नेप्से अधिकारी भन्छनः अनलाइनको समस्या निम्त्यायौँ, अब बाहिर निस्कन कठिन



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से आफैले ल्याएको अनलाइन प्रणालीका कारण निकै तनावमा परेको छ । अनलाइन प्रणालीमा विभिन्न समयमा नयाँ–नयाँ समस्या आउन थालेपछि यति बेला नेप्सेका अधिकारीहरू निकै तनावमा परेका छन् ।

नेप्सेका एक अधिकारीले भने ‘अनलाइनमा समय–समयमा नसोचेको समस्या देखिने गरेको छ, त्यो समस्याले गर्दा अहिले लगानीकर्ता भन्दा बढी हामीलाई तनाव भएको छ, यो तनाव हामी आफैले निम्त्यायौँ, अब बाहिर निस्कन निकै गारो छ ।’

ती अधिकारीका अनुसार नेप्सेले कारोबार प्रणाली मात्र हेर्नु पर्नेमा सिस्टममा ब्रोकरहरु जोडेको, क्लियरीङ हाउस जोडिएको जस्ता कारण समस्या भएको हो ।
अन्य देशका सफ्टवेयरले पेमेन्ट गेटवेको काम गर्दैन, बैङ्कमा आबद्व हुने, क्लियरीङ हाउसमा आबद्व हुने चलन नभएपनि नेप्सेले सबैलाई आबद्वता गराउँदा समस्या भएको हो । यस्तै ब्रोकर आफैले बनाउनु पर्ने टिएमएस सिस्टम पनि नेप्सेले नै बनाएका कारण झन् समस्या देखिएको ती अधिकारीको भनाई छ ।

उनले भने ‘नेप्सेको कारोबार प्रणाली अनुसार सबै ब्रोकर कम्पनीहरूको आ–आफ्नै टिएमएस हुनुपर्ने हो, त्यो हामीले नै बनायौँ त्यसले भार बढायो, जसको असर हामीलाई भएको छ ।’ ब्रोकरहरु पनि एउटा सिस्टम बनाउन दुई, तीन करोड लाग्ने भएपछि जति नै समस्या आएपनि नेप्सेले दिएको टिएमएस चलाएर बसेका छन् ।

ती अधिकारी भन्छन्,‘ब्रोकर आफैले राखेपछि उनीहरूले त्यसका लागि छुट्टै प्राविधिक कर्मचारी राख्नुपर्छ, कुनै समस्या आयो भने समाधान आफैले गर्नुपर्छ, अहिले त कम्प्युटरको तार बिग्रेपनि नेप्सेको सिस्टम बिग्रिएर काम भएन भनेर आरोप लगाउन पाइन्छ, किन आफू खर्च गर्छन् र ?’

नेप्से आफैले ब्रोकरको तनाव लिएपछि नेप्सेको सिस्टमबाट सबै ब्रोकरकोमा डाटा जाने, त्यो डाटा पुनः नेप्सेको सिस्टम हुँदै सबै ब्रोकरकोमा जाँदा कुनै समयमा मिस म्याचिङ हुँदा समस्या आउने गरेको छ । नेप्सेका अधिकारीका अनुसार सफ्टवेयर ब्रोकर आफैले राख्ने हो भने यो तनाव हामीलाई हुँदैन, अहिले हामीले अनावश्यक तनाव बोकी राखेका छौँ ।’ अहिले जति पनि समस्या आएको छ त्यो सबै ब्रोकरकोमा आएको हो ।

अहिले ५० वटा ब्रोकरको कारणले गर्दा नेप्सेको सिस्टम समस्या आएको हो । ब्रोकरले बनाएको भए त्यो समस्या आउने नै थिएन । ‘उनीहरूले बनाएपछि केही समस्या भयो भने यो समस्या भयो बनाऊ भन्न पाइने थियो । हामी आफैले बनाइदिएपछि सबै हाम्रो टाउकोमा आएको छ’ ती अधिकारीले भने ।

यो भन्दा अघिल्लो नेतृत्वले सफ्टवेयर ब्रोकरलाई बनाऊ भन्दा उनीहरूले समय लगाउने, सबैले भनेको समयमा सिस्टम तयार नपार्ने भन्दै आफै बनाउने र त्यसबापत केही चार्ज लगाउने भनेका थिए ।

यता सफ्टवेयर निर्माता कम्पनी वाईको कम्पनीले सम्झौता बमोजिम काम गर्न नसकेको हो की भन्ने पनि नेप्सेका अधिकारीहरूको तर्क छ । सफ्टवेयरमा समस्या देखिएपछि नेप्सेले बाइकोलाई गर्नुपर्ने भुक्तानी समेत दिएको छैन ।

वाईकोसँग १९ करोड ८१ लाख रुपैयाँमा बनाउने सम्झौता भएको थियो । सम्झौता अनुसार काम गर्न नसकेपछि अहिलेसम्म सिस्टम नेप्सेलाई दिन सकेको छैन । यस्तै यूएटीको रिपोर्ट समेत आएको छैन । नेप्सेका अनुसार समय–समयमा विभिन्न समस्या देखिएपछि रिपोर्ट आउन समय लागेको हो ।

सिस्टम पूर्ण रूपमा नआएकोले कम्पनी नै पूर्ण क्षमताको छैन की भन्नेमा नेप्से पुगेको छ । यूएटिको रिपोर्ट पनि नआएपछि नेप्सेले अझै भुक्तानी गरेको छैन । हार्डवेयरका लागि ९ करोड ४ लाख रुपैयाँ र सफ्टवेयरका लागि १० करोड ७६ लाख रुपैयाँ रहेको छ । अहिलेसम्म नेप्सेले लगभग १० करोड रुपैयाँ मात्र भुक्तानी गरेको छ । बाँकी सिस्टम लिएपछि मात्र दिने तयारीमा नेप्से रहेको छ ।

सफ्टवेयरमा समस्या देखिएपछि केही ब्रोकर आफैले सफ्टवेयर राख्ने चासो दिएको बताइएको छ । उनीहरूले आफ्नै टिएमएस बनाएको खण्डमा आधा समस्या समाधान हुने नेप्सेको तर्क छ । अहिले कुनै समस्या आएको खण्डमा नेप्सेलाई दोष दिएर उम्किरहेको ब्रोकरहरु आफ्नो टिएमएस राख्ने हुन वा हैनन् भन्ने अन्यौलता रहेको छ ।


क्लिकमान्डु