बिक्नै छाड्यो एफपिओ, समस्या मुल्य निर्धारणमा कि लगानीकर्ताको मनोविज्ञानमा ?



काठमाडौं । ‘अर्थमन्त्रीले नेप्से परिसूचक कति हुन्छ भनेर हेर्ने होइन,कम्पनीले पुँजी जुटाउनका लागि सेयर जारी गर्दा बिक्री नहुँदा सोच्ने हो’,केही दिन अगाडि अर्थमन्त्री डा युवराज खतिवडाले भनेका थिए ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने अन्तरवार्ताको खतिवडाले पुँजी जुटाउनको लागि जारी हुने सेयर बिक्री नभएमा मन्त्रीले सोच्नुपर्ने बताएका थिए ।

तर,सेयर बजारमा भने कम्पनीहरुले पुँजी जुटाउनको लागि जारी गरेको थप सार्वजनिक निष्कासन(एफपिओ) बिक्री नहुँने समस्या देखिएको छ ।

बुटवल पावर कम्पनी हुँदै एनएमबि बैंकले जारी गरेको एफपिओ बिक्री भएन । बुटवल पावरको एफपिओ अन्डरराइट गर्ने कम्पनीले खरिद गरे ।

कम्पनीको सेयर मुल्य दोस्रो बजारमा एफपिओमा प्रस्ताव गरेभन्दा तल झर्यो । एनएमबिको दोस्रो बजारमा एफपिओभन्दा बढी मुल्य भएपनि अन्तर बढी छैन ।

एनएमबिको पनि अब अन्डरराइट गर्ने कम्पनीले सेयर खरिद गर्नुपर्ने अवस्था छ ।
नेपाल बैंकलाई लगानीकर्ताले कसरी स्वागत गर्छन् त्यो भोलिदेखि स्पष्ट हुन्छ ।
एफपिओ प्रति लगानीकर्ताको सहभागीतामा अत्याधिक कम हुँदै गएको छ ।

कालिका सेक्युरिटीमा भेटिएका लगानीकर्ता रामप्रसाद अम्बगाई दोस्रो बजारमा कायम भएको मूल्यमा एफपिओ मुल्य पुगेको हुँदा लगानी गर्न मन नगरेको बताउँछन् ।

‘व्याजदर घटेको छैन,आपूर्ति बढी छ,सूचिकृत हुँदा एफपिओभन्दा तल मुल्य झर्ने हुादा उत्साह छैन’,उनले क्लिकमाण्डूसँग भने ।

कालिका सेक्युरिटीमा भेटिएका अर्का लगानीकर्ता दिपेन्द्र भट्टराईले बजार एफपिओको मुल्य बजारमा पाइनेभन्दा महंगो हुन थालेपछि स्वभाविक रुपमा लगानीकर्ताले लगानी नगर्ने बताए ।

धितोपत्र बोर्डले प्रिमियम मुल्यमा तय गर्ने एफपिओको मूल्यमा लगानीकर्ताले शंका गर्न थालेका छन् ।

धितोपत्र बोर्डका निर्देशक निरज गिरी बोर्डले नियममा रहेर एफपिओ जारी गर्न स्विकृति दिने बिक्री नहुँने वा नहुँने कुरा कम्पनीमा निर्भर हुने बताए ।

‘कम्पनीको सेयर बिक्री कसरी हुन्छ त्यो कम्पनीले कुरा हो,हामीले नियममा रहेर एफपिओ जारी गर्न दिने हो’बोर्डका निर्देशक गिरीले भने ।

क्रिष्टल कन्चनजंगामा रहेका लगानीकर्ता ऋषीराम खनाल भने धितोपत्र बोर्डको काम गर्ने शैलीले लगानीकर्ता तर्सिएको बताए । ‘बजारमा एकले अर्कालाई पछार्ने परिपाटी रहेमा एफपिओमा मात्र नभएर समग्र आर्थिक गतिबिधीमा यसको असर परेको छ,’ उनले भने ।

क्रिष्टल कन्चनजंगामै रहेकी लगानीकर्ता पुष्पा घिमिरेले एफपिओ भन्दा सस्तोमा लगानी गर्ने स्थान प्राप्त भएकाले लगानीकर्ताको ध्यान एफपिओमा नगएको बताइन् । ‘एफपिओको नाममा लगानीकर्तालाई उल्लु बनाइएको छ,’उनले भनिन् ।

अनलाइन सेक्युरिटीमा भेटिएका लेखनाथ निरौलाले भने एफपिओको मूल्य निकै चर्को रहेकाले मानिसको रुची घट्दै बताए ।


क्लिकमान्डु