बैंकहरुका अवकाश कोषः बचतकर्ता मख्ख, बैंक झनै मख्ख



काठमाडौं । नेपालका ३ वटा बाणिज्य बैंकहरुले अवकाश कोष संचालन गरेका छन् । नविल, एनसीसी र जनता बैंकले यस्तो अवकाश कोष संचालन गरिरहेका हुन् ।

यस्तो कोष संचालनबाट बचतकर्ता र बैंक दुबै सन्तुष्ट देखिएका छन् । बैंकको बचतमा बैंक राख्नुभन्दा बढी ब्याज पाइने, एकै पटक राख्नु नपर्ने र बैंकलाई पनि निक्षेपको एउटा गतिलो आधार बनेका कारण बचतकर्ता बैंक दुबैलाई फाइदा भएको हो ।

को को सहभागी हुन पाउँछन् ?

यस्तो कोषमा जुनसुकै क्षेत्रमा काम गर्ने ब्यक्तिहरु पनि सहभागी हुन पाउने नविल अवकाश कोषका अध्यक्ष रमेश प्रसाद लोहोनी बताउँछन् । तर, सो संस्थामा १० जनाभन्दा बढी कर्मचारी हुनुपर्ने शर्त रहेको लोहोनीले बताए । तर, सरकारले साना साना संस्थामा कार्यरत कर्मचारी पनि समेट्नु पर्ने भन्ने नीति आएकोले त्यसमा पनि पुनरबिचार गर्ने कि भन्ने भएको उनले बताए ।

यस्तै एनसीसी बैंकको अवकाश कोषमा भने प्रोपाइटरसीप संस्थाका कर्मचारी पनि सहभागी हुन पाउने एनसीसी अवकाश कोषका प्रमुख प्रेमकृष्ण बाराहीले जानकारी दिए ।

जुनसुकै प्रकारको संस्थामा कार्यरत कर्मचारीले पनि जनता अवकाश कोषमा रकम जम्मा गर्न सकिने ब्यवस्था रहेको जनता अवकाश कोषका अध्यक्ष अजय मिश्रको भनाइ छ ।

कसरी सहभागी हुने ?

यसको भने मापदण्ड हुन्छ । कुनै पनि संस्थाका कर्मचारीहरु नै यी तीनमध्ये कुनै अवकाश कोषमा सभागी हुन रोजगारदाता कम्पनी वा फर्मले निर्णय गर्नुपर्छ । यस्तै यस्तै कुनै बैंकको अवकाश कोषमा सहभागी हुन सम्बन्धित रोजगारदाता कम्पनीको बैंक खाता सोही बैंकमा हुनै पर्छ भने कुनैमा यस्तो अनिवार्य छैन ।

के छ कानुनी आधार ?

आयकर ऐन २०५८ ले कम्पनीहरुलाई पनि अवकाश कोष संचालनमा ल्याउने बाटो खुल्ला गरेको थियो । सोही ऐनमा टेकेर यी ३ वटा बैंकले कोष संचालन गरेका हुन् । सो ऐनले यस्तो कोष आन्तरिक राजस्व विभागमा दर्ता हुनुपर्ने ब्यवस्था गरेको छ ।

नविल अवकाश कोष

नविल बैंकले २०५९ सालदेखि यस्तो अवकाश कोष संचालनमा ल्याएको थियो । सुरुमा आफ्नै बैंकका कर्मचारी (करिब ४ सय) बाट संचालमा आएको यो कोषममा अहिले २३ हजार जति बचतकर्ता रहेको अध्यक्ष लोहोनीले जानकारी दिए ।

‘सुरुमा हामीले कर्मचारी संचयकोषमा आफ्ना कर्मचारीको अवकाश कोषको ब्यवस्था गरेका थियौं, पछि २०५२ सालतिर यो कर्मचारी संचयकोषबाट फिर्ता गरेर यो कोष आफैले आन्तरिक रुपमा आफैले ब्यवस्थापन गर्यौं, २०५८ सालमा आयकर ऐनले बाटो खुल्ला गरेपछि २०५९ को फागुनमा विधिवत रुपमा कोष दर्ता गरेर अन्य संस्थाहरु पनि सहभागी हुन सक्ने गरी कोष संचालन गरिरहेका छौं,’ नविल बैंकको डेपुटी जनरल म्यानेजर समेत रहेका कोषका अध्यक्ष लोहोनीले क्लिकमाण्डूसँग भने ।

नविल अवकाश कोषमा अहिले ६ अर्ब रुपैयाँभन्दा बढी पैसा जम्मा भएको छ । यस्तो रकम सम्बन्धित बचतकर्तालाई ऋण, बैंकमा निक्षेप र सरकारी ऋणपत्र, बैंकहरुले निकाल्ने डिभेन्चर जस्ता सुरक्षित क्षेत्रमा लगानी गरिएको लोहोनीले जानकारी दिए ।

कोषका बचतकर्ताले बचत रकमको ९० प्रतिशतसम्म ऋण लिन पाइने ब्यवस्था मिलाइएको छ । बचतकर्तालाई साढे १० प्रतिशत ब्याज दिने गरिएको छ भने ऋण लिदा १ प्रतिशत थप गरेर अर्थात ११ प्रतिशत ब्याज तिर्ने गरी ऋण लिन पाइन्छ ।

