सामाजिक सुरक्षा योजनाः जागिर छोड्दा कति आउँछ उपदान ? पेन्सन कति पाइने हो ?




काठमाडौं । सरकारले फागुन ११ गतेलाई सामाजिक सुरक्षा दिवस मनाउने भन्दै सोही दिन सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको छ । यो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै महत्व दिएका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमलाई प्रधानमन्त्री ओलीले नयाँ युगको सुरुवात पनि भनेका छन् । कार्यक्रम घोषणा गर्ने दिन सबै दैनिक पत्रिकाहरुमा ज्याकेड विज्ञापन छापिएको थियो भने सहरका विजुलीका पोलहरुमा प्रधानमन्त्री ओलीको फोटो सहित नयाँ युगको सुरुवात भएको सन्देश सहितका ब्यानर झुन्ड्याइएका थिए ।

यो कार्यक्रमलाई रोजगारदाता र श्रमिक दुबै पक्षले स्वागत गरेका छन् । त्यसैले कार्यक्रमको प्रचारशैलीको केही आलोचना भएपनि कार्यक्रमको सबै पक्षले स्वागत गरेका छन् ।

रोजगारदाताले अहिले पनि आफ्ना कामदारलाई संचयकोषबापत १० प्रतिशत र उपदान वापत ८ प्रतिशत रकम दिइरहेका थिए । यो कार्यक्रम लागू भएपनि उनीहरुले दिनुपर्ने २० प्रतिशत मात्रै हो । त्यसैले आफूहरु जम्मा २ प्रतिशत रकम थप दिन कुनै कन्जुस्याई गरेनन् ।

कामदारले यो कार्यक्रममा सहभागी हुन ११ प्रतिशत रकम योगदान गर्ने हो । आफ्नो आधारभूत तलबको ११ प्रतिशत कटाएर अहिले लिदा जीबनभर आइपर्ने सबैखाले आर्थिक दायित्वबाट बन्च सकिने अबस्था हुन्छ भने किन नगर्ने भन्दै श्रमिकले पनि यो कार्यक्रमको हृदयदेखि नै स्वागत गरे । त्यसैले यो कार्यक्रम सबैको लागि स्वागतयोग्य बन्यो ।

तर, अझै पनि यो कार्यक्रममा कसरी सहभागी हुने, यसमा सहभागी भएपनि के कस्ता सुविधा पाइन्छ भन्ने जस्ता शंका यथावतै छन् । यस्तै शंका कम गर्ने प्रयासका लागि हामीले कोषले बनाएको सामाजिक सुरक्षा योजना संचालन कार्यविधिमा उल्लेख भएका विषयलाई सरल भाषामा प्रस्तुत गरेर स्पष्ट पार्ने प्रयास गरेका छौं ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी योजना
यो योजना अन्तर्गत (क) औषधी उपचार तथा स्वास्थ्य सुरक्षा योजना र (ख) योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीलाई मातृत्व सुरक्षा योजनामा सहभागी हुन पाइन्छ ।

सामाजिक सुरक्षा कोषमा ६ महिना योगदान गर्ने योगदानकर्ताले औषधी उपचार तथा स्वास्थ्य सुविधा पाउने छन् । तर मातृत्व सुरक्षावापत योगदानकर्ता वा उसको श्रीमतीले पाउने सुविधाको लागि १८ महिनाको अवधिमा १२ महिना योगदान गरेको हुनै पर्छ । अर्थात कम्तिमा १ बर्ष कोषमा रकम जम्मा गर्ने वा उसको श्रीमतीले मात्रै मातृत्व सुरक्षा सुविधा पाउने छन् । र, कोषमा योगदान गरेको १ बर्ष वा सोभन्दा बढी भएपनि एउटा बच्चा जन्मिएको डेढ बर्ष नकटि अर्काे बच्चा जन्माउनेले यस्तो सुविधा पाउने छैनन् ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्र्तगत पाउने सुविधाहरु
यो योजना अन्र्तगत योगदानकर्ताले (क) चिकित्सकको परामर्श सेवा, (ख) अस्पताल भर्ना तथा शल्यक्रिया वापतको शुल्क, (ग) रोगको परीक्षण तथा उपचार वापतको खर्च, (घ) औषधिको बिल वमोजिमको खर्च, (ङ) योगदानकर्ता वा योगदानकर्ताको श्रीमतीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, शल्यक्रिया तथा तीन महिनासम्मको शिशुको उपचार वापतको खर्च, (च) अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवत जावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले विरामीको घरमै गई प्रदान गरेको परामर्श सेवा बापतको शुल्क कोषले दिनेछ ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा कति पाइन्छ पैसा ?
अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा वार्षिक रुपमा १ लाख रुपैयाँमा नबढ्ने गरी निजलाई प्रदान गर्ने सुविधाको रकम निज भर्ना भएको अस्पतालमा कोषले सिधै भुक्तानी दिनेछ ।

