यसरी गर्छन् काठमाडौंमा  खाना र अचारको व्यापार



काठमाडौं । सहरको व्यस्त जीवनमा घरमा खाना खान समय मिलाउन नसक्ने धेरै मानिस छन् । बिहानैदेखि शुरु हुन्छ सहरिया मानिसको दौडधुप । त्यसकारण खाना खाने समय मिल्दैन र रेष्टुरेण्ट, होटल र फस्टफुडको खाना खानेहरु प्रसस्तै भेटिन्छन् सहरमा ।

दक्षिण एसियाली समाजमा होटल तथा रेष्टुरेण्टको खाना भन्दा घरमा पकाईएको खानालाई विशेष मानिन्छ । कुनै ठाउँमा स्वादिष्ट खाना खाईयो भने ‘घरको जस्तै खाना’ भन्ने प्रचलनपनि छ नि होइन ?

नियमित घरमा खाना खान फुर्सद नहुनेहरुले चिन्ता लिनु पर्दैन, अब उनीहरुले घर कै खाना खान सक्नेछन् । घरको टिफिन मार्फत । घरको टिफिन उपत्यकाभित्र माग अनुसार ताजा, तातो र हाइजेनिक खाना पुर्याउने काम गर्छ ।

घरको टिफिन तयार गर्छिन दिपा कालिकोटे र उनकी २६ वर्षिया छोरी अभिगल दर्नाल ।

यसअघि ब्युटीपार्लर चलाउने कालिकोटेलाई स्वास्थ्यले साथ दिन छाडेपछि  ब्युटीपार्लरको काम पनि छाड्नु पर्यो ।  आम्दानीको श्रोत ब्युटीपालर नै बन्द गर्नु परेपछि उनले विकल्पको रुपमा घरको टिफिन बनाउन थालिन । घरको आर्थिक समस्या समाधान गर्ने सरल आईडिया जन्माईन् छोरी अभिगल दर्नालले ।

‘ममी घरमा त्यत्तिकै बसिरहनु भएको थियो । उहाँ पहिल्यैदेखि खाना बनाउन पनि सौखिन मान्छे, त्यही भएरै हामीले घरको टिफिन चलाउने योजना बनायौं ।’ दर्नालले आमाको सौख र सिपले घरको टिफिनको जन्म भएको संकेत गरिन् ।
सधैँ घरमा परिवारका लागि पकाउने गरिएको खाना आज उनी कयौँ अपरिचित मानिसका लागि पनि पकाउँछिन् ।

खाना अर्डर आउँदासाथ ग्राहकलाई कालीकोटे कुनै स्वास्थ्य समस्या छ की छैन भनेर सोध्ने गर्छिन् । ‘मान्छेलाई विभिन्न थरी समस्या हुन्छ, पहिल्यै सोध्यो भने त्यही अनुसार खानामा मसला, तेल प्रयोग गर्न सजिलो हुन्छ ।’ ग्राहकको स्वास्थ्यबारे सोध्नुको कारण खुलाइन् कालिकोटेले ।

४२ वर्षीया कालिकोटेले जीवनको दोस्रो अध्यायमा आएर अर्थोपार्जनको नयाँ बाटोको रुपमा घरको टिफिन अपनाईन् । ‘छोरा र छोरीले डेलिभर र विज्ञापनमा सहयोग गरेका छन् । उनीहरुले यति सहयोग गरेपछि मैले पनि घरैमा खाना पकाएर बेच्ने हिम्मत गरेकी हुँ ।’ कालिकोटेले सुनाईन् ।

कालीकोटेका दाई भारतमा सेफ थिए । दाईबाट प्रभावित भएर आफुले खाना बनाउन सिकेको उनले बताईन् । फुर्सदिलो भएर बसेकी कालीकोटे आजभोलि बिहानदेखी खाना बनाउन र फेसबुकबाट ग्राहकको अर्डर लिन व्यस्त हुन्छिन् । कालीकोटेका छोरा अभिषेक दर्नाल र उनका साथी निरोज श्रेष्ठ स्कुटर लिएर खाना डेलिभर गर्न दौडिरहन्छन् ।

‘बिहानदेखि साँझसम्म खाना पकाउन र प्याक गर्न मै बित्छ’ कालीकोटेले सुनाईन् । अर्डर अनुसार शाकाहारी र मांसाहारी खाना तयार गर्ने गर्छिन कालीकोटे, उनलाई सघाउछिन् छोरी । ‘छोरीले तरकारी काट्ने, मसला तयार गर्छे मैले पकाउँछु ।’ कालीकोटेले हौसिदै सुनाईन् । शाकाहारी र मांसाहारी खाना पकाउनको लागि छुट्टा छुट्टै चुलो र भाँडा प्रयोग गर्ने गरेकोपनि कालीकोटेले बताईन् ।

घरको टिफिनको अर्को विशेषता हो टिफिन बक्समा खाना डेलिभर गर्नु । खाना तातो राख्न र खाने मान्छेलाई घर कै खाना खाएको अनुभूति दिलाउन आफुहरुले टिफिन प्रयोग गर्ने गरेको बताउँछिन् दर्नाल ।