नविल अवकाश कोषले बचतकर्तालाई प्रत्येक ३ महिनामा स्टेटमेन्ट पठाउने गरेको छ ।

जनता अवकाश कोष

यो कोषको स्थापना २०६० सालमा भएको हो । साबिकको सिद्धार्थ डेभलपमेन्ट बैंकले कोष संचालनमा ल्याएको थियो । त्यसैले यो कोषलाई साविकको सिद्धार्थ अवकाश कोष पनि भनिन्छ ।

जनता अवकाश कोषमा करिब ३ अर्ब रुपैयाँ जम्मा भइसकेको छ । यस्तो रकम बचतकर्तालाई कर्जा दिने, होमलोन दिने, भैपरी कर्जा दिने र बैंकमा निक्षेपको रुपमा राख्ने गरिएको अध्यक्ष मिश्रले जानकारी दिए ।

‘कोषले बचतकर्तालाई साढे ८ प्रतिशत ब्याज दिने गरेको छ, केही साता अगाडि मात्रै १ प्रतिशत बोनस पनि दियौं, बचत रकमको ९० प्रतिशतसम्म ऋण लिन पाइन्छ, ऋण लिदा बचतको ब्याजदरमा साढे १ प्रतिशत थप गरेर ब्याज लिने गरेका छौं,’ जनता बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत समेत रहेका कोषका अध्यक्ष मिश्रले क्लिकमाण्डूसँग भने ।

जनता अवकाश कोषमा अहिले ४ सयभन्दा बढी संस्थाका करिब ११ हजार कर्मचारीले बचत गरेका छन् ।

एनसीसी बैंक अवकाश कोष

यो कोषको स्थापना २०५९ सालको चैतमा भएको हो । कोषमा अहिले पौने ४ अर्ब रुपैयाँ जम्मा भएको छ । सुरुमा बैंककै ३५० जना कर्मचारीबाट यो कोष संचालनमा आएको कोषका प्रमुख बाराही बताउँछन् ।

‘हामीले अवकाश कोषसहित अन्य सेवा पनि दिएका छौं, संचयकोष, अवकाश कोष, उपदान कोष र संचित विदा कोष पनि संचालन गरिएको छ,’ बाराहीले भने ।

एनसीसी बैंक अवकाश कोषले पनि बचतकर्तालाई साढे ८ प्रतिशत नै ब्याज दिने गरेको छ । उसले पनि बचत रकमको ९० प्रतिशतसम्म ऋण र ऋणमा साढे १ प्रतिशत ब्याज थप गरेर लिने गरेको छ । यसका अतिरिक्त एनसीसी अवकाश कोषले बचतकर्तालाई १५ हजार रुपैयाँसम्मको निःशुल्क औषधोपचार बीमा सुविधा पनि उपलब्ध गराएको छ ।

एनसीसी अवकाश कोषमा जम्मा भएको रकम बैंकमा निक्षेपको रुपमा राखिएको छ ।

के छन् कोषहरुका जोखिम ?

यस्ता कोष संचालनको लागि आयकर ऐनमा टेकेर आन्तरिक राजस्व विभागमा दर्ता गर्न सकिन्छ । अनि संचालन हुन्छ । तर संचालनमा आएपछि नियमन र सुपरीवेक्षण गर्ने निकाय भने छैन ।

यति मात्रै होइन, कोष संचालन निर्देशिका पनि राज्यको तहबाट बनाइएको छैन । सम्बन्धित कोषहरुले आफ्नै संचालन निर्देशिका बनाएका छन् र बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण मात्रै गराउने गरेका छन् । बैंकहरुले संचालन गरेका भएपनि यस्तो कोषको नियमन र सुपरीवेक्षण नेपाल राष्ट्र बैंकले पनि गर्ने गरेको छैन ।

संकटमा कोषको अस्तित्व

आयकर ऐनले यस्तो कोष संचालनको बाटो खुल्ला गरेपनि हालै बनेको श्रम ऐनले कोषको भविष्य संकटमा पारिदिएको छ ।

श्रम ऐनले यो प्रकारका कोष संचालन भए त्यस्ता कोषलाई सामाजिक सुरक्षा कोषमा समाहित गर्ने परिकल्पना गरेको छ । सामाजिक सुरक्षा कोषमा यस्ता कोष मिसाउनै पर्ने भएपछि यिनीहरुको भविष्य संकटमा देखिएको हो ।

तर, सरकारले कहिलेदेखि यो ब्यवस्था कार्यान्वयन गर्छ भन्ने यकिन भने अझै भएको छैन ।

सरकारलाई अर्काे पनि समस्या छ । त्यो के हो भने सरकारी लगानीमै कर्मचारी संचयकोष र नागरिक लगानी कोष संचालनमा छन् । सामाजिक सुरक्षा कोषबाहेकका अन्य सबै कोषको खारेजी गर्ने हो भने कर्मचारी संचय कोष र नागरिक लगानी कोषको भविष्य पनि के हुने भन्ने अर्काे प्रश्न पनि छ । तर, यी दुबै कोष बेग्लै कानुनी संयन्त्रबाट संचालित छन् ।


क्लिकमान्डु