अस्पतालमा भर्ना नभएको तर उपचारका लागि अस्पतालमा आवत जावत गर्न सक्ने अवस्था नभई घरैमा बसी उपचार गराएकोमा चिकित्सक वा स्वास्थ्यकर्मीले विरामीको घरमै गई प्रदान गरेको परामर्श सेवा बापतको शुल्क भए योगदानकर्ता वा योगदानकर्ताको श्रीमती तथा नवजात शिशुको उपचार खर्च समेत उल्लेखित रकमको हदमा नवढ्ने गरी (बार्षिक १ लाख रुपैयाँसम्म) दावी गर्न सकिने छ ।

अस्पताल भर्ना भई उपचार गराउनुपर्ने नभए डाक्टरको प्रेस्क्रिप्सन अनुसार बार्षिक २५ हजार रुपैयाँसम्म कोषले दिनेछ । तर बार्षिक १ लाख रुपैयाँसम्मको वा बार्षिक २५ हजार रुपैयाँसम्मको सुविधा लिनको लागि सो रकमको २० प्रतिशत तपाइ आफैले खर्च गर्नुपर्नेछ । आफ्नो, श्रीमतीको वा नवजात शिशु जसको उपचार गर्नको लागि पैसा लिए पनि बर्षमा १ लाख रुपैयाँभन्दा बढी भने पाइने छैन ।

महिला योगदानकर्ता वा योगदानकर्ताको पत्नी प्रसूति भएको अवस्थामा प्रसूति स्याहारको लागि प्रतिशिशु एक महिनाको न्यूनतम पारिश्रमिक बराबरको रकम कोषबाट पाइन्छ । र, यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा समेत पाइनेछ । पति र पत्नी दुवै योगदानकर्ता भएको अवस्थामा भने कुनै एक जनाले मात्र यस्तो सुविधा दावी गर्नु पर्नेछ ।

विरामी भएर अस्पताल बस्दाको पनि पाइन्छ तलब
अहिले कुनै पनि ठाउँमा काम गर्ने कर्मचारीले बार्षिक १२ दिन विरामी विदा पाउँछन् । अर्थात बर्षमा एकै पटक वा पटक पटक गरी १२ दिनसम्म विरामी भएर काम गर्न जान नसकेपनि तपाइको तलब काटिदैन । तर, १२ दिनभन्दा बढी विरामी भएर अस्पताल वा घरमै आराम गर्नुपर्यो भने तपाइको अफिसले तपाइलाई तलब नदिन सक्छ ।

सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि यस्तो अबस्थामा पनि तलब पाइन्छ । विरामी भएका कारण उपचारको लागि बार्षिक १२ दिनभन्दा बढी अस्पताल वा घरमै बस्नु पर्ने अबस्था आयो भने कोषले तपाइको आधारभूत तलबको ६० प्रतिशत रकम तलब वापत दिनेछ । अर्थात तपाइको आधारभूत तलब मासिक २० हजार रुपैयाँ हो भने तपाइले मासिक १२ हजार रुपैयाँ कोषबाट पाउनु हुनेछ । तर, यसरी पाइने तलब बार्षिक १३ हप्ता (३ महिना) मात्रै पाइनेछ । विरामी भएर घरमै आराम गरेर बसेको भनेर त्यसै बस्नु भने हुदैन । डाक्टरको सिफारिस भएपछि मात्रै घरमा आराम गरेर बस्ने हो ।

