‘भारतभन्दा पहिले चीनबाट काठमाडौंमा रेल आउँछ’



काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिक रुपमा चर्चा भएपनि ईन्जिनियरिङ र आर्थिक रुपमा चर्चा नभएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘रेल ल्याउने कुरा अहिले राजनीतिक रुपमा धेरै बहस भएको छ, रेल ल्याउनु ठूलो कुरा होईन, तर यसका आर्थिक पाटाका बारेमा पनि बहस तथा चर्चा हुनुपर्छ ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भारत र चीन दुवैबाट रेल आउने निश्चित भएको बताउँदै उपाध्यायले भने, ‘चीन र भारत दुवै देशको बोर्डरबाट अर्थात चीनको केरुङबाट काठमामाडौं पनि १०० किलोमिटर नै छ, भारतको रक्सौलबाट काठमाडौं आउनपनि १०० किलोमिटर नै लाग्छ, यसरी हेर्दा भौगोलिक विकटताको हिसाबले चीनबाट काठमाडौं आउने रेलको लागि अलिक बढि कठिनाई छ, अब काम गराईको गतिको हिसावले हेर्ने हो भने त चीन विश्वमै अघि छ, त्यसैले काम सुरु भयो भने चीनबाट काठमाडौं रेल चाँडो आउँछ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भारतमा अहिले चलेका रेलहरु पनि तिव्र गतिका नभएको स्पष्ट पारे ।

उनले भने, ‘अहिलेपनि भारतका रेलहरु तगडा छैनन, अब मोर्डनाईजेशन हुँदैछ ।’ भारत र चीन दुवैबाट रेल आउनु राम्रो कुरा भएपनि रेल विकल्पको साधन नभएको उनको भनाई थियो ।

उनले थपे, ‘ट्रेनसँगै हामीलाई सडकहरुपनि चाहिन्छन्, रेल आउँदैमा के–के नै भएकोजस्तो होईन, रेलको आवगमनसँगै भारत र चीन दुवै देशबाट पर्यटकहरु ल्याउनको लागि प्याकेज चाहिन्छ, अहिले खोई त प्याकेज ?’

विकास र समृद्धि हाँसिल गर्न नेपालको लागि अहिले महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै उनले भने,‘अहिले काम गर्ने अवसर छ, कुम्भकर्णबाट अहिले उठेको छ, कुम्भकर्णलाई झकझकाउन सकिएन भने फेरि ६ महिनापछि सुत्छ।’ लोकसेवाको अहिलेको सेलेबसमा समेत रेलको विषय समावेश नरहेको सुनाए । उनले भने,‘रेल ल्याउनु ठूलो कुरा होईन, यहाँपनि त्यही अनुसारको जनशक्ति चाहिन्छ, त्यतातिर ध्यान दिनुपर्छ।’

आफ्नै पैसाले रेल आए त गौरवको विषय हुने नभए के को गौरव भन्दै उनले प्रश्न गरे । उनले भने,‘रेल त आजभन्दा ५० वर्ष पहिले जनयनगर–जनकपुर नेपालले चलाएको हो नि।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले भारत र चीन दुवै देशबाट रेल ल्याउनेबारे समझदारी भएकोले कुन पहिले आउँछ भन्ने कुरा आफूहरुमै भर पर्ने बताए । उनले भने,‘आर्थिक उन्नती खोज्ने सरकारको सोच छ, प्रधानमन्त्रीको चीन भ्रमणको दौरान केरुङ हुँदै काठमाडौंसम्म रेल ल्याउने समझदारी बनेको छ, त्यसैगरि रक्सौलदेखि काठमाडौंसम्म भारतीय रेल आउने समझदारी भएको छ, कुन रेल पहिले आउँछ भन्ने कुरा हामीमै भर पर्छ।’

आफूहरु देशमा प्रशस्तै लगानी आओस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानले भने,‘प्रधानमन्त्रीको मुलुक समृद्ध बनाउने सपना पूरा होस्, सरकारलाई हरेक काममा सहयोग गर्न हामी निजी क्षेत्र सँधै तयार छौं, आज, भोलि र पर्सी सँधै हामी सरकारलाई साथ दिन्छौं, सरकारले पब्लिक÷प्राईभेट पार्टनरसिपको नीति लिएको छ, यो खुशीको कुरा हो।’

चिनियाँ कम्पनीहरुसँग हाईड्रोपावरबारे भएका सम्झौताहरु कार्यान्वनयको लागि सरकारले उचित कदम चाल्नुपर्ने समेत उनको सुझाव छ । उनले भने,‘यी सबै सम्झौताहरु दुई देशका सरकारमा भर पर्छ, सम्झौताहरु कार्यान्वयन हुनेमा हामी आशावादी छौं।’

