७० करोड मान्छेलाई यसरी बनाइयो धनी



काठमाडौं । संसारकै ठूलो दोस्रो अर्थतन्त्र भएको मुलुकमा चीन कसरी उक्लन सफल भयो भन्ने बारेमा आम मानिसका फरक फरक सोचाई हुन सक्छन् । आफ्नो लगन र मेहनतमा नै चीन सफल भएको हो वा त्यस भित्र अन्य कारण पनि छन् भन्ने सोचाई पनि त्यससँगै आउन सक्छ ।

चीनको राजनीतिमा प्रभावकारी हस्तक्षेप तत्कालीन नेता माओत्से तुङले गरेका थिए । उनले राजनीतिक रुपमा क्रान्तिकारी उथलपुथल गरिदिएका थिए ।

तर आर्थिक श्रेय भने उनी पछिका अर्का नेता देङ सिआओ पिङलाई जान्छ । चीनलाई आर्थिक रुपमा सम्पन्न बनाउने श्रेय उनैलाई जान्छ ।

देङ सिआओपिङले चीनमा आर्थिक क्रान्ति शुरू गरेको सन् २०१८ मा ४० वर्ष पूरा भएको छ । यस बीचमा चीन आर्थिक उन्नतिको शिखरमा पुगेको छ । अमेरिकापछि अर्थतन्त्रमा ठूलो प्रभाव र हिस्सा राख्ने क्षमता चीनसँगै रहेको छ ।

आर्थिक क्रान्तिलाई माओकालीन क्रान्तिपछिको अर्को महत्वपूर्ण क्रान्तिका रुपमा लिइन्छ । आर्थिक सुधारपछि चीन विश्व अर्थतन्त्रमा दह्रो रूपमा प्रवेश गर्यो, जसमा देङको नीतिले काम गरेको देखिन्छ । ४० वर्षमा गरिब देशबाट चीन उन्नत देशका रुपमा विकास भयो । आज विकासको चरमचुली हेर्ने जो कोहीले पनि चीनलाई नै लिने गर्दछन् ।

आज चीन विश्वको यस्तो देश भएको छ जोसँग सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति अर्थात् ३.१२ खर्ब डलर रहेको छ । विविसिकाअनुसार चीन आज अमेरिकामाथि पनि हस्तक्षेप गर्न सक्ने अवस्थामा पुगेको छ । कारण ऊसँग रहेको आर्थिक हैसियत ।

कति छ लगानी ?

कुल गार्हस्थ उत्पादन ११ खर्ब डलर रहेको देश चीन हो । लगानी र उत्पादनका मामिलामा चीन विश्वको दोस्रो ठूलो देश हो । प्रत्यक्ष विदेशी लगानी आकर्षित गर्ने चीन विश्वको तेस्रो ठूलो देश हो । देङ सिआओपिङले सन् १९७८ मा आर्थिक सुधारका कदम चाल्दा विश्व अर्थतन्त्रमा चीनको हिस्सा जम्मा १.८ प्रतिशत थियो ।

सन् २०१७ मा आएर त्यो हिस्सा १८.२ प्रतिशत पुगेको छ । चीन अब केवल एउटा उदीयमान अर्थतन्त्र मात्रै रहेन, बरू १५औँ र १६औँ शताब्दीताका विश्व अर्थतन्त्रमा करिब ३० प्रतिशत आफ्नो हिस्सा भएको अवस्थातर्फ ऊ उन्मुख भइरहेको छ ।

चीनलाई शक्तिशाली बनाउने नेताहरूमा माओत्से तुङ, देङ सिआओपिङ र वर्तमान राष्ट्रपति सी जिनपिङको नाम आउँछ । देङ सिआओपिङ नेतृत्वमा भएको आर्थिक क्रान्तिको ४० वर्षपछि चीन एक पटक फेरि एउटा दह्रो नेतृत्व पाएर अघि बढिरहेको छ । सी जिनपिङ देशको अर्थतन्त्रलाई अझ प्रभावशाली बनाउन उत्पादनको क्षेत्रमा थप लगानी र वृद्धि गर्न चाहन्छन् ।

चिनियाँ सफलताको कथा दोस्रो विश्व युद्धपछिको एउटा देशको विकासको कथामा मात्रै सीमित छैन । बरू त्यो एउटा नियन्त्रित अर्थतन्त्रबाट मुक्त र उदारीकरणमा आएको परिवर्तनको पनि कथा हो ।