महिला कर्मचारीले बच्चा जन्माएपछि ६० दिन प्रसूति विदा पाउने नियम अहिले नै छ । यो समयसम्म तपाइको अफिसले तपाइलाई घरमै बस्दा पनि तलब दिनै पर्छ । यो ६० दिनभन्दा बढी समय तपाइले घरमा बस्नु पर्ने भयो भने तपाइको अफिसले तलब दिदैन । त्यस्तो अबस्थामा कोषले आधारभूत तलबको ६० प्रतिशत रकम दिन्छ । तर, कोषले दिने यस्तो रकम बढीमा ३८ दिनको मात्रै हो । किनभने ‘प्रसूति बिदा वापत रकम प्राप्त गर्ने साठी दिनसमेत जोडी हुन आउने अन्ठानब्बे दिन भन्दा बढी हुने छैन’ भनेर कोष संचालन कार्यविधिमा उल्लेख गरिएको छ ।

यस्तो प्रसूति विदा तलब रकम माथि उल्लेख गरिएको अन्य प्रकारको विरामी पर्दा पाइने बार्षिक २५ हजार वा बार्षिक १ लाख रुपैयाँको सीमा भित्र समावेश हुदैन । बेग्लै पाइन्छ ।

यति मात्रै होइन विरामी विदा वा प्रसूति विदा पाउने अवस्थामा रोजगारदाताको व्यवसाय बन्द भएको वा रोजगारी अन्त्य भएको कारण विदा पाउने अवस्था नभएमा रोजगारदाताले प्रदान गर्नुपर्ने विदा अवधिको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम कोषले दिनेछ ।

सबै उपचारमा पाइदैन सुविधा
कोषबाट आर्थिक सहयोग प्राप्त गरेर उपचार गर्न पनि सबै प्रकारको उपचारमा पाइने होइन । जस्तो कि (क) दुर्घटना भई उपचारको लागि आवश्यक पर्ने अवस्थामा बाहेक प्लाष्टिक सर्जरी तथा दाँतको उपचार वापतको खर्च, (ख) बारियट्रिक सर्जरी (बोसो निकाल्ने) वापतको खर्च, (ग) देशव्यापी रुपमा महामारी पैmलिई कोषले खर्च धान्न नसक्ने भै योजना निलम्वन गरेको अवस्थामा भने उपचार खर्च पाइने छैन ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना
योगदानकर्तालाई यस योजना अन्र्तगत (१) दुर्घटना वापतको सुविधा र (२) अशक्तता वापतको सुविधा पाइने छ ।

सुविधा प्राप्त गर्ने अवस्था
रोजगारीजन्य दुर्घटनामा परी उपचार गर्नुपर्ने भएमा यो योजना वमोजिमको सुविधा प्राप्त गर्न सकिन्छ । तर, रोजगारीजन्य दुर्घटना वाहेक अन्य दुर्घटनाको हकमा भने ७ लाख रुपैयाँसम्मको उपचार खर्च कोषले दिनेछ ।

रोजगारीजन्य दुर्घटना उपचारको सुविधा योगदान गरेको मितिबाट लागू हुनेछ । तर, व्यवसायजन्य रोगको उपचार तथा सोसँग सम्बन्धित अन्य सुविधा कम्तीमा दुई वर्ष योगदान गरेपछि मात्र पाइन्छ ।

कति पाइन्छ पैसा ?
योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च पाइन्छ । यस्तै अन्य दुर्घटना भएको अवस्थामा कोषले ७ लाख रुपैयाँसम्मको मात्र उपचार खर्च व्यहोर्ने छ । तर प्राकृतिक विपत्तिको कारण दुर्घटना भएकोमा वा सडक दुर्घटना भएकोमा वा अन्य वीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च व्यहोर्ने छैन ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाइपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज काममा नफर्कंदासम्म पाउनेछ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी असक्षमता भएको योगदानकर्ताको असक्षमताको अनुपातमा निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकमलाई शतप्रतिशत मानी निजको असक्षमता प्रतिशतको आधारमा जीवनकालभर निवृत्तभरण सुविधावापत मासिक रुपमा रकम पाउनेछ ।

