सेयरमा प्यानः अर्थ मन्त्रालयतिर देखाउँदै बोर्ड अध्यक्षले भने-माथिको कुरा नमाने समस्या हुन्छ



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर खरिद गर्नेलाई अनिवार्य लागु हुने भनिएको स्थायी लेखा नम्बर (प्यान) बोर्डले नभइ अर्थ मन्त्रालयले लगाउन खोजेको बताए ।

प्यानको विषयमा मागपत्र राख्दै बोर्ड पुगेका सेयर लगानीकर्ताका संघसंस्थाका प्रतिनिधिहरुसँग अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

‘हामीले त चालु आर्थिक वर्षको बोर्डको नीति तथा कार्यक्रममा प्यानलाई प्रोत्साहन गर्दै लगाउने भनेर राखेका थियौं, अर्थ मन्त्रालयले बजेटमा नै अनीवार्य लागु गर्ने भनेर राखेको रहेछ’ अध्यक्ष कार्कीले भने ‘बजेटमा आएको हामीलाई थाहै थिएन, मन्त्रालयले आफ्नो कार्ययोजनामा रहेको जानकारी गराएपछि हामीले थाहा पायौं ।’

मन्त्रालयले ताकेता गरेपछि बोर्डले नेप्सेलाई निर्देशन दिएको उनले जानकारी दिए । बोर्डले प्रोत्साहनसहित प्यान लागु गर्ने भनेपनि बजेटमा नै आएपछि आफुले केही भन्ने नमिल्ने कार्कीले बताए ।

‘प्यान लगाउने कुरा अर्थ मन्त्रालयको हो, मन्त्रालयको कुरा नमान्दा हामीलाई नै समस्या पर्छ,’ कार्कीले भने ।


अध्यक्ष कार्कीले जागिर खाएपछि कतिपय काम गर्दा समस्या हुने भन्दै लगानीकर्तालाई आफ्नो ठाँउमा बसेर हेरिदिन आग्रह गरे ।

आफु पनि लगानीकर्ता भएको भए लगानीकर्ताको जस्तै कुरा गर्ने पनि उनले सुनाए ।

‘बोर्ड बैठकमा अर्थ मन्त्रालयको सहसचिव सहभागी हुनुहुन्छ, अर्थ मन्त्रालय बढी हाबी हुन्छ, सरकारले राखेको कार्यक्रम यसै भन्न सकिँदैन, नीति तथा कार्यक्रमले प्रोत्साहनसहित भन्दा भन्दै बजेटमा अनिवार्य गर्न नमिल्ने भएपनि उसको अधिकार क्षेत्र हुन्छ,’ उनले भने ।

अन्तिममा उनले लगानीकर्तालाई प्यानबारे नडराउन अनुरोध गर्दै पठाए ।

प्यानले बजारलाई आतंकित बनाउन नखोजेको भन्दै यस विषयमा छलफल गर्दैै जाने बताए । बोर्ड उद्देश्य लगानीकर्तालाई आतंकित बनाउनू नभएको उनको भनाई थियो ।

‘मन्त्रालयबाट चिठी आउनासाथ किन लगानकिर्तालाई जानकारी नगराएको ?’ भन्ने लगानीकर्ताको प्रश्नमा कार्कीले ‘बोर्ड त्यो अवस्थामा जानकारी गराउन नसक्ने अवस्थामा रहेको’ बताए ।

तर उनले जानकारी गराउन नसक्नुको कारण भने जानकारी गराउन चाहेनन् ।

कार्यक्रममा बोर्डका प्रवक्ता निरज गिरीले प्यान लागु गर्नका लागि तयारी आवश्यक रहेको बताए । आन्तरिक राजश्व कार्यालयले लागु गर्ने भएपनि बोर्ड, लगानीकर्ता, नेप्से, अर्थ मन्त्रालय, कर कार्यालयबीच छलफल आवश्यक रहेको बताए । उनले यो लागु हुने भएपनि एकै पटक नभएर चरणबद्ध रुपमा गर्नुपर्ने बताए ।

लगानीकर्ताले तयारी बिना वैशाख १ बाटै लागु गर्न नहुने, अहिलेको अवस्थामा लागु भएमा बजारमा असर पर्ने भन्दै यस विषयमा सोच्न आग्रह गरेका छन् ।

लगानकिर्ताहरुले बोर्डलाई किन्नेलाई मात्र किन लागु गर्ने, माग र आपुर्तीमा कस्तो असर पर्छ, साधारण सेयरमा चाँही लाग्ने हो हैन, प्यान लिए लगानीकर्ता र राज्यलाई के फाइदा हुँदा, लगानीकर्तालाई दायित्व थपिन्छ कि थपिँदैन ? जस्ता प्रश्न सोधेका थिए ।

त्यसैगरी, समयमा नै लगानीकर्तालाई किन जानकारी नगराएको, विकट जिल्लामा र विदेशमा हुनेले कसरी लिने, नाबालकको हकमा कसरी लागु गर्ने भन्ने लगानीकर्ताहरुको प्रश्न थियो ।

तर, बोर्डका अध्यक्ष कार्की र कार्यकारी निर्देशक गिरीले यी प्रश्नको जवाफ नै दिएनन् । उनीहरुले विज्ञप्ती निकालेर जानकारी दिने जवाफ दिएर लगानीर्कर्तालाई फर्काए ।


पुष्प दुलाल