पोखरा–लेखनाथ महानगरको के छ हालखबर ?



काठमाण्डौ । स्थानीय तहको निर्वाचनपछि सबै तहमा जनप्रतिनिधि आएका छन् । उनीहरुले काम गर्न थालेको १ वर्ष पुगिसकेको छ । यो १ वर्षमा स्थानीय तहमा के कसरी काम भइरहेको छ त ? क्लिकमाण्डुले नयाँ आर्थिक वर्ष २०७५\०७६ को शुरुवातबाट देशभरका स्थानीय तहले १ वर्ष भित्र के गरे र अब के गर्दैछन् भन्ने बारेमा विशेष श्रृङ्खला प्रारम्भ गरेको छ ।

यो विशेष श्रृङ्खलाको शुरुवातमा सुन्दर नगरी पोखरा :

देशका ६ महानगर मध्ये प्रदेश नम्बर ४ मा पर्ने एक मात्र महानगर हो पोखरा–लेखनाथ । पोखरा–लेखनाथ महानगरको मेयर हुन् मानबहादुर जीसी हुन् भने उपप्रमुख छिन् मञ्जुदेवी गुरुङ ।

१ वर्षमा के के भए त ?

पोखरा–लेखनाथ महानगरका मेयर मानवहादुर जीसीका अनुसार निर्वाचित भएर आउँदा ऐन कानूनको अभाव थियो । त्यसकारण काम प्रारम्भ गर्न समस्या भयो । बितेको १ वर्षमा २२ वटा जति कानून निर्माण भएका छन् । त्यसपछि यो १ वर्षमा महानगरबाट प्रविधि मैत्री सेवा प्रारम्भ भएको छ । महानगरका ३३ वटै वडाबाट प्रबिधि मैत्री सेवा शुरु गर्नुलाई ठूलै उपलब्धीको रुपमा लिन्छन् मेयर जीसी ।

त्यसैगरी, वडा स्तरबाटै १ हजार वर्ग फुटसम्मको घरको नक्सा पासको कामपनि प्रारम्भ भएको छ । १० देखि १५ लाखसम्मका योजना वडा कार्यालयबाटै तय गर्न थालिएको छ । राजश्व अनलाइन प्रबिधिबाट संकलन शुरु भएको छ । १६ वटा वडा कार्यालय सुबिधा सम्पन्न निर्माण भएका छन् भने बाँकी वडा कार्यालयलाई पनि सुबिधा सम्पन्न बनाइदैछ ।

मेयर जीसीका अनुसार, देखिने कामका रुपमा वितेको १ वर्षमा महानगर भित्रका ६ मिटर भित्रका ५० किलो मिटर सडकमा ढलान गर्ने कार्य सम्पन्न भएको छ । ३० वटा सडकको ट्रयाक खोलेर सडक सञ्जाल महानगरका सबै क्षेत्रमा पुर्याएको छ । साथै, छाडा पशु व्यवस्थापनको कामपनि पोखरामा प्रभावकारी ढंगले भइरहेको मेयर जीसीले बताए ।

कामका मुख्य प्राथमिकता

‘पोखरा–लेखनाथवासीको रहर, सुखी, खुशी र समृद्ध शहर’ भन्ने मूल नाराका साथ पोखरा–लेखनाथ समृद्धीको थप यात्राको मार्गमा अघि बढेको मेयर जीसीको भनाई छ । महानगरबाट प्रबिधि मैत्री सेवा दिने, ग्रीन सिटी निर्माण गर्ने, उद्दमशील शहर बनाउने र पोखरालाई पर्यटकीय शहर बनाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको उनले बताए ।

के–के छन् त गौरबका योजना ?

पोखरा यसैपनि सुन्दर छ, सुन्दरतालाई अझै अभिबृद्धी गराउँदै लैजानका लागि ५ वर्षे, १० वर्षे र २० वर्षे गुरुयोजना निर्माण गर्ने दिशामापनि अघि बढेको मेयर जीसीले बताए । विशेष गरी पोखरालाई पर्यटकीय शहर कै रुपमा विकास गर्ने सोच रहेको छ । त्यसका लागि पर्यटकीय पूर्वाधार निर्माण, ताल संरक्षण, फोहोर पानीलाई सफा बनाउने र भू–क्षय रोक्नका लागि ठूला–ठूला योजना शुरु गर्न लागिएको छ । यसलाई महानगरले गौरबका योजनाका रुपमा अघि बढाउन लागेको उनले बताए । यी गौरबका योजना निर्माणका लागि टेण्डर प्रक्रिया शुरु गर्न लागिएको मेयर जीसीले जानकारी दिए ।

जेष्ठ नागरिक भत्तामा २ सय थप

राष्ट्रिय रुपमा जेष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्तामा पोखरा–लेखनाथ महानगरले २ सय थप गरेर दिने गरेको छ । यस्तो कुरामा महानगरले आफैं निर्णय गर्न पाउँछ त ? भन्ने प्रश्नमा मेयर जीसी भन्छन्– हामी आफैँले श्रोत जुटाएर काम गर्न किन नपाउने ? त्यसकारण महानगरले निर्णय गरी थप रकम उपलब्ध गराइरहेको उनले बताए ।

पोखरा–लेखनाथ अब हुँदैछ पोखरा महानगरपालिका

तत्कालीन पोखरा उपमहानगर पालिका, लेखनाथ नगरपालिका र ६ वटा गाविस मिलेर पोखरा–लेखनाथ महानगरपालिका घोषित भएको थियो । तर, अब नाम परिवर्तन भई पोखरा महानगरपालिका मात्र हुने भएको छ । असार १० गतेको तेश्रो नगर सभाले पोखरा–लेखनाथ महानगरको नाम परिवर्तन गरी पोखरा महानगरपालिका मात्र बनाउने सर्वसम्मत निर्णय गरेको छ । अब, सम्बन्धित प्रदेश मन्त्रालयको शिफारिसमा मन्त्री परिषद्ले निर्णय गरेपछि छिट्टै नाम परिवर्तन भई पोखरा महानगरपालिका मात्र हुने मेयर जीसीले बताए ।

पोखरा–लेखनाथ महानगरपालिकाको संक्षिप्त विवरण

वि. सं. २०५२ माघ १८ गते उप–महानगरपालिका घोषित पोखराको क्षेत्रफल २२५.६५ वर्ग कि. मी. थियो । वि. सं. २०७३ फागुन २७ गते महानगरपालिका घोषणा भएको पोखरा–लेखनाथ महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ । पोखरा लेखनाथ महानगरपालिकाको कूल जनसंख्या ४ लाख २ हजार ९ सय ९५ छ । महानगरपालिकाको केन्द्र साबिक पोखरा उप–महानगरपालिका हो ।

तत्कालीन पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९), कास्कीकोट माझठाना (१,४,९) कालिका (१, ५) र पुरन्चौर गाबिस मिली कूल ३३ वटा वडामा विभाजित छ ।

पोखरा–लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वत र स्याङ्जा जिल्ला रहेको छ । उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा र तनहुँ जिल्ला रहेको छ ।


क्लिकमान्डु