सिमेन्टमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह पाँचवर्षमा दोब्बरले बढ्यो



काठमाडौं । एनएमबि बैंकको नेतृत्व ५ वटा बैंकले होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयाँ कर्जा दिने सम्झौता गरे ।

सोमबार भएको सम्झौतामा एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक,प्रभु बैंक,एभरेष्ट र एसबिआई बैंकले ऋण दिन लागेका हुन् ।

सातवर्षे अवधीको लागि बैंक अब चाइना र चाइना मिङसेङ बैंकको सुरक्षणमा बैंकहरुले ऋण दिएका हुन् । जसमा एनएमबिले ६ अर्ब ७५ करोड,नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब,प्रभुले ३ अर्ब ऋण दिने छन् भने एभरेष्टले १ अर्ब २५ करोड रुपैयाँ तथा एसबिआई बैंकले १ अर्ब रुपैयाँ कर्जा दिने छन् ।

पछिल्लो १० वर्षमा नेपालको उद्योग कुनै उद्योगमा लगानी बढेको भनेको सिमेन्ट नै हो । आन्तरिक देखि स्वदेशी लगानीसम्मको आकर्षण सिमेन्ट उद्योगमा देखिएको छ ।

आधिकारिक तथ्यांक नभएपनि सिमेन्ट उद्योगमा २ खर्बभन्दा बढी लगानी व्यवसायीले गरेको देखिन्छ । अहिले देशभरमा ५० वटा सिमेन्ट उद्योग संचालनमा रहेका छन् ।

सिमेन्टमा व्यवसायीको लगानी बढ्दै गएपछि बैंकहरुले प्रवाह गर्ने कर्जापनि सिमेन्ट उद्योगमा बढ्दै गएको छ ।

आर्थिक वर्ष २०६९/७० सम्म बैंकहरुले सिमेन्ट उद्योगमा २९ अर्ब ६९ करोड रुपैयाँ कर्जा दिएका थिए । कुल कर्जा रकममा सिमेन्ट उद्योगमा गएको कर्जाको हिस्सा २.६२ प्रतिशत हो ।

आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा बैंकहरुले सिमेन्ट उद्योगमा ६५ अर्ब ५० करोड रुपैयाँ कर्जा दिएका छन् । कुल कर्जा रकममा सिमेन्ट उद्योगमा गएको कर्जाको हिस्सा २.७ प्रतिशत हो ।

आर्थिक वर्ष २०७३/७४ मा ४७ अर्ब २६ करोड रुपैयाँ सिमेन्ट उद्योगमा कर्जा गएको थियो ।

एकवर्षको अवधीमा नै सिमेन्ट उद्योगमा गएको कर्जा ३८ प्रतिशतले बढेको छ ।
पाँचवर्षको अवधीमा बैंकहरुको प्रोटफोलियोमा सिमेन्टमा जाने कर्जाको प्रोटफोलियो बढेको देखिन्छ ।

भूकम्पपछि नेपालमा सिमेन्टको माग अत्याधिक बढेको थियो । त्यसपछि संचालनमा रहेका उद्योगले पनि क्षमता विस्तारमा लागे । सिमेन्टमा नयाँ उद्योगीको प्रवेश हुने र भएका उद्योगीले पनि क्षेत्र विस्तार गरेर सिमेन्ट उद्योगमा लगानी बढाएका छन् ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी उद्योगमा सिमेन्टमा कर्जाको माग बढेको हुँदा बैंकहरुको कर्जा यसमा बढेको बताउँछन् ।

‘नेपालमा सिमेन्ट उद्योगको राम्रो सम्भावना रहेको छ,त्यही भएर हामीहरुले एकैपटक एउटै परियोजनामा सहवित्तीयकरणमा ठूलो ऋण दिने निर्णय गरेका छौ,’केसीले भने ।

बैंकरहरुका अनुसार सिमेन्ट उद्योगमा बैंक तथा वित्तीय संस्थाले १ खर्बभन्दा बढीको कर्जा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सिमेन्ट उद्योग खुल्ने लर्को नै लागेको छ । जसको कारण बैंकहरुको सिमेन्ट उद्योगमा गएको कर्जा रकमपनि बढेको हो ।


क्लिकमान्डु