सामाजिक सुरक्षा योजनाको स्वागत गर्दै रोजगारदाताहरुले भने-कार्यान्वयन चुनौतिपूर्ण छ



काठमाण्डौ । रोजगारदाताहरुले नेपाल सरकारले आजदेखि लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन चुनौतिपूर्ण रहेको भन्दै स्वागत गरेका छन् । योगदानमा आधारिक सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा मन्तव्य राख्दै रोजगारदाता संघसंस्थाका प्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले योगदानमा आधारिक सामाजिक सुरक्षा योजनाको घोषणाले सामाजिक रुपान्तरणको प्रक्रिया प्रारम्भ भएकोमा खुशी व्यक्त गरिन् ।

यो कार्यक्रममले शान्तिपूर्ण औद्योगिक बाताबरण सिर्जना गर्न र श्रमिकहरुको भविश्य सुनिश्चित गर्नका लागि उपयोगी हुने बताइन् । यो कार्यक्रमले उत्पादन बृद्धि र नेपाली जनताको जीवनस्तर बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै भन्दै यसको कार्यान्वयनका लागि निजी क्षेत्रबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन् ।

यो योजना कार्यान्वयनका क्रममा भविश्यमा आउन सक्ने समस्याहरुको बेलैमा ख्यान गरेर उचित समयमा संबोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण पनि गराइन् ।

सोही कार्यक्रमलाई संबोधन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले योगदानमा आधारिक सामाजिक सुरक्षा योजना लागु हुने अवस्थाको निर्माणमा उद्योगी व्यवसायीहरुले ५ कदम अघि बढेर काम गरेको बताए ।उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीले जहिले पनि १ कदम अघि बढेर काम गर्नु भन्ने गरेको प्रशंग उल्लेख गर्दै उनले भने–आजको दिनमा उद्योगी व्यवसायीहरु ५ कदम अघि बढेका छन् ।

आगामी १० वर्षमा सामाजिक सुरक्षा कोष सबैभन्दा ठूलो कोषका रुपमा स्थापित हुने बताउँदै उनले यो कोषलाई राष्ट्र निर्माणको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने कुरा चुनौति रहेको बताए । साथै सरकारले ल्याएको यो नयाँ कार्यक्रमलाई सफल पार्न उद्योगी व्यवसायीहरुको पूर्ण साथ रहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश मण्डलले योगदानमा आधारिक सामाजिक सुरक्षा योजना रोजगारदाता, ट्रेड युनियन र सरकारको समन्वयमा आएको उल्लेख गरे । उनले भने–अब रोजगारदातालाई पनि व्यवसाय गर्न सहज हुन्छ, शान्तिपूर्ण औद्योगिक वातावरण निर्माण हुन सक्छ । तर, कोषको कुशल व्यवस्थापन चाँही चुनौतीपूर्ण छ ।

त्यसैगरी, घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष सुरेश प्रधानले अब रोजगारदाता र श्रमिकको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे । अब श्रमिकहरुको निबृत्तिभरणको अन्यौलता हटेको उनको भनाई थियो ।

यता, नेपाल उद्योग बाणिज्य महासंघ रोजगारदाता परिषद्का सभापति चन्द्र ढकालले व्यवसायीहरुले चाहेको श्रम लचकता र श्रमिकहरुले चाहेको सामाजिक सुरक्षाको सवाल अब समाधान भएको बताए । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु भएपछि अब नेपालको श्रम क्षेत्र व्यवस्थित हुने र बैदेशिक लगानी भित्राउन पनि सहज हुने भन्दै कार्यक्रम सफल बनाउन रोजगारदाताहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सामाजिक सुरक्षा योजनाका बारेमा प्रष्ट्याएका थिए ।

कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका महासचिव चिरागमान सिंह कुँबर, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष गणेश रेग्मी, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्य, नेपाल ट्रेय युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेले मजदुरहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा भएकोमा खुशी व्यक्त गरे ।

साथै मजदुर संगठनका प्रतिनिधिहरुले प्रभावकारी कार्यान्वय र अनुगमनमा राज्य चनाखो हुनु पर्ने कुरा सुझाएका थिए ।


क्लिकमान्डु