नयाँ मर्चेन्ट बैंकको लाइसेन्स दिन बन्द



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ मर्चेन्ट बैंकको लाइसेन्स दिने कार्य बन्द गर्ने भएको छ । मर्चेन्ट बैंकर नियमावली २०६४ लागू भए पश्चात हाल सम्म २४ मर्चेन्ट बैंकरले व्यवसाय गर्ने अनुमति पाएका छन् ।

सम्पूर्ण मर्चेन्ट बैंकिङ व्यवसाय र संस्थागत परामर्श सेवा प्रदान गर्ने संस्था ६ वटा रहेका छन् । यस्तै, संस्थागत परामर्श सेवा बाहेकका ४ वटा व्यवसाय गर्ने संस्था १० वटा रहेका छन् । निष्काशन तथा बिक्री प्रबन्धक , धितोपत्र प्रत्याभूति र सेयर रजिष्ट्रेशन गर्ने संस्था १ वटा रहेको छ ।

सेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्ने संस्था समेत १ वटा रहेको छ । लगानी व्यवस्थापन व्यवसाय गर्ने संस्था ७ वटा रहेका छन् ।

बोर्डका अनुसार हाल ७ वटा कम्पनीहरु अनुमति प्राप्तिका लागि प्रक्रियामा रहेका छन् । ती मध्ये सम्पूर्ण मर्चेन्ट बैंकिङ व्यवसाय गर्न ५ वटा रहेका छन् । यस्तै, संस्थागत परामर्श बाहेकका ४ वटा मर्चेन्ट बैंकिङ व्यवसाय गर्न १ र लगानी व्यवस्थापन व्यवसाय मात्र गर्न १ कम्पनीले प्रस्ताव गरेका छन् ।

बोर्डले मर्चेन्ट बैंकहरुले बहन गर्ने जिम्मेवारी तथा लिने जोखिम अनुसार २०७४ सालमा नियमावली संसोधन गरेको थियो । संसोधनमा बैंकरको चुक्ता पूँजीमा ४ गुणासम्म वृद्धी तथा कार्य क्षेत्र विस्तार गरी संस्थागत परामर्श सेवा समेत प्रदान गर्न सक्ने व्यवस्था गरेको थियो ।

उत्पादनशील कम्पनी सार्वजनिक निष्काशन गर्ने क्रममा रहेपनि नेपाल राष्ट्र बैंक र बीमा समितिले गरेको बैंक बीमा कम्पनीको अनुमति कार्य स्थगनले नयाँ बैंकिङ संस्था तथा बीमा कम्पनीहरुको सार्वजनिक निष्काशन कार्य सीमित भएको छ । हाल बोर्डबाट अनुमति प्राप्त गरी कार्यरत तथा निवेदन प्रक्रियामा रहेका निष्काशन तथा बिक्री प्रबन्धको संख्या बढी हुँदा प्रतिस्पर्धा अस्वस्थ हुनसक्ने अवस्था समेत देखिएको छ ।

साथै, आस्वा प्रणाली लागू भए पश्चात लाईन लाग्ने स्थिति नभएकाले प्रशोधन कार्यमा सहज हुन गई निष्काशन तथा बिक्री प्रबन्धकको भूमिकामा न्यूनीकरण भएको छ । यस्तै डिम्याट कारोबारले सेयर रजिष्ट्रारको कार्य समेत कम भएको छ ।

हालको बजारको अवस्था हेरेर बोर्डले अनुमति पत्रको लागि नयाँ आवेदन दर्ता गर्ने कार्य विस्तृत रुपमा अध्ययन गरी अर्को व्यवस्था नभएसम्मको लागि सो आवेदन दर्ता कार्य स्थगन गर्ने धितोपत्र बोर्डले जनाएको छ ।


क्लिकमान्डु