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण स्थायी पूर्ण असक्षमता भएको योगदानकर्ताले निजले खाईपाई आएको आधारभूत पारिश्रमिकको साठी प्रतिशत बराबरको रकम मासिक रुपमा निज जीवित रहुञ्जेल निजलाई वा निज आफैं हिंडडुल गर्न नसकेमा निजलाई हेरचाह गर्ने आश्रित परिवारको सदस्य वा निजलाई हेरचाह गर्ने अन्य व्यक्ति वा संस्थालाई भुक्तानी गर्ने व्यवस्था कोषले मिलाउने छ । हेरचाह गर्ने व्यक्ति वा संस्थालाई रकम भुक्तानी गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सिफारिस अनिवार्य चाहिन्छ ।

कति पाइन्छ पेन्सन ?
कोषले उपलब्ध गराउने शतप्रतिशत असक्षमता वापतको मासिक निवृत्तभरण रकम नेपाल सरकारले सम्बन्धित क्षेत्रका लागि तोकेको न्यूनतम पारिश्रमिक अंकको साठी प्रतिशत भन्दा घटी र न्यूनतम आधारभूत पारिश्रमिक अंकको तीन गुणा भन्दा बढी हुने छैन ।

असक्षमताको प्रतिशतको किटान र पुनरावलोकन गर्न स्वास्थ्य परीक्षण समिति बनाइनेछ भने सो समितिले प्रत्येक ५ बर्षमा पुनरावलोकन गर्नेछ । यसो गर्दा योगदानकर्ता असक्षमता प्रतिशतको अन्तिम पुनरावलोकन निजको उमेरको ५८औं वर्षमा हुनेछ र सो असक्षमताको प्रतिशतमा आएको परिवर्तनको आधारमा निवृत्तभरण रकममा परिवर्तन हुन सक्नेछ ।

आश्रित परिवार सुरक्षा योजना
योगदानकर्ताको मृत्यु भएमा यस योजना अन्र्तगत आश्रित परिवारलाई (क) पति वा पत्नीले पाउने निवृत्तभरण, (ख) सन्ततिले पाउने शैक्षिक वृत्ति, (ग) आश्रित वावु आमाले पाउने सुविधा र (घ) अन्तिम संस्कार खर्च हुन् ।

पति वा पत्नीले निवृत्तभरण पाउने
दुर्घटना वा व्यवसायजन्य रोगका कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निज जीवित रहेसम्म निवृत्तभरण पाउने छन् ।

योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा निजको वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा पाइदैन । तर त्यस्तो व्यक्तिको रोजगारी समाप्त भएमा कोषमा निवेदन दिई निवृत्तभरण सुविधा माग गर्न सक्नेछ ।

योगदानकर्ताको सन्ततिले शैक्षिक वृत्ति पाउने
योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पुरा नभएको सन्तति रहेको अवस्थामा सो उमेर पुरा नभएसम्म त्यस्तो सन्ततिले शैक्षिक वृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ । तर एक भन्दा वढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिने छ ।

यदि कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काइस वर्षको उमेर पुरा नभए सम्म प्रदान गर्न सकिनेछ । तर निजको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन । कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागू हुने छैन ।

बाबु आमाले सुविधा पाउन सक्ने
योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर एकाघर सगोलका आश्रित बाबु आमा रहेछन् भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकम निजहरुको जीवनकालभर मासिक रुपमा कोषले प्रदान गर्नेछ । तर बाबु आमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ ।

तर बाबु आमा वैकल्पिक रोजगार रहेको वा निजले अन्यत्रबाट बढी सुविधा पाउने रहेछ भने यो सुविधा पाउने छैन ।

अन्तिम संस्कार खर्च पाउने
जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराईनेछ ।

कति पाइन्छ पेन्सन र उपदान ?
कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चय कोष वापत र ८.३३ प्रतिशत उपदान वापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोष वापत गर्नेे १० प्रतिशत योगदानको रकम गरी जम्मा २८.३३ प्रतिशत रकमबाट कोषले वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गर्नेछ ।

