पशुपतिमा यस्तो बन्यो ४ वटा स्वीट रुमसहितको नेपालकै पहिलो तारे धर्मशाला




काठमाण्डौ । धर्मशाला भन्ने बित्तिकै सामान्यतः आपत विपत पर्दा आश्रय लिने ठाउँ भन्ने बुझिन्छ । धर्मशालाहरु सुबिधा सम्पन्न हुँदैनन् र ब्यवसायिक दृष्टिले खुलेका होटल जत्तिको सफासुग्घर पनि हुँदैनन् भन्ने आम बुझाइ छ ।

तीर्थयात्रामा वा धर्मकर्म गर्न जाँदा विशेष गरी यस्ता धर्मशालाहरुमा आश्रय लिइन्छ ।

धर्मशाला भन्ने बित्तिकै आर्थिक अवस्था अलि कमजोरहरुले आश्रय लिने ठाउँ मात्र भनेर बुझियो भने अब गलत हुन्छ । सुबिधा सम्पन्न धर्मशालाहरु पनि बन्न थालेका छन् । विपन्नहरु मात्र होइन, सम्पन्नहरुको आश्रय स्थलपनि अब धर्मशालाहरु बन्दैछन् । र, त्यो पनि नेपालमै ।

काठमाण्डौमा नेपाल मै पहिलो सुबिधा सम्पन्न धर्मशाला बनेको छ । तिलगंगा नजिकै बागमती नदी किनारमा एउटा भव्य रिसोर्ट झै लाग्ने संरचना बनेको छ । बाहिरबाट हेर्दा सुविधा सम्पन्न रिसोर्ट या कुनै तारे होटल झै लाग्ने भर्खरै निर्माण सम्पन्न भएको त्यो संरचना धर्मशाला हो । जुन धर्मशाला बिमस्टेन सम्मेलनमा भाग लिन आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ १५ गते संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारतीय दूताबासले २० करोड रुपैयाँभन्दा बढीको लागतमा बनाइदिएको नेपाल–भारत मैत्री पशुपति धर्मशाला पशुपति क्षेत्र विकास कोषको २४ रोपनी क्षेत्रफलमा बनेको छ । निर्माण सम्पन्न भएपछि यो धर्मशाला पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिंदैछ ।

केके सुबिधा छन् यो धर्मशालामा ?
नेपाल–भारत मैत्री पशुपति धर्मशालामा ८८ वटा कोठा छन् । ती ८८ कोठामा ३ सय ९८ वटा बेड छन् । ८८ कोठा मध्ये ४ वटा भीआइपी कोठा छन् । बाँकी कोठा साधारण खालका छन् । साधारण खालका कोठामा प्रत्येकमा ४, ८ र १२ वटा बेड छन् ।

भीआइपी कोठामा शौचालय अट्याच छ भने अरु कमन रुमका लागि महिला तथा पुरुषका लागि छुट्टा छुट्टै शौचालय पर्याप्त मात्रामा छन् ।

करीब २ सय जनाले एकैपटक खाना खान मिल्ने डाइनिङ रुम छ । एउटा ठूलो सभाहल पनि छ । धर्मशाला परिसरमा पर्याप्त खुल्ला क्षेत्र छ । सो धर्मशाला परिसरलाई रमणीय बनाउन फूल, दुबो रोपेर सुन्दर र आकर्षक बनाइएको छ । पार्किङ स्थल पर्याप्त मात्रामा छ ।

धर्मशाला परिसर मै २५१ मिटर पाइप गाडेर बोरिङ हालिएको छ । त्यही बोरिङबाट पानीको व्यवस्थापन गरिन्छ । बोरिङबाट तानिएको पानी शुद्ध बनाउने मेशिन पनि जडान गरिएको छ । विद्युत आपूति बन्द भए ३३ केभीएको जेनेरेटरको व्यवस्था पनि छ ।

५० हजार लिटर क्षमताको पानी जम्मा गर्ने अण्डर ग्राउण्ड ट्याङ्की जडान गरिएको छ भने २० हजार लिटरको ओभरहेड ट्याङ्की पनि जडित छ । ढल जम्मा गर्न सेफ्टी ट्याङ्की बनाइएको छ ।

भीआईपी रुममा के छ सुबिधा ?
पशुपति क्षेत्र विकास कोषका कार्यकारी अधिकृत रमेशकुमार उप्रेतीका अनुसार सो धर्मशालामा ४ वटा भीआइपी रुम बनाइएको छ । पशुपतिनाथको दर्शनका लागि आउने आर्थिक रुपले सम्पन्न व्यक्तिहरुलाई लक्षित गरेर ती कोठा व्यवस्था गरिएको हो । ती तीर्थयात्री, जो पशुपतिनाथको दर्शन गरी पाशुपत क्षेत्र नजिकै २–४ दिन बस्न चाहन्छन्, उनीहरुको लागि लक्षित गरेर भीआइपी रुम बनाइएको हो ।

