मोदीको बुलेट रेलको विरोधमा किन आन्दोलित छन् भारतीय किसान ?



काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको महत्वकांक्षी योजना मानिएको बुलेट ट्रेनलाई लिएर भारतीय किसान आन्दोलित बनेका छन् । मोदीले जापान सरकारको १७ विलियन डलर ऋणमा मुम्बईदेखि गुजरतसम्म बुलेट ट्रेन सञ्चालन गर्ने योजना बनाएका थिए ।

गुजरातका किसानले बुलेट ट्रेनका लागि सरकारले गरिरहेको जग्गा अधिग्रहणको विरोध गर्दै भारतको सर्वोच्च अदालतमा निवेदन दिएका छन् । गुजरात मोदीको गृह क्षेत्र हो । गुजरतमा मात्रै २५ सयभन्दा धेरै किसानले बुलेट ट्रेनको विरोध गरिरहेका छन् ।

दिल्ली मेट्रोका पूर्वप्रमुख समेत रहेका इञ्जिनियर श्रीधरनले हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तरवार्तामा बुलेट ट्रेन संभ्रान्त वर्गलाई लक्षित गरेर सञ्चालन हुने बताएका थिए । उनको यस्तो अभिव्यक्तिपछि किसानहरु संभ्रान्त वर्गको लागि आफ्नो जमिन नदिने बताईरहेका छन् ।

अत्याधिक लागतका कारण बुलेट ट्रेनमा गरिब र निम्न आय भएका व्यक्तिको पहुँच हुने संभावना न्युन देखिएको बताईन्छ । बुलेट ट्रेन सञ्चालनका लागि टे«न ट्र्याक भन्दा दायाँबायाँ १७ मिटर जमिन खाली गराउने योजनामा भारत सरकार रहेको छ ।

मुम्बईदेखि गुजरातसम्मको ५ सय किलोमिटर दुरी बुलेट ट्रेनले ३ घण्टामा तय गर्ने बताइएको छ । ७ सय ५० सिट क्षमताको यो रेलको लागि १२ वटा स्टेशन बनाउने बीबीसीले उल्लेख गरेको छ ।

भारतले बुलेट ट्रेन सन् २०२२ सम्ममा सञ्चालन गरिसक्ने छ । भारतमा अहिले दैनिक सवा दुई करोड मानिस रेल यात्रा गर्ने गर्छन् ।¬¬


पुष्प दुलाल