमै सल्ट्याउने गरी नेगोसेसन भइरहेको छ । तर, अन्तिम चरणमा भने पुगिसकेको छैन ।

‘अब पनि ऋण चुक्ता भएन भने हामी कानूनी प्रक्रियामा जान्छौं,’ स्रोतले भन्यो ।

सँधै महासंघको शक्तिमा, बैंक विरुद्ध आन्दोलन

२०६३ सालमा नेपाल उद्योग वाणिज्य महासंघले बन्दको आयोजना गर्यो । त्यो बेला महासंघको अध्यक्ष थिए चण्डिराज । देशभरका व्यवसायीले महासंघको आह्वानमा आफ्नो व्यवसाय बन्द गरे ।

कारण थियो ऋण नतिर्ने ठूला ऋणीलाई राष्ट्र बैंकले गर्न थालेको कारवाही । किनभने महासंघ अध्यक्ष ढकाल आफैं बैंकको ऋण नतिर्ने व्यवसायीमा थिए ।

२०६४ सालमा महासंघको नयाँ नेतृत्व चयन हुनुपर्ने थियो ।

महासंघको विगतको परम्परा अनुसार अध्यक्ष बन्ने पालो दिवाकर गोल्छाको थियो । त्यो बेला विधान अनुसार प्रथम उपाध्यक्ष अध्यक्ष बन्ने चलन थियो । ढकालले महासंघको अध्यक्षमा पुनः दोहरिन खोजे ।

अध्यक्षको प्रतिस्पर्धाबाट दिवाकर गोल्छा बाहिरिए भने द्धितिय उपाध्यक्ष रहेका कुशकुमार जोशी अध्यक्षको प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा अध्यक्षमा जोशीले ढकालाई हराइदिए ।

ढकाल अध्यक्षमा दोहरिन चाहनुको कारण थियो बैंकको ऋण नतिर्नु । त्यो बेला ढकाललाई राजस्व अनुसन्धान विभागले समेत छानबिन गरेको थियो । त्यो अनुसन्धानलाई निस्तेज पार्न ढकाल फेरि महासंघको अध्यक्ष बन्न चाहन्थे ।

जसको कुनै उद्योग नै छैन । जो उद्योग गर्नबाट पूर्ण असफल भइसकेको छ । तर त्यही व्यक्तिको उद्योगी व्यवसायीहरुको संस्थाको नेताहरुको पनि नेता बन्ने चरम महत्वकांक्षाले महासंघको शाख गिराइरहेको छ ।

२०७५ सालमा पुनः उद्योग वाणिज्य महासंघ र बैंकरबीचको विवाद भयो । यसको सुरुवात बिराटनगरबाट भएपनि यसमा पर्दा पछाडिका खेलाडी हुन् चण्डिराज ।

मोरङ व्यापार संघ र उद्योग संघले बैंकले कर्जाको ब्याजदर नबढाएको भन्दै गरेको आन्दोलन सडक हुँदै प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्यो । व्यवसायीहरुले खुल्ला बजार अर्थतन्त्र विपरित सरकारले नै निक्षेप र कर्जाको ब्याजदर तोक्नुपर्ने माग राखे ।

महासंघमा यो पटक ब्याजदर आन्दोलनको पछाडि महासंघको राजनीतिले थियो । २०६४ सालमा अध्यक्षमा दोहरिन खोज्दा असफल भएका चण्डीराजलाई त्यसको असर कस्तो सँग पर्यो राम्रोसँग थाह छ । त्यसैले चण्डी सँधै महासंघको नेतृत्व आफ्नो तरिकाले चलाउन चाहन्छन् ।

२०६४ सालमा चुनाव हारेपछि व्यवसायिक रुपमा चण्डीका दुःखका दिन सुरु समेत भए । बैंकले ऋण नतिरेको भन्दै कर्जा सूचना केन्द्रमा कालो सूचिमा राख्यो । धितो राखेको घर लिलाम भयो । २०६४ सालको निर्वाचनमा आफु हारे पनि पदाधिकारीमा चण्डीकै टिमले जितेको थियो ।

महासंघको संरचनामा भएको भोट भारको आधारमा जिल्ला नगरसँग ५० प्रतिशत मतभार छ । यो नै चण्डीको बार्गेनिङ गर्ने थलो हो ।

२०६४ सालमा चुनाव हारे पनि महासंघको राजनीतिमा चण्डी हाबी छन् । चण्डीले त्यसपछि जसलाई समर्थन गरेका छन् । उसले चुनाव जितेको रेकर्ड छ । २०६७ सालको निर्वाचनमा चण्डीले सुरज वैद्यले समर्थन गरे । जिताउन हिँडे । तत्कालिन अध्यक्ष कुशकुमार जोशीले समर्थन गरेका आजाद श्रेष्ठले निर्वाचन हारे ।

त्यसपछि चण्डीले प्रदिपजंग पाण्डेलाई समर्थन गरे । तत्कालिन अध्यक्ष वैद्यले समर्थन गरेका भाष्करराज राजकर्णिकारले चुनाव हारे । पाण्डेले चुनाव जितेपछि उनको भष्ट्रचारको मुद्दा उठ्यो । एउटा कर्पोरेट गेमको शिकार भएका पाण्डेले एकवर्ष मात्र अध्यक्ष बन्न पाए ।

त्यसपछि तत्कालिन बरिष्ट उपाध्यक्ष पशुपति मुरारका महासंघको अध्यक्ष बने भने बरिष्ठ उपाध्यक्ष भवानी राणा ।

यसबीचमा बरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने गरेर महासंघको विधान संसोधन भयो । २०७३ सालमा भएको महासंघको अधिवेशनमा बरिष्ठ उपाध्यक्षका लागि शेखर गोल्छा र किशोर प्रधानबीच प्रतिस्पर्धा भयो । चण्डीको समर्थन गोल्छालाई थियो ।

त्यसपछि महासंघको जिल्ला नगर उपाध्यक्ष रहेका प्रमोद प्रधान स्थानीय चुनाव लड्न गएपछि उपाध्यक्ष पद खाली भयो । चण्डीले त्यसमा प्रधानलाई समर्थन गरेर ल्याए । त्यसपछि महासंघमा पुनः विधान संसोधनको कुरा उठ्यो ।

विशेष साधारणसभाबाट विधान संसोधन समितिका संयोजक नै चण्डी बनाइए । अबको एक महिनाभित्रमा महासंघको साधारणसभा हुँदैछ । यसमा चण्डीले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान हटाउन खोजेका छन् ।

आगामी चैतमा हुने महासंघको अधिवेशनबाट आफूले भनेको मान्छे अध्यक्ष बनाउन पाइयो भने आफू छायाँ अध्यक्ष हुने र यस्तै बार्गेनिङ गर्न पाइने सपना सपना देखेर चण्डीराज महासंघको राजनीति भित्र सक्रिय बनिरहेका छन् ।


पुष्प दुलाल