उनले आफूहरुको नीति नै कमाउने ठाउँमा जम्प गर्ने भएकोले वर्तमान सरकारसँग धेरै नै आशा लिएको सुनाए । उनले भने,‘रेल र पानीजहाजपनि चलाउनुपर्छ, तर अहिले कृषिमा आत्मनिर्भर बनाउनुपर्छ भन्ने मेरो धारणा हो, किनकी कृषिमा लगानी गर्दा १२० दिनमै यसले प्रतिफल दिन्छ।’

कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सुनाउँदै प्रधानले अब जमिनको चक्लाबन्दी गरेर सरकारले २५ विघादेखि लिएर ४ वा ५ विघासम्म जमिन दिएर हामीलाई आह्वान गर्नुपर्छ, हामी कृषिमा देशलाई आत्मनिर्भर बनाउँछौं।’ यसले व्यापार घाटालाई समेत प्रतिस्थापन गर्न सकिने उनको विश्वास छ । उनले भने,‘अहिले हाम्रा जमिनहरु खाली छन्, युवाहरु विदेशिएका छन्, रेल र पूर्वाधारको लागि लगानी हेभ्भी चाहिन्छ, तर कृषिको लागि चाहिँदैन्।’

उनले सरकारलाई बिजनेश एटिट्युट लिनको लागि पनि सुझाव दिए । सरकारको काम आफूहरुले हेरिरहेकोले अझै केही समय अझै नतिजाको लागि कुर्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिले नै सरकारबाट निराश हुनुपर्ने अवस्था छैन, काम गराई हेर्नै बाँकी छ।’

ईन्जिनियरिङ एशोसियनका अध्यक्ष हरेराम श्रेष्ठले चिनियाँ रेल अनुदानमा ल्याउँदा राम्रो हुने स्पष्ट पारेका छन् । उनले भने,‘अहिले नेपालमा रेलको विषयमा बहस सुरु भयो, क्लबले बहस सुरु गरेको छ, म धन्यवाद भन्न चाहन्छु, चीनबाट रेल आउने संभावना छ, आर्थिक हिसाबलेपनि संभावना छ।’

नेपालमा स्विट्जरल्याण्डजस्तै पर्यटकीय ट्रेन सञ्चालन गर्न समेत सम्भावना रहेको उनको विश्वास छ । उनले भने,‘नेपालमा पनि प्रशस्तै सम्भावना छ, प्यासेन्जर एण्ड ट्रेडको लागि पनि रेल आवश्यक छ, तर नेपालको अहिलेको क्षमताले बनाउन सक्दैन्, सबैभन्दा राम्रो अनुदानमा बनाउँदा धेरै राम्रो हुन्छ।’

नेपालले आफ्नो संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष श्रेष्ठले अनुदानमै रेल ल्याएपनि नेपालले व्यवस्थापन गर्न नसके ट्रली बसकोजस्तै हालत हुने समेत खतरा औंल्याए ।

त्यस्तै मेरो घर डटकमका प्रमुख ईन्जिनियर होमनाथ पोखरेलले सरकारले भारत र चीन दुवै देशबाट रेल ल्याउने कुरा गरेपनि अहिले ठूलो रकम खर्च गरेर ल्याउनुको कुनै फाईदा नभएको बताएका छन् ।

उनले भने,‘अहिले सरकारले रेलका कुराहरु गरिहरेको छ, रेल सम्भव छ तर १०–१५ खर्ब खर्च गरेर रेल ल्याउनुको फाईदा केही छैन्, मैले देखेको त रेलभन्दा अरु धेरै कुराहरुको बारेमा सरकार गम्भिर बन्नुपर्छ, रेलको बारेमा अहिले हामीसँग कुनैपनि जनशक्ति छै्न, भाषण गरेरभन्दा काम गरेर देखाउनको लागि हार्दिक आग्रह गर्छु ।’

फरक प्रसँगमा उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्माण कार्यमा लापारबाही गर्नेलाई कारबाही गर्छु भनेपनि कारबाही गर्न नसकेको बताएका छन् ।

उनले भने,‘कुरा गरेर मात्रै हुँदैन, गृहमन्त्रीज्यूले विकास निर्माणको काममा ढिला सुस्ति गर्नेलाई कारबाही गर्छु त भन्नुभयो तर कारबाही गर्नुभएन।’


पुष्प दुलाल