प्रधानमन्त्रीले जलविद्युत् कम्पनीको सेयर किनेपछि लगानीकर्ताको माग :जलविद्युतको नियामक चाहियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली थ्री बि जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) को १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिएका छन् ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओलीका साथै प्रधानमन्त्री पत्नी राधिका शाक्यले १० हजार, उर्जामन्त्री बर्षमान पुनले १ हजार, पूर्व सभामुख ओनसरी घर्ती मगरले २ हजार कित्ताको लागि आवेदन दिएकी छन् ।
प्रधानमन्त्री ओलीले आम सर्वसाधरणलाई यस्ता आयोजनामा लगानी गर्न प्रोत्साहित गर्न आफूले पहिलो सेयर खरिदका लागि आवेदन दिएको बताएका छन् ।

प्रधानमन्त्री ओली सेयर बजारको नयाँ सदस्य बनेका छन् । ओली सेयर बजारको सदस्य बन्दै गर्दा त्यसको सुरुवात जलविद्युत क्षेत्रबाट गरेका छन् । तर महत्वपूर्ण विषय यो छ की, जलविद्युत क्षेत्रमा अहिलेसम्म पनि नियामक निकाय छैन । लामो समयदेखि लगानीकर्ताहरुले जलविद्युत क्षेत्रमा नियामक निकाय चाहियो भनेर माग गर्दै आएका छन् ।

लगानीकर्ताको मागलाई कुनैपनि निकायले नसुनेको इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । पुन उर्जामन्त्री भएलगत्तै लगानीकर्ताहरुले यो क्षेत्रमा नियामक निकाय ल्याउन माग गरेपनि त्यो माग पुरा नभएको उनको भनाई छ । रौनियारले भने, ‘यो क्षेत्रमा अहिलेसम्म नियामक निकाय छैन, नियामक निकाय नहुँदा जलविद्युत क्षेत्रमा निकै चलखेल भइरहेको छ । हामीले यस अघि पटक–पटक भन्दा पनि नबनेको नियामक निकाय अब बन्लाकी भन्ने अपेक्षा बढेको छ ।’

रौनियारले थपे, ‘प्रधानमन्त्री ओली पुँजी बजारको सदस्य बन्नुभएको छ, उहाँको आवगमनले बजारमा केही सुधार होलाकी भन्ने मनोवैज्ञानीक भावना छ, त्यो नभएको खण्डमा जलविद्यु क्षेत्रमा नियामक निकाय आउला भन्ने आशा छ ।
ओली सेयर बजारको नयाँ सदस्य भएकाले त्यहाँ के कस्या समस्या छन,ती समस्या समाधान होला की भन्ने शाखा रहेको उनको भनाई छ ।

उनले भने, उहाँ हाम्रो परिवारको सदस्य बन्नुभएको छ, उहाँले अब आफ्नो परिवारमा के कस्तो समस्या छ भन्ने बुझेर त्यो समस्या समाधान गर्न उहाँले पहल गर्नुहोला की भन्ने अपेक्षा छ, अहिले जलविद्युत क्षेत्रमा नियामक निकाय छैन, लगानीकर्ताको यो अपेक्षा अब चाँडै पुरा होला भन्ने आशा छ ।’

बजारमा अहिले लगानीकर्ताले १० खर्ब रुपैयाँ भन्दा बढी नोक्सानी भोगिरहेका छन् । एक जनाले आत्महत्या नै गरिसकेका छन्, अध्यक्ष रौनियारले भने ‘बजार घटना बसै भन्दाबढी विद्यार्थी, गृहणीलाई असर परेको छ, उनीहरु मनोवैज्ञानीक रुपमा निकै बिरामी भएका छन्, निर्वाचनको समयमा उहाँले ३ पटक सेयर बजारको विषयमा प्रतिकृया दिनुभएको थियो, अहिले उहाँ औपचारीक रुपमा बजारमा प्रवेश गर्नुभएको छ, अब लगानीकर्तामा आशा बढेको छ ।’

रौनियारका अनुसार अहिले नै ९,१० वटा कम्पनीको सेयर मूल्य एक सय रुपैयाँ भन्दा कम रहेको छ, आफैले लगानी गरेको बजारको विकासका लागि प्रधानमन्त्री, उर्जामन्त्रीले काम गर्नुहोला की भन्ने अपेक्षा छ ।

यता सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेल पनि जलविद्युत क्षेत्रमा नियामक निकायको तत्काल आवश्यक रहेको बताए । ‘जलविद्युत क्षेत्र, रियल सेक्टरमा नियामक निकाय छैन’ उनले भने ‘हामीले पटक–पटक उर्जामन्त्री लगायत नियामक निकायसँग छलफल गर्यौ,तर पनि नियामक बनेको छैन, यो भनेको राज्यको निरीहपना हो ।’

अहिले प्रधानमान्त्री, उर्जामन्त्रीले सेयर बजारमा लगानीगर्दा जति चर्चा पाएका छन्, त्यो सँगै नियामक निकायले ल्याएको भए उहाँहरुले स्याबासी पाउने उनको भनाई छ । तत्काल नियामक निकाय ल्याउन पनि उनले सरकारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री, मन्त्रीले बजारमा लगानी गरेर सेयर बजारमा सुधार आउने चर्चा भएपनि बजारको विकासका लागि सरकारले ल्याएको ५८ बुँदा कार्यान्वयन गरेको खण्डमा सबै समस्या समाधान हुने उनको भनाई छ ।

५८ बुँदा कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंक, धितोपत्र, नेप्से लगायतका निकायले काम गर्दै गरिरहेपनि अर्थ मन्त्रालयबाट हुने काम समयमा नै हुन नसकेको फुल्लेलको तर्क छ । ५८ बुँदा कार्यान्वयनका लागि अर्थ मन्त्रालयलाई बढी ध्यान दिने बाताबरण अहिलेको आवश्यकता भएको उनको धारणा छ ।


क्लिकमान्डु