अब नोटमा स्टीच लगाउन नपाइने, कागजले बण्डलिङ गर्नुपर्ने



काठमाडौं । अब नोटमा स्टीच लगाउन नपाइने भएको छ । नोटको गुणस्तर र सुरक्षालाई विशेष ध्यान दिँदै राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ देखि नोटमा स्टीच लगाउन नपाइने ब्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागेको हो ।

स्टीच लगाउँदा नोट छिट्टै झुत्रो हुने र त्यसले देशलाई अर्बौंको नोक्सान हुने भएकाले यस्तो नीति अबलम्बन गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदै पेपर, प्लास्टिक वा रबरको फित्ताबाट मात्रै नोटको प्याकेटिङ तथा बण्डलिङ गरी चलनचल्तीमा ल्याउने ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

राष्ट्र बैंकले यसअघि नै नोटमा स्टीच लगाउन नपाइने नीतिगत व्यवस्था गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन ।

यसअघि राष्ट्र बैंकले रबरले नोटका बण्डललाई बाँधेर बजारमा पठाउने गर्थ्यो । र, स्टीच हानिएका नोट पनि लिने गर्थ्यो ।

अब भने राष्ट्र बैंक आफूले पनि पेपरले बाँधेर मात्रै बजारमा नोट पठाउने र स्टीच गरिएका नोट नलिने राष्ट्र बैंकको नोट विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

‘मौद्रिक नीतिले पेपर, प्लास्टिक वा रबरको फित्ताबाट मात्रै नोडको बण्डलिङ गर्न पाउने ब्यवस्था गरेको छ,’ निरौलाले क्लिकमाण्डूसँग भने, ‘अबको एक/डेढ महिनाभित्र यो नीति पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।’

स्टीच लगाउँदा नोट एकदुई पटकमै झुत्रो हुने र रबरले बाँन्दा पनि नोट चाँडे झुत्रो हुने भएकाले पेपरले बाँधेर प्रयोगमा ल्याउन लागिएको उनले जानकारी दिए ।

‘हामीले नै बजारमा पेपरले बाँधेका नोटका बण्डल पठाउँछौं, त्यसपछि बैंकहरुलाई निर्देशन जारी गरेर यो नीति पूर्णरुपमा कार्यान्वयनमा ल्याउँछौं,’ निरौलाले भने ।

नोटको आयु जोगाउन यसो गर्न लागिएको उनको भनाइ थियो ।


पुष्प दुलाल