यो वर्षको लाभांश बोनस सेयरभन्दा नगदमा बढी हुने



काठमाडौं । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांश दिने निर्णय गर्यो ।

आईसिएफसीको चुक्ता पुँजी ८७ करोड छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८० करोड तोकेको छ ।

पुँजी पुगेपछि आइसीएफएसीको नगद लाभांश दिने घोषणाले यो वर्ष बोनस सेयरभन्दा नगद लाभांशलाई जोड दिने पक्का देखिन्छ ।

सेयर बजारमा सूचिकृत रहेका २७ वटा वाणिज्य बैंकले ४८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । जसमा चुक्ता पुँजी नपुगेका केही वाणिज्य बैंक बाहेक सबैको जोड नगद लाभांशमा नै पर्ने देखिन्छ ।

बैंकर तथा बैंक तथा वित्तीय संस्थाका संचालकसँग कुरा गर्दा यो वर्ष लाभांशमा ८० प्रतिशत हिस्सा नगद लाभांश र २० प्रतिशत हिस्सा मात्र बोनस सेयरको हुने देखिन्छ ।

सेयर बजारमा बोनस सेयर पाउने बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीबाट हो । धेरै बीमा कम्पनीको चुक्ता पुँजी नपुगेको हुँदा यो वर्ष बोनस सेयर आउने पक्का छ । तर,बैंक तथा वित्तीय संस्थाको हकको चुक्ता पुँजी नपुगेका संस्था बाहेक अरुबाट बोनस सेयर आउने आशा लगानीकर्तालाई कम छ ।

सेयर बजारमा सूचिकृत टेलिकम तथा जलविद्युत् र उत्पादन क्षेत्रका कम्पनले बोनस सेयर दिएका हुँदैनन् । उनीहरुले दिने भनेको नगद लाभांश नै हो ।

यद्यपी नाफा बढी गर्ने नबिल तथा इन्भेष्टमेन्ट बैंकले भने केही प्रतिशत बोनस सेयर दिएर नगद लाभांश बाढ्ने देखिन्छ ।

नाफाको क्षमताको आधारमा नबिल बैंकले ४० प्रतिशतसम्म लाभांश दिन सक्छ । जसमा ३० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर हुने अनुमान गर्न सकिन्छ ।

‘यो वर्षको फोकस नगद लाभांश हो,पुँजी पुगिसकेको छ,त्यसै पुँजी थप्ने भन्ने हुँदैन,’एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

पुँजी बढाएपछि सो अनुसारको रिर्टन दिनुपर्ने समस्याबाट बल्ल पार गरेको अवस्थामा अहिले नै पुँजी बढाउने गरेर ठूलो मात्रामा बोनस सेयर दिने सम्भावना कम रहेको बैंकरहरु बताउँछन् । केही हदसम्म पुँजी बढाउनको लागि चुक्ता पुँजी पुगेका संस्थाले थोरै बोनस दिने हो ।

बैंक तथा वित्तीय संस्थामा संस्थापक र साधारण गरेर सेयरधनी छुट्याइएको हुन्छ । संस्थापक सेयरधनीलाई बोनस सेयर थपिदा फाइदा हुँदैन । साधारण लगानीकर्तालाई भने नगद लाभांशको तुलनामा बोनस सेयर फाइदाजनक हुन्छ ।

बैंक तथा वित्तीय संस्थाको पुँजी बढाउने नीतिपछि संस्थापक सेयरधनीले नगद लाभांश लिन पाएका छैनन् । त्यसैले यो वर्ष बैंक तथा वित्तीय संस्थाका संस्थापक सेयरधनीको रोजाई बोनसभन्दा नगद लाभांशमा बढी हुने देखिन्छ ।

अहिले लगानीकर्ताले सेयर बजारमा हेरेको विषयको सूचिकृत कम्पनीबाट नगद लाभांश आउने कि बोनस सेयर भन्नेमा हो ।


क्लिकमान्डु