संचय कोषले १ अर्बको एफपिओ किन्दा नेपाल बैंकमा २ अर्ब ७० करोड आवेदन



काठमाडौं । नेपाल बैंकको थप सार्वजनिक निष्कासन(एफपिओ)मा २ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको छ ।

आवेदन गर्ने अन्तिम दिन ठूला लगानीकर्ता आकर्षित हुँदा कुलन निष्कासन भएको रकमको ५० प्रतिशतभन्दा बढी भएको छ । सुरुमा बैंकको एफपिओ ५० प्रतिशतपनि बिक्री हुँने नहुँने एकिन नभएपनि अन्तिम दिन ठूलो मात्रामा आवेदन परेपछि एफपिओ बिक्री बढेको हो ।

एफपिओ बिक्रीको अन्तिम दिन कर्मचारी संचय कोषले एक अर्ब रुपैयाँ बराबरको एफपिओ किनेपछि कुल एफपिओ बिक्री ५० प्रतिशत नाघेको हो ।

एफपिओ निष्कासन तथा बिक्री प्रवन्धक सिदार्थ क्यापिटलका मर्चेन्ट बैकिङ प्रमुख सुजनबाबु अधिकारीले संचय कोषले लगानी गरेको रकम जोड्दा २ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको आवेदन परेको जानकारी दिए ।

हिसाब मिलानको प्रक्रिया जारी रहेको हुँदा यो रकम केही बढ्न सक्ने छ ।

अर्थमन्त्रालयको निर्देशनपछि कर्मचारी संचय कोषले बैंकको एफपिओ किनेको थियो ।
नेपाल बैंकले अंकित मुल्य एक सय रुपैयाँमा प्रिमियम १८० थपेर प्रतिकित्ता २८० रुपैयाँको दरले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ जारी गरेको थियो ।

एफपिओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख ६० हजार २४० रुपैयाँ उठाउन खोजेको छ ।
तोकिएको समयमा पुरा एफपिओ बिक्री नभएपछि निष्कासन तथा बिक्री प्रवन्धकले बैैंकका संस्थापक र तिनका आफन्तलाई एफपिओ बिक्री खुल्ला गर्ने छ । त्यसपछि पनि एफपिओ बिक्री नभएमा अन्डरराइट गर्ने कम्पनीले खरिद गर्ने छ।

८ संस्थाले नेपाल बैंकको एफपिओको अन्डरराइट गरेका छन् ।

जसमा सिबिआइएल क्यापिटलले १ अर्ब १५ करोड ३८ लाख रुपैयाँको, ग्लोबल आईएमई क्यापिटलले १ अर्ब १३ करोड ४० लाख, एनआईबिएल एस क्यापिटलले ८९ करोड ९७ लाख, सिभिल क्यापिटलले ४५ करोडको अन्डराइट गरेका छन् ।

यस्तै लक्ष्मी क्यापिटलले ४५ करोड, सनराइज क्यापिटलले ३६ करोड, सानिमा क्यापिटलले २७ करोड र नेपाल एसबीआई मर्चेन्टले २३ करोड ४० लाख रुपैयाँ बराबरको अन्डराइट गरेका छन् ।

बिक्री नभएको एफपिओ अन्तिममा अन्डरराइट गर्ने कम्पनीले किन्नुपर्ने छ ।


क्लिकमान्डु