बीमाका दुई ‘क्रोनिक’ रोगः लाइफमा भदौ मसान्तमा ‘क्लोजिङ’, ननलाइफमा घर्रामा चेक




काठमाडौं । नियाकम निकाय बीमा समितिको अनेकन प्रयासका बाबजुत पनि बीमा क्षेत्रका दीर्घकालिन रोग अझै निको हुन सकेको छैन ।

विगतदेखि नै ‘क्रोनिक’ रोगको रुपमा रहेको लाइफ इन्स्योरेन्स कम्पनीहरुले भदौ मसान्तमा ‘क्लोजिङ’ गर्ने र ननलाइफ इन्स्योरेन्स कम्पनीहरुले उधारो बीमा गराउने समस्या अझै समाधान नभएको बीमा समिति स्रोतले बतायो ।

‘लाइफ इन्स्योरेन्स कम्पनीहरुले असार मसान्तमा गर्नुपर्ने क्लोजिङ नगरेर घुमाउरोे बाटो प्रयोग गरी भदौ मसान्तसम्मको ब्यवसाय अघिल्लो बर्षमै गणना गर्ने प्रबृत्ति अझै रोकिएको छैन, र, ननलाइफ इन्स्योरेन्स कम्पनीहरुले अझै पनि उधारो बीमा गराइरहेका पाइन्छ, तर, यी दुबै प्रबृत्ति धेरै कम हुदै गएको भने देखिन्छ,’ समिति स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

यस्तो कार्य गर्ने बीमा कम्पनीहरुलाई समितिले कारबाही गर्ने गरेको छ । समितिले केही बर्षयता असार मसान्तमा नै सो आर्थिक बर्षको आफ्नो ब्यवसायको विवरण पेश गर्न कम्पनीहरुलाई पत्राचार गर्ने गरेको छ ।

तर, लाइफ इन्स्योरेन्स कम्पनीहरुले यसको जवाफ समितिलाई पठाउँदा सो दिनसम्मको यथार्थ विवरण नपठाइ अनुमानित विवरण पठाउने र सो अनुसार विवरण मिलाउन बाँकी अबधिको ब्यवसाय पनि अघिल्लै बर्षको ब्यवसायमा तान्ने गरेका छन् ।

यस्तै ननलाइफ इन्स्योरेन्स कम्पनीहरुले बिमितसँग असार मसान्त अघि नै चेक ल्याउने तर प्राप्त हुने वित्तिकै चेक नसाटी लामो समयसम्म पर्खने गरेका भेटिएको समितिको भनाइ छ ।

लाइफको समस्याः भदौ मसान्तमा क्लोजिङ
कम्पनीहरुले कुनै एक बर्ष आँट नगर्दा यो समस्या तानिदै आएको हो । चालु बर्षको भदौसम्मको ब्यवसाय अघिल्लै बर्षमा तानिएपछि सो बर्ष ब्यवसाय कम हुने हुन्छ । तर, कुनै एक बर्ष कम्पनीहरुले आँट गरे फेरि अर्काे बर्षदेखि असार मसान्तलाई नै क्लोजिङ समय बनाउन समस्या हुने देखिदैन ।

लाइफ इन्स्योरेन्स कम्पनीको ब्यवसायको ९८ प्रतिशतभन्दा बढी हिस्सा एजेन्टमा निर्भर हुने गरेको छ । बीमा एजेन्टले आर्थिक बर्ष सुरु भएको ७÷८ महिनासम्म खासै चासो नदिने र आर्थिक बर्ष सकिन लागेपछि मात्रै तात्तिने प्रबृत्ति देखाएका कारण पनि कम्पनीहरु यस्तो समस्यामा परेका बताइन्छ ।

‘हाम्रो ब्यवसाय एजेन्टमै निर्भर हुन्छ, आर्थिक बर्षको अन्त्यमा आएर एजेन्टले केही समय दिनुस् भन्छन्, उनीहरुको आग्रह टार्न सकिने अबस्था हुदैन, अनि घुमाउरो बाटो अपनाउनु पर्ने बाध्यता पनि रहने गरेको छ,’ एक लाइफ इन्स्योरेन्स कम्पनीका उच्च अधिकारीले भने ।

सबै बीमा कम्पनीहरुको बीमा शुल्क आर्थिक बर्ष सकिने अन्तिम तीन महिनामा बढी हुने गरेको तथ्यांकले पनि यो कुराको पुष्टी हुने अर्काे बीमा कम्पनीका उच्च अधिकारीको दाबी छ ।

‘सबै बीमा कम्पनीहरुले बैशाख, जेठ र असार महिनामा बढी बीमा शुल्क संकलन गरेका हुन्छन्, यी महिना बीमा गर्ने सिजन कसरी भए भनेर हेर्ने वित्तिकै पोल खुलिहाल्छ,’ ती अधिकारीको दाबी छ ।

कम्पनीहरुले बीमा एजेन्टहरुलाई पनि बार्षिक लक्ष्य दिने गरेका छन् । बीमा एजेन्टले २५ प्रतिशत कमिसन र १८ प्रतिशत प्रोत्साहन भत्ता पाउने गरेका छन् । आफ्नो लक्ष्य पूरा गर्न तथा कमिसन र प्रोत्साहन भत्ता बढाउन पनि एजेन्टहरुले ‘केही समय’ भन्दै भदौ मसान्तसम्म पुर्याउने गरेका बीमा कम्पनीका अधिकारीहरु नै स्वीकार गर्छन् ।

ननलाइफको समस्याः चेक नसाटी राखिन्छ
ननलाइफ इन्स्योरेन्स कम्पनीहरुले उधारो बीमाको नयाँ जुक्ति फुराउन थालेका छन् । उनीहरुले असार मसान्तभन्दा अगाडिकै मिति उल्लेख गरिएको चेक लिने तर त्यस्तो चेक साट्न भने भदौ मसान्तसम्म लगाउने गरिएको पाइएको छ ।

‘कम्पनीहरुसँग असार मसान्तभन्दा अगाडिकै मिति उल्लेख गरिएको चेक हुन्छ, हामीले अनुसन्धान गर्दा सोही अनुसारको चेक भेटिन्छ पनि, तर किन नसाटेको भनेर सोध्यो भने भ्याइएको छैन, विर्सिएछ, अब साटिहाल्छौं भन्ने जस्ता जवाफ पाइने गरेको छ,’ समिति स्रोतले भन्यो ।

यो एक प्रकारले उधारो बीमा नै हो । उधारो बीमालाई समितिले पूर्णरुपमा रोक लगाएको छ । उधारो बीमा गरेर दाबी भुक्तानी दिएको अभियोगमा समितिले केही बर्ष अगाडि एभरेष्ट इन्स्योरेन्स कम्पनीको ब्यवस्थापन आफैले लिएर कारबाही गरेको थियो । तर, अहिले उधारो बीमाको नयाँ मोडालिटी देखिएको छ ।


क्लिकमान्डु