अध्ययन भन्छ- सन् २०४१ सम्ममा बैंकका शाखा र एटिएम बन्द हुन्छन्, के होला त्यसपछि ?



काठमाडौं । नेपालको शहरी क्षेत्रमा केही मात्रामा भएपनि २४सै घण्टा पैसा निकाल्न मिल्ने एटिमए मेशिन जडान गरिएको छ ।

एटिएम सेवामा सरकारी भन्दा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको भूमिकमा प्रभावकारी रहेको छ । उनीहरुले दिने सेवा सरकारीको भन्दा गुणस्तरीय पनि रहेको छ ।

तर मुख्य शहरी क्षेत्र बाहेकका क्षेत्रमा भने अझै पनि सहजै पैसा निकाल्न मिल्ने एटिमएम मेशिन जडान हुन सकेको छैन ।

ग्रामीण क्षेत्रमा त बैंक तथा वित्तीय सस्थाको सामान्य शाखा समेत खुल्न सकेका छैनन् । कूल ७५३ स्थानीय तहमध्ये अझै १६६ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बाध्यकारी व्यवस्था गरेपनि कतिपय स्थानीय तहमा बैंकहरुले शाखा खोल्न मानिरहेका छैनन् । सुगम क्षेत्रमा सेवा प्रवाह गर्न कुनै पनि समस्या नहुने भएकाले बैंक तथा वित्तीय संस्था ग्रामीण तथा दुरदराजको क्षेत्रमा जान त्यत्ति चासो राख्दैनन् ।

बैंक तथा वित्तीय सेवाको पहुँचलाई आजकल संसारभर नै सामान्य तथा अत्यावश्यक सेवाको रुपमा लिइन्छ । यो नागरिकको दैनिक जीवनसँग जोडिएको विषय पनि हो ।

संसारभर नै वित्तीय पहुँचलाई पनि विकासको प्रमुख आधारको रुपमा हेर्ने गरिएको छ । तर, नेपालको अवस्था पछिल्लो दिनमा केही सुधार भएपनि आशातित सफलता भने हासिल हुन सकेको छैन ।

संसारमा क्यासलेस प्रणालीको सुरुवात भइसकेको छ । चीनमा त पैसा नै नबोके पनि हुने अवस्था आइसकेको छ । अमेरिका, बेलायत, यूरोपेली मुलकुहरु र छिमेकी भारतमा समेत कार्डका माध्यमबाट सबै प्रकारको सेवा उपलब्ध गराउने प्रणालीको विकास गरिसकेका छन् ।

नागरिकलाई बढी भन्दा बढी सरल रुपमा सेवा दिने अभिप्रायले ती देशका सरकार र बैंक तथा वित्तीय संस्थाले काम गरिरहेका छन् ।
तर नेपालमा भने एक त बैंक तथा वित्तीय संस्थाका शाखा नै पुगेका छैनन् । पुगेका पनि नागरिकप्रति जिम्मेवार हुनुभन्दा बढी ब्यापारमा केन्द्रित भएका छन् ।

पछिल्लो पटक बेलायतबाट एउटा रोचक खबर आएको छ । त्यो खबरमा भनिएको छ- ‘सन् २०४१ सम्ममा बैंक तथा वित्तीय संस्थाका धेरै शाखा रहने छैनन् र नगद झिक्ने एटिएम मेशिन समेत क्रमशः लोप भएर जाने छ ।’

बेलायतको एक व्यापारिक वेवसाइट एक्पर्ट मार्केटककाअनुसार बढ्दो प्रविधिको विकास, सूचना तथा सञ्चारमा आएको उच्च विकासले बैंक तथा वित्तीय संस्थाको शाखा र एटिएम मेशिन समेत आवश्यकता नपर्ने उल्लेख गरेको छ ।

उसले भनेको छ- ‘सबै कामहरु अब प्रविधिले नै सञ्चालन गर्नेछ । तपाईलाई अब कुनै पनि प्रकारको कार्ड वा मेशिनको जरुरी नै पर्ने छैन ।’

तपाईसँग रहेको स्मार्ट फोन वा कुनै पनि सञ्चार प्रणालीका माध्यमबाट तपाईले सामान किन्न, होटल वा रेष्टुरेन्टमा बिल तिर्न तथा हवाई यात्रा तथा सवारी साधानमा चढ्न पनि सहज हुनेछ ।

भौतिक पैसा नै जरुरी नपर्ने अवस्था सहजै रुपमा संसारभर नै कार्यान्वयनमा आइसकेको छ । त्यसमा अझै नयाँ सुविधाहरु थपिदै जानेछन् । जसले बैंकको शाखा, एटिएम कार्ड वा भौतिक पैसा नै जरुरी पर्ने छैन । तपाईको जीवनशैली थप सहज र सरल मात्रै बन्ने छैन, कार्ड चोरी हुने हराउने वा कुनै पनि प्रकारको क्षति तथा गुनासो पनि रहने छैन ।

नगद कारोवारमा आउने भारी गिरावटले बैंक तथा वित्तीय संस्थालाई शाखा खोल्नु सबै भन्दा ठूलो खर्चको रुपमा रहनेछ । मानिसहरुले त्यसलाई एउटा झन्झट र समयमको बर्बादीको रुपमा पनि लिनेछन् ।

बैंकका शाखामा गएर लाइनमा उभिनु पनि समयको नाशको रुपमा हेरिनेछ । एक्पर्ट मार्केटले बेलायतको संसद हाउस अफ कमन्सको लाइब्ररी, कन्जुमर वाचडग हुइचको तथ्यांक विश्लेषण गर्दै भनेको छ, प्रविधिले यति सहज र सरल बनाउँदैछ कि अब तपाईलाई कुनै पनि आर्थिक कारोवारका लागि अपत्यारिलो अवस्था ल्याइदिनेछ ।

प्रविधिको विकासले बैंकका शाखा बन्द हुने क्रम पनि बढेका छन् । बेलायती सञ्चारमाध्यमहरुकाअनुसार पछिल्ला वर्षहरुमा मात्रै १ हजार ४६ बैंकका शाखा बन्द भएका छन् । यो क्रम बढेर जाने देखिएको छ । ९ हजार २७९ बैंकका शाखा रहेकोमा सन् २०३० मा पुग्दा घटेर केवल ४ हजार ३४४ मा पुग्नेछ । यो क्रम बढ्दै जाँदा अर्को ११ वर्ष अर्थात् सन् २०४१ सम्ममा त बैंकका धेरै जसो शाखा बन्द हुनेछन् ।

एकाध बैंकका केन्द्रीय कर्पोरेट कार्यालय खुल्नेछन् । अन्यथा कुनै पनि शाखा देख्न र हेर्न समेत नपाइने अवस्थाको सिर्जना हुनेछ ।


पुष्प दुलाल