अहिले घरको टिफिनमा दैनिक १० देखि ५ वटा अर्डर आउने गर्छन् । डाक्टर, व्यापारी र कर्मचारी घरको टिफिनका नियमित ग्राहक बनेका छन् । ग्राहकको छनौटका लागि भनेर घरको टिफिनले मेनु तयार गरेको छ । मेनु अनुसार ग्राहकले खाना रोज्न पाउँछन् ।

बबरमहलमा फ्ल्याटमा बसिरहेको कालिकोटेको परिवारका ४ जना मिलेर यो व्यापार गर्ने गर्छन् । शाकाहारी खानाको २ सय पचास र माशांहारी खानाको ३ सय ८५ रुपैयाँ मूल्य घरको टिफिनले तोकेको छ ।

घरको टिफिनमा कालीकोटे परिवारले आफुले घरमा जे खान्छ त्यही प्याक गर्ने गर्छ । घरमै बसेर केही गर्न सकिँदैन भन्नेहरुलाई कालीकोटेको जवाफ छ । ‘आफूमा गर्ने हिम्मत हुनुपर्छ, परिवारले साथ दिनुपर्छ जेपनि गर्न सकिन्छ ।’ निकट भविष्यमा कालिकोटेले एकल महिलाहरुलाई घरको टिफिनमा जोड्ने लक्ष्य लिएकी छिन् ।

अचार बिक्री गर्दा पनि राम्रो आम्दानी
घर मै बसेर अर्थोपार्जन गर्ने अरु विभिन्न तरिकापनि छन् । त्यस्तै एउटा तरिका हो । अचार विक्री गर्ने । बानेश्वरमा रहेको रोहन श्रेष्ठको परिवार लामो समयदेखि अचार व्यवसाय गरिरहेको छ । ४ जना सदस्य रहेको यो परिवारले बफ र चिकेनको अचार बनाएर विक्री गर्ने गर्छ ।

बीबीए अध्ययन गरिरहेका श्रेष्ठकी आमा कमला श्रेष्ठ र दिदी मुना श्रेष्ठले अचार बनाउँछन भने श्रेष्ठ र उनका साथी स्वरुप शाक्य मिलेर डेलिभर गर्ने गर्छन् ।
घरको अचार श्रेष्ठ परिवारको पार्टटाईम बिजनेस हो । अफिस र पढाईबाट बचेको समय निकालेर आफुहरुले अचार व्यवसाय गर्ने गरेको श्रेष्ठ बताउँछन् ।
‘हामीहरु कोही अफिस जान्छौ, कोही कलेज अनि बचेको समयमा अचार बनाउने गर्छौ ।’ श्रेष्ठले सुनाए ।

मासुको अचार कसरी बन्छ ?

चिकेन अचारको लागि हड्डी नभएको मासुलाई सफा गरेर फ्राई गरेर मसला मिसाएर एक दिन राखेपछि बेच्न योग्य हुन्छ । त्यस्तै बफ अचारको लागि भने मासुबाट नसा, छाला र अन्य अनावश्यक मासु हटाएर घाममा सुकाउनु पर्छ । सुकेको मासु फ्राई गरेर मसला राखेपछि अचार तयार हुने श्रेष्ठले सुनाए । कुनै पनि केमीकल प्रयोग नहुने भएकाले यो अचार ४५ दिनभित्र प्रयोग गरिसक्नुपर्ने पनि श्रेष्ठले बताए ।

अचार बनाउन नेपाली उत्पादन मात्रै प्रयोग गर्ने गरेको बताउँछन श्रेष्ठ । क्लिकमाण्डुसंग कुराकानी गर्दै श्रेष्ठ भन्छन्– ‘भिनेगर, मसला आदी सबै नेपाली प्रयोग गर्छौ । घर मै बनाउने भएकाले कुनै केमिकल र रंगपनि मिसाउँदैनौ ।’
घरमै बसेर पनि सानो व्यवसाय गर्न सकिन्छ भनेर आफुहरुले अचार व्यवसाय थालेको श्रेष्ठले बताए ।

बफ अचार आधा किलोको १ हजार र चिकेन अचार आधा किलोको १२ सय रुपैया लिने गरेको श्रेष्ठले बताए । अहिले दैनिक तीनदेखि छ बट्टा अचार विक्री गर्ने श्रेष्ठ परिवारले अचार विक्री गरेरै मनग्गे आम्दानी गरिरहेको छ ।

घरको टिफिन र घरको अचार दुवैले आफ्ना ग्राहकसंग सम्पर्कको लागि सामाजिक सञ्जाल प्रयोग गर्छन् । उनीहरुलाई अर्डरपनि सामाजिक सञ्जाल मै आउने गर्छ । सूचना प्रविधिमा पोख्त पछिल्लो पुस्ताले परम्परागत सिप र साधारण ठानिएका कुरालाई पनि व्यवसायको रुपमा विस्तार गरेका छन्, यस्तो जमात बढ्दो क्रममा रहेको छ ।


क्लिकमान्डु