यो योजना अनुसार योगदानकर्ता श्रमिकले (क) निवृत्तभरण योजना र (ख) अवकाश सुविधा योजना प्राप्त गर्नेछ ।

यो योजनामा सहभागी हुन् (क) २०७६ साल श्रावण १ गते पश्चात कुनै पनि रोजगारदातासँग रोजगार सम्वन्ध कायम भएका श्रमिकहरु, (ख) प्रचलित कानुन बमोजिमको सञ्चय कोष र उपदान प्राप्त गरिरहेका श्रमिकहरुको हकमा निजहरुले चाहेमा वा निजहरु कार्यरत प्रतिष्ठानमा यस योजनामा सहभागी हुने भनी सामूहिक सम्झौता भएको अवस्थामा समावेश हुन सक्नेछन् ।

निवृत्तभरण योजना अन्तर्गत पाउने सुविधा
यस योजनामा योगदान गर्ने श्रमिकलाई (क) योगदानकर्ताको अवकाश उमेर पुरा भएपछि निजले कोषमा जम्मा गरेको योगदान रकम (रोजगारदाताको तर्फवाट भएको योगदान समेत) र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगलाई १८० महिना (१५ वर्ष) ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण पाउने छन् ।

(ख) कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कूल योगदान रकम नियमानुसार एकमुष्ठ रुपमा प्रदान गरिनेछ ।

निवृत्तभरण पाउन योग्य हुने अवस्था
निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर साठी बर्ष पूरा भएको र कम्तिमा १८० महिना वा पन्ध्र वर्ष योगदान गरेको हुनुपर्नेछ ।

अवकाश सुविधा
निवृत्तभरण योजना लागू हुनु अगावै रोजगारीमा रहेका योगदानकर्ताले कोषमा जम्मा गरिएको सञ्चय कोष र उपदान वापतको योगदान रकम, रोजगारदाताको तर्फवाट गरेको योगदान र सोमा कोषले गरेको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम निज अवकाश हुँदाका वखत एकमुष्ठ भुक्तानी पाउनेछ ।

निवृत्तभरणको लागि दर किटान गरी बाँकी रकम भुक्तानी गर्न वा अन्य योजना संचालन गर्न पनि सकिने कोषको भनाइ छ । कोषले श्रमिक र रोजगारदाताको तर्फवाट गरिने कुल योगदान २८.३३ प्रतिशत पुरै निवृत्तभरण योजनामा प्रयोग नगरी सो भन्दा कम दरमा निवृत्तभरण योजना सञ्चालन गर्ने निर्णय गर्न सक्नेछ ।

कम दर किटान भएको अवस्थामा कोषले बाँकी रकम अवकाश सुविधा वापत सम्बन्धित श्रमिकलाई अवकाश उमेर पुरा भएपछि फिर्ता गर्न वा अन्य योजनामा प्रयोग गर्न सक्नेछ ।

योगदानको बाँडफाँड
रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकवाट ११ प्रतिशत रकम कट्टी गरी सो रकममा श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी कुल ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् र यस्तो रकम कोषले (क) औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाको लागि १ प्रतिशत, (ख) दुर्घटना तथा अशक्तता सुरक्षा योजनाको लागि १.४० प्रतिशत, (ग) आश्रित परिवार सुरक्षा योजनाको लागि ०.२७ प्रतिशत, (घ) वृद्ध अवस्था सुरक्षा योजनाको लागि २८.३३ प्रतिशत बाँडफाँड गर्ने गर्छ ।

कसरी प्राप्त गर्ने सुविधा
कोषबाट सुविधा प्राप्त गर्नको लागि सबैभन्दा पहिला त कोषको योजनाहरुमा सहभागी हुनुपर्यो । र, कोषले तोकेका मापदण्ड पूरा गरेको हुनुपर्यो । कोषको कार्यविधि वमोजिम सुरक्षा योजनाहरुमा सहभागी भई सुविधा प्राप्त गर्नको लागि कोषको कार्यालय वा कोषले तोकेको आधिकारिक प्रतिनिधि समक्ष निवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु