अर्थतन्त्रले लियो टेकअफ, लगातार ३ वर्ष ६ प्रतिशत बढीको आर्थिक बृद्धि



काठमाडौं । नेपालले लगातार ३ आर्थिक वर्षमा ६ प्रतिशत बढीको आर्थिक बृद्धिदर गर्ने देखिएको छ । लगातार ३ आर्थिक वर्षसम्म ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर अहिलेसम्म भएको थिएन ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालले ५.९ प्रतिशत आर्थिक बृद्धिदर गर्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले गत आर्थिक वर्षमा नेपालले ६.३ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको संसोधित अनुमान गरेको छ ।

गत वर्ष नेपालले ५.९ प्रतिशत आर्थिक बृद्धिदर गरेको अनुमान थियो । यस आधारमा हेर्दा यो वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर हासिल हुने देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

दुई वर्ष अगाडि आर्थिक वर्ष २०७३/७४ मा ७.४ प्रतिशत आर्थिक बृद्धिदर गरेको थियो । सो वर्ष ७.९ प्रतिशत आर्थिक बृद्धिदर हासिल भएको तथ्यांक विश्व बैंकले सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा भारतले लगाएको नाकाबन्दी तथा २०७२ बैशाखमा गएको भूकम्पको असरको कारण नेपालको आर्थिक बृद्धिदर ऋणात्मक हुनबाट जोगिएको थियो । सो वर्ष ०.६ प्रतिशत आर्थिक बृद्धिदर हासिल भएको थियो । त्यसपछिका वर्षमा नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतभन्दा बढी भएको छ ।

अर्थशास्त्री केशव आचार्य लगातार तीन वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर हुनुले नेपाली अर्थतन्त्रले टेकअफ लिएको बताउँछन् ।
‘अर्थशास्त्रको भाषामा अर्थतन्त्रले टेकअफ लिएको छ, सरकारले लगानीकर्तालाई विश्वासमा लिन सकेमा ८ प्रतिशतको आर्थिक बृद्धिदर सम्भव देखिएको छ,’ आचार्यले क्लिकमाण्डूसँग भने ।

उनले लगातार तीन आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धिदर हुनुमा सरकारको भन्दापनि मौसमले साथ दिँदा कृषिको उत्पादन बढ्नु र सेवा क्षेत्रमा पर्यटन आप्रवाहको कारण सम्भव भएको बताउँछन् ।

विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपणमा चालु आर्थिक वर्षमा कृषि क्षेत्रको बृद्धिदर ४ प्रतिशतले तथा उद्योग क्षेत्रको ८ प्रतिशत र सेवा क्षेत्रको बृद्धिदर ६.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

‘प्रत्यक्ष बैदेशिक लगानीमा चिनियाँ लगानी नेपालमा बढ्दै गएको छ, खासगरी सिमेन्ट क्षेत्रमा ठूलो लगानीमा उद्योग खुल्दैछ,’ विश्व बैंकले आफ्नो प्रतिवेदनमा भनेको छ ।

विश्व बैंकले नेपालले सन् २०२० लाई ‘भिजिट नेपाल इअर’ मनाउन लागिएको र त्यसबाट २० लाख पर्यटक भित्राउने लक्ष्य राखिएकोमा त्यसको लागि केही ठूला पूर्वाधारका आयोजना तथा जलविद्युत् आयोजनाको काम पुरा हुनुपर्ने जनाएको छ ।

नेपालको विकास बजेट खर्च हुन नसक्नु तथा संघियतामा गएपनि सो अनुसारको काम नहुँनु समस्याको रुपमा चित्रण गरेको छ ।

गतवर्ष नेपालमा १० लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । यो वर्षपनि १० लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने छन् ।

‘स्थाई सरकारसँगै लगानीकर्तामा स्थिरताको आशा पलाएको छ, ठूलो काम नगर्दापनि आर्थिक बृद्धिदर बढाउनको लागि असम्भव नभएको र लगातार तीनवर्ष ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल हुनको सन्देश अन्तराष्ट्रिय रुपमा सकारात्मक भएर जान्छ,’ अर्थशास्त्री आचार्यले थपे ।

उनले माथिल्लो तामाकोसीको निर्माण तथा निजी क्षेत्रले सम्पन्न गर्न लागेको जलविद्युत् परियोजनापछि भारतबाट विजुली आयात गर्न नपर्दा २० अर्ब जोगिने र उद्योगमा पूर्ण लोडसेडिङ मुक्त भएका यसले अर्थतन्त्र थप विस्तार हुने बताउँछन् ।

‘सरकारले हस्तक्षेप गरेन, स्थानीय तहले मनलाग्दी तरिकाले कर बढाएनन् भने लगानीको वातावरण बन्छ,सरकारले सहजिकरणको काम गर्ने र कानूनी व्यवस्थालाई कार्यान्वयन गरेमात्र पुग्छ, लगानी निजी क्षेत्रले गर्छ, आर्थिक क्रियाकलाप थप बढ्छ,’ आचार्यले भने ।


पुष्प दुलाल