कृषिमा गण्डकी प्रदेशको कामः ४ सय पालिकामा नै नमुना कृषि फर्म, ४० करोड लगानी




काठमाडौं । गण्डकी प्रदेशले ४ सय नमुना कृषि फर्म निर्माण गर्ने भएको छ । गण्डकी प्रदेश सरकारले ४० करोड बजेटमा नमुना कृषि फर्म निर्माण गर्न लागेको हो ।

गण्डकी प्रदेश भूमी व्यवस्थापन, कृषि तथा सहकारीमन्त्री लेख बहादुर थापा मगरका अनुसार ४ सय बढी नमुना कृषि फर्म निर्माण गरिन लागेको हो ।

प्रत्येक गाउपालिकामा एक नमुना कृषि फर्म निर्माण गर्ने लक्ष्यका साथ उक्त नमुना कृषि फर्म निर्माण गर्न लागिएको उनले बताए ।

‘हामी हरेक गाउपालिकामा एक एकवटा नमुना कृषि फर्म निर्माण गर्नेछौं, तरकारी, फलफूल, पशुपन्छी, मौरी पालन, कफिखेती, माछापालन लगायतका मुख्य उत्पादनमा जोड दिएर अघि बढ्ने छाँै,’ मन्त्री थापा मगरले भने ।

उनले ३ वर्षमा गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउने योजनाका साथ नमुना कृषि फर्म निर्माणको प्रक्रिया अघि बढिरहेको बताए ।

उनले यसका लागि साना व्यवसायी, व्यवसाय उन्मुख, व्यवसायी र उद्यमी गरी ४ खण्डमा कृषक विभाजन गरी निर्माण अघि बढाइने जानकारी दिए ।

उक्त योजनामा काम गर्न चाहने कृषकहरुले ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म अनुदान पाउने व्यवस्था गरिएको छ ।

साना किसानहरुलाई ५ लाख रुपैयाँ, व्यवसायी उन्मुख किसानलाई १० देखि १२ लाख रुपैयाँ, व्यवसायी किसानलाई २५ लाख रुपैयाँ र उद्यमी किसानलाई ५० लाख रुपैयाँ अनुदान दिइने उनले जानकारी दिए ।

‘हामी किसानहरुलाई यतिकै भनेको भरमा सुरुमै अनुदान दिदैनौँ, काम सुरु गरेपछि कस्तो काम गर्छन् त्यही अनुसार अनुदान दिने छाँै, सुरुमै पैसा दिदा कागजी किसानले मात्र पाउने सम्भावना हुने भएकोले वास्तविक किसानसम्म अनुदान पुराउन हामीले काम हेरेर मात्र अनुदान दिने निर्णय गरेका हौं,’ उनले भने ।

यस्तो अनुदानका लागि साना किसानले कम्तिमा पनि ५ रोपनी जग्गामा खेती गर्नु पर्ने छ भने अन्य व्यवसायी तथा उद्यमीहरुले करोडभन्दा माथिको लगानी गरेर नमुना कृषि फर्म सञ्चालन गर्न चाहे ५० लाख रुपैयाँ भन्दा बढी अनुदान दिइने बताए ।

उनले ३ वर्षमा गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउने र ५ वर्षमा दोब्बर उत्पादन गर्ने लक्ष्यका साथ प्रदेश सरकार लागेकोले नमुना कृषि फर्म निर्माणको फिल्डको काम यही माघ महिनादेखि सुरु हुन लागेको बताए ।

उनले यस आयोजना भित्र ४ सय गाउपालीमा मात्र नभई अन्य गाउँपालिका पनि थपिन सक्ने बताए ।


क्लिकमान्डु