सिएमसी भागेको दुई महिना पुग्यो, किन रोकियो मेलम्चीको काम ?



काठमाडौं । इटालियन कम्पनी सिएमसीसँगको ठेक्का रद्द गरेको पनि दुई महिना पूरा भएको छ ।

तर सरकारले मेलम्ची खानेपानी आयोजनाको काम कुन रुपमा कसरी अगाडि बढाउने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन ।

पछिल्लो ४ महिनादेखि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प प्राय रहेको छ ।

आयोजनामा नयाँ ठेकेदार छनोट गरेर काम अगाडि बढाउने भन्ने बारेमा कुनै निर्णय गर्न नसक्दा आयोजनाको भविस्य अन्यौलमा फसेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो आयोजनालाई अगाडि बढाउने तर्फ सरकारले कुने पनि प्रयास र सार्थक पहल गर्न सकेको छैन । खानेपानी मन्त्रालय आफैमा अन्यौलमा फसेको छ ।

कर्मचारी कुनै पनि हालतमा पूरानो कम्पनी सिएमसी ल्याउन हुन्न पक्षमा देखिएका छन् भने मन्त्री बिना मगर सकेसम्म पूरानै कम्पनीलाई फिर्ता ल्याएर भएपनि काम पूरा गर्नुपर्ने पक्षमा लागेकी छिन् ।

कर्मचारी र मन्त्रीका बीचमा सहमति हुन नसक्दा काठमाडौँ बासीका लागि पानी ल्याउने भनिएको आयोजनामा अन्यौलको भूमरीमा फसेको छ । कुने पनि निर्णय हुन नसक्दा आयोजनाले गति पाउन सकेको छैन । तर कारण भने मन्त्रालयका कुनै पनि अधिकारीले यथेष्ट दिन सकेको छैनन् ।

आयोजनाको सुरुङ खन्ने काम २०७४ चैत ३० गते सकिएको थियो । सुरुङ निर्मा०ा सम्पन्न हुनुलाई नै आयोजना सकिएको भनेर ठूलै प्रचार समेत भएको थियो । तर त्यसपछिको काम भने प्रभावकारी रुपमा अगाडि बढ्न सकेन ।

एक अर्कालाई दोष लगाएर पन्छने प्रवृत्ति मात्रै हावी भएको छ ।

विगतमा राम्रो सचिव भन्दै काम गर्न सजिलो हुने भनेर मन्त्री मगरले गजेन्द्र ठाकुरलाई मन्त्रालयमा ल्याइन । अन्नततः मन्त्री र सचिवकोबीचमा विवाद देखियो ।

विगतमा तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले काबिल सचिव भन्दै ल्याएकी राजेन्द्र किशोर क्षेत्रीपछि मन्त्रीको विरोधी देखिएजस्तै यसपटक पनि खानेपानी मन्त्री मगर र सचिव ठाकुरबीच उस्तै अवस्था हुन पुग्यो । जसका कारण आयोजना कोमामा पुगेको छ ।

सुरुङ निर्माण सकिएपछि मेलम्चीको पानी दशैंअगावै काठमाडौं ल्याउने भन्दै तिथि घोषणा गर्न हानथाप चलेको थियो । तर दशैंअगावै पानी आएन । किनकी त्यो आउने अवस्था थिएन । काम नसकिदै पानी आउँछ भनेर घोषणा गर्नु नै गलत थियो । जुन गलत काम थियो, सोही गरियो ।

ठेकेदार कम्पनी सीएमसी काम छाडेर हिंडेपछि मेलम्ची खानेपानी विकास समितिले माघ २४ मा सीएमसीसँगको ठेक्का सम्झौता रद्द गर्यो । जसक कारण हाल आयोजना अहिले अलपत्र अवस्थामा रहेको छ ।

बाँकी रहेको काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा समिति र खानेपानी मन्त्रालय दुवैले कुनै निर्णय गर्न सकेका छैनन् । मन्त्रालय र समिति दुवै यस विषयमा बोल्नै चाहँदैनन् । उनीहरु तै चुप मै चुपको अवस्थामा रहेका छन् । जसका कारण मेलम्चीको पानी काठमाडौं कहिले आउँछ भन्ने अनिश्चित भएको छ ।

बाँकी काम एउटै प्याकेजमा वा टुक्राएर नयाँ ठेकेदारमार्फत गराउने पक्षमा रहेपनि समितिले निर्णय गर्न नसक्दा काठमाडौँबासीको सपना ठानिएको आयोजना समस्यामा परेको छ ।

ठेक्का लगाउने र तोड्ने अधिकार समितिलाई छ जसका अध्यक्ष मन्त्रालयका सचिव हुन् । नियमित प्रक्रियाबाट ठेक्का सम्झौता गरेर काम गर्दा आयोजना सम्पन्न हुन अझै २ वर्ष वर्ष लाग्ने देखिएको छ ।

तर आयोजनाको बाँकी काम फास्ट ट्रयाक वा नियमित प्रक्रिया, कसरी गराउने भन्ने विषयमा समिति त अनिर्णित छ नै, मन्त्रालयले पनि स्पष्ट निर्देशन दिन नसक्दा आयोजना रुग्ण मात्रै बनेको छैन । स्थानीय सहायक ठेकेदारले समेत आफूहरुको रकम भुक्तानी नगरीकन आयोजनाको काम अगाडि बढाउन नदिने भन्दै अत्तो थापेका छन् ।

सरकारी निकाय अनिर्णित हुँदा आयोजना अनिश्चित भएको मात्र होइन, एसियाली विकास बैंकको ऋण रहेको आयोजनाले राज्यकोषमा आर्थिक भार पनि बोकीरहनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रिय गौरवको यो आयोजनाको बाँकी काम सम्पन्न गर्ने विषयमा प्रधानमन्त्रीले नै पहलकदमी लिन जरुरी देखिएको आवाज पनि उठेको छ ।

एउटा समूहले त आयोजनाको बाँकी काम पूरा गराउन नेपाली सेनालाइृ दिनुपर्ने तर्क समेत गरेका छन् । यस्तो अवस्थामा आयोजनाको काम कसरी अगाडि बढ्ला भन्ने बारेमा निर्णय हुन अझै केही समय कुर्नुको विकल्प देखिएको छैन ।


पुष्प दुलाल