विश्वका कैयौँ देशले पनि चीनले अवलम्बन गरेको परिवर्तनलाई अपनाए । तर लोभलाग्दो सफलता चीनले मात्रै हासिल गरेको हो । चीनले घरेलु अर्थतन्त्रमा क्रमिक सुधारको प्रक्रिया थाल्यो न कि बजारलाई आफ्नो अर्थतन्त्र सुम्पिदियो ।

चीनले कुन क्षेत्रमा लगानी गर्ने, कुन क्षेत्रमा विदेशी लगानी ल्याउने, कुन क्षेत्रमा नगर्ने तथा कसरी कुन ढाँचमा लगानी भित्र्याउने भन्ने विषयमा समेत स्पष्ट नीति अगाडि सार्यो जुन सुधार ल्याउने क्रममा उसले कहाँ विदेशी लगानी गर्ने र कहाँ नगर्ने भन्ने विषयलाई अगाडि सार्यो त्यो नै सफलताको कारण बन्न पुग्यो ।

दक्षिण तटिय क्षेत्र आर्थिक समृद्धिको आधार

आज चीनले आर्थिक समृद्धिको आधार तयार पार्नुको पछाढि सांघाई, गोन्जाऊ जस्ता दक्षिण तटिय क्षेत्रलाई आर्थिक क्षेत्रको रुपमा अगाडि बढायो । उसले दक्षिणी तटीय प्रान्तहरूलाई रोज्यो ।

सबैभन्दा पहिले उनले सोभियत संघको आर्थिक ‘मोडल’लाई परित्याग गरे र चिनियाँ आवश्यकता अनुसारको अर्थतन्त्रमा आधुनिकीकरणलाई समाजवादका साथ अगाडि बढाए ।

चिनियाँ लेखक युकोन ख्वाङ आफ्नो पुस्तक ‘क्यार्किङ द चाइना कनन्ड्रमः ह्वाइ कन्भेन्सनल इकोनोमिक विज्डम इज रंग’ मा लेखेका छन, “देङ सिआओपिङ एक महान् सुधारक मात्रै थिएनन, धैर्य नभएका व्यक्ति पनि थिए ।’

देङ सिआओपिङले शुरू गरेको सामाजिक आर्थिक सुधारको दृष्टान्त मानव इतिहासमा भेटिँदैन । सन् १९७८ देखि २०१६ को बीचमा चीनको जीडीपीमा ३,२३० प्रतिशतले वृद्धि भएको छ । यसबीचमा ७० करोड मानिसहरू गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिसहरू मध्यवर्गका रूपमा उकासिए ।

चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्म चीन विदेशी व्यापारमा अगुवाको रूपमा उदायो । सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले दुई दिनमै गर्छ ।

देङ सिआओपिङले चिनियाँ कम्युनिष्ट पार्टीलाई सामूहिक नेतृत्वमा लगेर चीनमा सामाजिक आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए । माओका केही नीतिलाई लिएर सन् १९६० र ७० को दशकमा कैयौँ पटक झट्का बेहोरेपछि देङ सिआओपिङ सचेत भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्धलाई लिएर देङ सिआओपिङ केही सिद्धान्तका साथ अघि बढ्ने गर्दथे । उनी आफूलाई मात्रै महत्वका साथ अग्रपंक्तिमा राख्दैनथे ।

उनले आफ्नो पूरै ध्यान चिनियाँ अर्थतन्त्रलाई तीव्र गतिका साथ अगाडि बढाउनमा केन्द्रित गरेका थिए । हार्वर्ड विश्वविद्यालयमा सामाजिक विज्ञान पढाउने प्राध्यापक एज्रा फोगेलले देङ सिआओपिङको जीवनी लेखेका छन्।

उनले देङ सिआओपिङलाई अस्थिरतालाई रोक्दै स्थायित्व ल्याउन सक्ने क्षमता भएको एक महान् नेताका रूपमा चित्रण गरेका छन् ।

देशको अर्थतन्त्रमा भएको कायापलटसँगै चिनियाँ नागरिकमा आर्थिक सम्पन्नता मात्रै नआइ सत्तामा चिनियाँ कम्युनिष्ट पार्टीको पकड समेत मजबुत भएको छ ।

देङ सिआओपिङले प्रायशः ‘क्याट थ्योरी’को कुरा गर्दथे अर्थात् जबसम्म बिरालोले मुसा समातिरहन्छ तबसम्म बिरालोको रङ्ग कालो वा सेतो हुनुले अर्थ राख्दैन, त्यो राम्रो बिरालो नै कहलिन्छ । त्यही सिद्धान्तमा आधारित भएर सी जिनपिङले चीनमा औद्योगिक विकासको प्रस्ताव अघि सारे । त्यसका लागि उनले ’टु बर्ड थिअरी’ लाई अघि सारे ।

सन् २०१४ मा १२ औँ नेशनल पिपुल्स कंग्रेसलाई सम्बोधन गर्दै सी जिनपिङले भनेका थिए, पिँजडा खोलेर त्यसमा अब बूढो पंक्षी (अन्तिम सास लिइरहेका औद्योगिक संस्थानहरू) लाई कैद गर्न जरुरी छ । त्यही सिद्धान्तमा टेकेर चीन अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । त्यसअन्तर्गत सी जिनपिङले मौलिक प्रविधि र पर्यावरणको रक्षासँगै विकासमा जोड दिए।

को बन्ला नयाँ युगको नायक ?

चीनमा अब यो पनि प्रश्न उठिरहेको छ, चीनका अर्का नायक अब को हुन्छ ? गत वर्ष चिनियाँ न्याशनल पिपुल्स कंग्रेसले दुई कार्यकाल मात्रै राष्ट्रपति रहन पाउने संवैधानिक व्यवस्था अन्त्य गरेको थियो । योसँगै चीनमा समाजवादमाथि सी जिनपिङको मान्यताको शुरूवात भएको छ र त्यसलाई चीनको नयाँ युग भनिँदैछ ।

चिनियाँ कम्युनिष्ट पार्टीमाथि नियन्त्रण हुने व्यक्ति नै सबैभन्दा शक्तिशाली हुन्छ । हुन त आफ्ना विरोधीलाई पाखा लगाइदिएको सी जिनपिङमाथि आरोप छ । आफ्नो कार्यकालमा उनले सरकारी उद्योगमाथि नियन्त्रण बढाएका छन् ।

उदाहरणका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नियन्त्रणबाट सरकारी कम्पनीहरूलाई टाढा पार्दै व्यवस्थापकहरूलाई जिम्मा लगाएका छन् । सीको कार्यकालमा गैरसरकारी संघसंस्थाहरूमाथि पनि कडाइ गरिएको छ । कैयौँ मानव अधिकारकर्मी पक्राउ परेका छन् । सी जिनपिङका बुवा सी जङसङ सन् १९७८ मा ग्वाङडुङ प्रान्तका गभर्नर थिए ।

उनी देङ सिआओपिङ नेतृत्वको आर्थिक क्रान्तिमा पनि अग्रपंक्तिमा थिए । सन् २०१२ मा पहिलो आधिकारिक भ्रमणका क्रममा सी जिनपिङले ग्वाङडुङको शेनचेन पुगेका थिए । उक्त भ्रमणबाट उनले सामाजिक–आर्थिक सुधारमा कहीँ कतैबाट अवरोध उत्पन्न नहुने सन्देश दिन खोजेका थिए ।

चिनियाँ नेताहरूले केन्द्रको बलियो नियन्त्रण रहने खालको नेतृत्वमा जोड दिए पनि स्थानीय सरकार, निजी कम्पनी तथा विदेशी लगानीकर्ताबीच राम्रो सामञ्जस्य कायम राखेका छन् । विगतको तुलनामा सी जिनपिङले चीनमा सार्वजनिक–निजी साझेदारीमा बढी जोड दिएका छन् ।
सन् २०१४ पछि चीनमा वैदेशिक लगानीमा तीव्र वृद्धि भएको छ। सी जिनपिङले व्यापारको दायरा पूरै विश्वमा बढाएका छन् । महत्वाकांक्षी ठानिएको ‘वान वेल्ट वान रोड’ परियोजनामार्फत एसिया, युरोप र अफ्रिकालाई जोड्न लागिपरेका छन् ।

चीन सन् २००१ मा विश्व व्यापार संगठनमा जोडिन पुग्यो । त्यसयता विदेशी व्यापारलाई सहज बनाउन बेइजिङले ७ हजार जति आफ्ना नियमहरू खारेज गरिसकेको छ । सन् २०११ देखि चीनले करमा औसत १० प्रतिशतले कटौती गरेको छ ।

बीबीसीको सहयोगमा


पुष्प दुलाल