बिम्स्टेकले गराएको साढे २ अर्बको विकास ‘मिस्टेक’




काठमाडौं । भदौ १४ र १५ गते काठमाडौंमा बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) शिखर सम्मेलन हुदैछ । नेपाल सहितका सदस्य राष्ट्रहरु भारत, श्रीलंका, बंगलादेश, थाइल्याण्ड, म्यानमार र भुटानका सरकार तथा राष्ट्र प्रमुखहरु सो सम्मेलनमा सहभागी हुदैछन् ।

विमस्टेक शिखर सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनमा सहभागी हुन आउने विशिष्ट र अतिविशिष्ट पाहुनाहरु नेपाल आइपुग्न थालेका छन् ।

विमष्टेक शिखर सम्मेलनमा आउने पाहुनालाई देखाउन सडकका खाल्डा पुरिएको छ । सडकपेटीमा भएका बोट विरुवालाई गोडमेल गरेर आकर्षक देखाइएको छ । सडक भित्ताहरुमा रंगरोगन गरिएको छ ।

काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सम्मेलन हुने ठाउँ सोल्टी होटलसम्म र अतिविशष्ट पाहुना ओहोरदोहोर गर्ने सडकका खाल्डा पुर्ने र सिंगार्ने काम सकिएको छ ।

‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि चावहिल हुदै हायात होटलसम्म, एयरपोर्टदेखि तिनकुने त्रिपुरेश्वर हुदै सोल्टी होटलसम्म, त्रिपुरेश्वरदेखि सुन्धारा हुँदै राष्ट्रपति निवाससम्म र एयरपोर्टदेखि चावहिल हुदै बालाजुसम्म जाने सडक मर्मत सम्भार र रंगरोगनका काम गर्ने भनिएको थियो, गरियो,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

यो काम गर्नको लागि सडक डिभिजन कार्यालय काठमाडौंले करिब ४ करोड रुपैयाँ खर्च गरेको छ ।

यस्तै चारवटै सुरक्षा निकायले मात्रै सम्मेलन सुरक्षाका लागि ७५ करोड रुपैयाँभन्दा बढी खर्च गरेर सुरक्षा ब्यवस्था मिलाएका छन् । विदेशी पाहुनाका लागि १ सय १२ मोटरसाइकल स्कर्टिङका लागि तैनाथ गरिएको गृहमन्त्रालयको भनाइ छ ।

विमस्टेक शिखर सम्मेलनमा सहभागी हुने राष्ट्र प्रमुख/सरकार प्रमुख, भिभिआइपीहरुको लागि आवश्यक पर्ने उपयुक्त सवारी साधान बुलेट प्रुफसमेत भाडामा लिन अर्थमन्त्रालयले गृहमन्त्रालयको नाममा गत साउनमै २ करोड रुपैयाँ रकमान्तर गरी उपलब्ध गराएको छ ।

सम्मेलन व्यवस्थापनकै लागि सुरक्षा निकाय तथा विभिन्न मन्त्रालय र निकायले सवारी साधान खरिद र भाडामा लिन, आवास तथा बन्दोबस्ती, रंगरोगन, सडक मर्मत, पाहुना सत्कार लगायतमा साढे २ अर्ब रुपैयाँ जति खर्च गर्दैछन् ।

सम्मेलन सुरक्षाको लागि नेपाली सेनाको कमान्डमा चारवटै सुरक्षा निकायका करिब २५ हजार जनशक्ति परिचालन गरिनेछ । यसका लागि नेपाल प्रहरीका करिब १० हजार, सशस्त्रका ५ हजार र बाँकी सेना र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति खटिने छन् ।

उनीहरूका लागि दैनिक २ सय ५० रुपैयाँका दरले ४ दिनको खाजा खर्च उपलव्ध गराइने छ । सम्मेलनकै लागि प्रहरीले भीभीआइपी स्कर्टिङका लागि २० वटा जीप, ७४ वटा ६५० सीसीका साइरन जटित मोटरसाइकल पनि किन्न प्रस्ताव गरेको छ । साइरन जडित प्रस्तावित मोटरसाइकलको मूल्य प्रतिमोटरसाइकल २० लाख रुपैयाँभन्दा बढी छ ।

करिब ४ बर्ष अगाडि काठमाडौमै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजना गर्न पनि यस्तै तामझाम गरिएको थियो । तर, त्यो बेला पुरिएका खाल्डा फेरि उस्तै भएका छन्, सडक भित्ता रंगरोगन गर्नुपर्ने अवस्थामा पुगेका छन्, भत्किएको पीच फेरि टाल्नुपर्ने भएको छ, बोटविरुवा पुन गोडमेल गर्नुपर्ने भएको छ । सार्क शिखर सम्मेलनमा पनि यस्तै हरारमा अर्बाैं रकम खर्च भएको थियो ।

किन हुन्छ यस्तो ?
पूर्वअर्थसचिब डा. शान्तराज सुवेदी अन्तराष्ट्रियस्तरका सभा सम्मेलन गर्न केही रकम थप खर्च लाग्ने नै बताउँछन् । तर, नियमित गर्नुपर्ने काम नगर्दा विदेशी पाहुनालाई देखाउनकै लागि मात्रै गर्ने गरिए जस्तो भएको उनको भनाइ छ ।

‘अरु देशमा पनि यो प्रकारको अन्तराष्ट्रिय सभा सम्मेलन आयोजना गर्दा थप पैसा लाग्ने गरेको हुन्छ, तर हाम्रोमा नियमित गर्नुपर्ने काम पनि हुदैन, विदेशीलाई देखाउनकै लागि गरिए जस्तो हुने गरी हतारमा काम गर्ने गरेका छौं,’ डा. सुवेदीले क्लिकमाण्डूसँग भने ।

डा. सुवेदी

योजनावद्ध दीगो विकासको अभाव तथा गुणस्तरीय विकासको कमी जस्ता कारणले यस्तो हुने गरेको उनले बताए ।

‘राजधानीका प्रमुख सडक सधै चिल्ला र राम्रा हुने, हामीले तयार पारेका संरचना निश्चित अवधिसम्म टिक्ने प्रकारको हुने हो भने यो प्रकारको हतारो पर्दैनथ्यो, सार्क शिखर सम्मेलन काठमाडौंमा आयोजना हुन्छ भन्ने कुरा हामीलाई ४ बर्ष पहिला नै थाहा थियो, विमस्टेक शिखर सम्मेलन काठमाडौंमा आयोजना गर्ने कुरा हामीलाई १ बर्ष अघि नै थाहा थियो, तर समयमै काम गरेनौं, लगाएको ठेक्का समयमै सकिएन, अनि अहिले आएर हतारो भयो, हतारमा गरिएको काम गुणस्तरीय हुन्छ भनेर अपेक्षा गर्नुपनि ठीक हुदैन,’ डा. सुवेदीले थपे ।


क्लिकमान्डु