भीआइपी रुममा सुबिधा सम्पन्न अट्याच ट्वाइटेल रहेको छ । रुम भित्रै किचन पनि बनाइएको छ । मिटिङ रुम छ । र, एउटा रुममा एउटा बेड राखिएको छ ।

धर्मशाला तयार भो, अब कसरी सञ्चालन हुन्छ ?
पशुपति क्षेत्र विकास कोषका कार्यकारी अधिकृत उप्रेतीका अनुसार भारतीय दूतावासले बनाइदिएको नेपाल–भारत मैत्री पशुपति धर्मशाला निर्माण सम्पन्न भई नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरिसकेका छन् । अब सो धर्मशालाको केही केही काम मात्र बाँकी छ । अबको केही दिन भित्रै भारतीय दूतावासले सो धर्मशालाको सम्पूर्ण तालाचाबी कोषलाई हस्तान्तरण गर्नेछ ।

नेपाल कै पहिलो सुबिधासम्पन्न धर्मशाला त बन्यो, तर अब यसको सञ्चालन कसरी गर्ने भन्ने बारेमा अझैसम्म अन्यौल त । कार्यकारी अधिकृत उप्रेतीका अनुसार अहिलेसम्म कार्यविधि नबनेपनि चाहिने दक्ष कर्मचारी कोष आफैले व्यवस्थापन गरी चलाउने कि होटल म्यानेजमेन्ट गर्ने जिम्मा कुनै संस्थालाई दिने भन्ने बारेमा छलफल भइरहेको छ ।

‘नेपाल होटल तथा पर्यटन व्यवस्थापन प्रतिष्ठान (नाथम) ले सो धर्मशालालाई कसरी चलाउन सकिन्छ र कसरी चलाउँदा उपयुक्त हुन्छ भन्ने बारेमा केही दिन भित्र कोषमा रिपोर्ट दिनेछ, सो अनुसार धर्मशाला चल्छ,’ कार्यकारी अधिकृत उप्रेतीले भने ।

धर्मशाला चलाउने कार्यबिधि जे जस्तो बनेपनि बाहिरका होटलभन्दा सस्तो हुने उनले बताए ।

‘धर्मशाला भएपनि निट एण्ड क्लिन हुन्छ, टु स्टार होटलको सुबिधा रहन्छ, त्यसै अनुसारको जनशक्तिले त्यहाँ काम गर्नेछन्,’ उनले भने ।

शिलान्यासको १० वर्षपछि उद्घाटन

सो धर्मशालाको २०६४ साल फागुन ७ गते नेपालका लागि तत्कालीन भारतीय राजदूत शिवशंकर मुखर्जीले शिलान्यास गरेका थिए । यो बीचमा विविध कारणवश निर्माणको टेण्डर पटक–पटक भएपनि काम भने शुरु हुन सकेन । पछिल्लो समय २०७३ साउनबाट रमन कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएर काम शुरु गरेको थियो ।

बिमस्टेक सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने भएपछि अलि हतारमा उद्घाटन कार्यक्रम (भदौ १५ मा) गरियो । काम लगभग सकिएको छ । अब सामान्य केही काम मात्र बाँकी छ । छिट्टै यहाँको सबै कुरा भारतीय दूताबासलाई जिम्मा लगाइने छ । त्यसपछि भारतीय दूतावासले पशुपति क्षेत्र विकास कोषलाई तालाचाबी बुझाउँने कार्यक्रम रहेको धर्मशालामा रहेका रमन कन्स्ट्रक्सनका एक कर्मचारीले बताए ।

अरु २ धर्मशाला कस्ता छन् ?
पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी प्रेमहरि ढुंगानाका अनुसार पशुपति क्षेत्रमा वनकाली धर्मशाला पनि छ । सो धर्मशाला २०७२ सालमा भुकम्पले क्षति पुर्याएपछि अहिले पुनर्निर्माण भइरहेको छ । २ तलाको सो धर्मशालामा २८ वटा कोठा छन् ।

त्यस्तै कोषकै जग्गामा मारवाडी समुदायले गौशाला धर्मशालापनि चलाएका छन् । त्यहाँ २४ कोठा छन् । १०० जना बस्न सक्ने क्षमता छ ।

सूचना अधिकारी ढुंगानाका अनुसार पशुपतिनाथको दर्शन गर्न नेपालका विभिन्नि स्थान र भारतबाट आउने तीर्थयात्रीहरुका लागि वसोबास गर्ने सुबिधा सम्पन्न धर्मशालाको अभाव छ । जसका कारण तीर्थयात्रीहरु महङ्गो मूल्य तिरेर होटलमा बस्नु पर्ने बाध्यता छ ।

पशुपति क्षेत्र वरिपरि राज्यस्तरबाटै धार्मिक पर्यटकहरुलाई लक्षित गर्दै होमस्टको व्यवस्था गर्न सकियो भने तीर्थयात्रीहरुले लाभ लिन सक्ने उनले बताए ।


क्लिकमान्डु