बैंकर्सको उल्टो बाटो, तरलताको जोखिम आफैं निम्त्याउँदै



काठमाडौं । ‘बैंकहरुले अल्पकालिन अवधीको निक्षेप लिएर दीर्घकालिन प्रकृतिको कर्जा दिदा समस्या देखियो ।’

अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्र बैंकको गभर्नर हुँदादेखि अहिलेसम्म दोहर्याउने वाक्य हो यो ।

बैैंकहरुले अल्पकालिन अवधीमा निक्षेप लिने र त्यसलाई दीर्घकालिन रुपमा कर्जा दिदा समस्या आउने गर्छ ।

बैंकहरुको निक्षेपको प्रकृति हेर्दा बैंकले अल्पकालिन अवधीमा नै निक्षेप संकलन बढी गरेको देखिन्छ । राष्ट्र बैंकका प्रकाशित गरेको जेठ महिनासम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहहरुसँग स्वदेशी मुद्रामा २२ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप छ । जसमा १९ खर्ब ९७ अर्ब रुपैयाँ बैंकहरुले कर्जा प्रवाह गरेका छन् ।

निक्षेपको योजना अनुसार बैंकहरुसँग जेठ मसान्तसम्मा मुद्दती निक्षेपमा १० खर्ब ८ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै बचत खातामा ७ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै २ खर्ब ६८ अर्ब रुपैयाँ कलमा छ भने करेन्ट २ खर्ब रुपैयाँ छ । बाँकी रकम अन्य खालका निक्षेप छन् ।

पछिल्ला वर्षमा बैंकले निक्षेपमा मुद्दती निक्षेपको हिस्सा अत्याधिक नै बढाएका छन् । २०७० साल असार मसान्तमा बैंकमा जम्मा ७ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप थियो । यसमध्ये बचतमा २ खर्ब ८४ तथा मुद्दतीमा २ खर्ब ५२ अर्ब रुपैयाँ थियो ।

२०७३ असार मसान्तसम्म आइपुग्दा पनि बैंकमा मुद्दतीभन्दा बचतको हिस्सा नै बढी थियो । २०७३ असार मसान्तमा १६ खर्ब २४ अर्ब रुपैयाँ निक्षेपमा ६ खर्ब ७७ अर्ब बचत तथा मुद्दतीमा ४ खर्ब ९१ अर्ब रुपैयाँ थियो ।

२०७३ को असोज पछि सुरु भएको लगानी योग्य रकम –तरलता) को अभावसँगै बैंकहरुको निक्षेप संरचना पनि परिवर्तन भयो ।

यो बेलासम्म आइपुग्दा बचतलाई मुद्दती निक्षेपले जित्यो २०७४ असार मसान्तमा आइपुग्दा बैंकसँग १९ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा बचत ६ खर्ब ८९ अर्ब तथा मुद्दतीमा ८ खर्ब ३५ अर्ब रुपैयाँ थियो ।

यो क्रम २०७४ सालपछि झनै बढ्यो । जसले गर्दा बैंकमा बचतमा रहेको निक्षेप मुद्दतीमा परिवर्तन भयो । यस्तो हुनुको प्रमुख कारण बैंकहरुको नीतिकै कारण थियो ।

बैंकहरुले बचतमा ब्याज बढाएनन् । उनीहरुले मुद्दती निक्षेपलाई घटाएर एक महिने पनि बनाए । एक महिने मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने योजना कुनै बैंकले ल्यायो भने निक्षेपकर्ताले बचतमा भएको पैसा पनि निकालेर त्यही योजनामा निक्षेप राख्छ नै । किनभने एक महिना पछि नै आफ्नो सावाँमा ब्याज जोडेर आउँछ र फेरि त्यो पैसा अर्काे बैंकमा राख्न पाउने अवस्था पनि रहन्छ ।

अर्थात बैंकहरु नीतिगत ब्यवस्था गरी निक्षेप बढाउनको लागि बचत खाताबाट मुद्दतीमा पैसा लगे ।

२०७५ जेठसम्मको तथ्यांक विश्लेषण गर्दा बैंकहरुले वित्तीय क्षेत्रमा आफै नै ठूलो जोखिम निम्ताएको देखिन्छ । बैंकले यो अवधीमा हुने नहुँने सबै खालका निक्षेप योजना ल्याए । जसले गर्दा कुल निक्षेपमा एकवर्षभन्दा कम अवधीको निक्षेपको हिस्सा नै करिब ३० प्रतिशत पुगेको छ ।

बैंकले मुद्दती निक्षेप ल्याउने धुनमा बढी ब्याजदरमा बचत खाताको जस्तो एक महिने तीन महिने र ६ महिने अवधीको निक्षेप योजना संचालन गरे । जसले गर्दा बैंकहरु आफै नै समस्या फस्दै गएका छन् ।

जेठ मसान्तसम्मा बैंकमा १० खर्ब ८ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा पैसा छ । जसमा ६ महिनादेखि एक वर्ष अवधीको लागि ४ खर्ब ७५ अर्ब, ३ देखि ६ महिनासम्मको लागि १ खर्ब,एक देखि तीन महिने अवधीको लागि ६९ अर्ब ५४ करोड तथा एक महिने अवधीको लागि ३६ अर्ब रुपैयाँ निक्षेप छ ।

जबकी एक देखि २ वर्ष अवधीको लगि बैंकमा २ खर्ब २० अर्ब रुपैयाँ रहेको छ भने २ वर्षभन्दा माथि अवधीको मुद्दती निक्षेपमा २ खर्ब ५ रुपैयाँ छ ।

‘बैंकका सिइओहरुले बचतमा रहेको पैसालाई मुद्दतीमा महंगो ब्याजदरमा परिवर्तन गरे,जसले गर्दा सस्तोमा पाएको ब्याजदर महंगो हुन पुग्यो,’वित्तीय क्षेत्रमा नजिकबाट निहाल्ने एक वित्तीय विश्लेषकले भने ।

ब्याज घट्ने अनुमानमा बैंकरहरुले गरेको निर्णयले आफैलाई फसाउदै लग्ने देखिन्छ । आक्रामक रुपमा एकले अर्कोको निक्षेप तान्न सुरु भएको अस्वस्थ प्रतिस्पर्धाले वित्तीय क्षेत्रलाई भने थप जोखिममा पारेको देखिन्छ ।

नेपाल बैकर्स संघका पुर्व  अध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी पछिल्ला वर्षमा बचतमा रहेको निक्षेपमा मुद्दतीमा परिवर्तन भएको बताए ।
‘तरलता सहज हुन्छ भन्ने अनुमानमा अल्पकालिन अवधीको निक्षेप तानिएको छ,जसले गर्दा बचतमा रहेको निक्षेप मुद्दतीमा आयो,’ भण्डारीले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु