ज्ञानेन्द्रलाल प्रधान भन्छन :यसकारण पञ्चेश्वर आयोजना बन्दैन



काठमाडौँ । उद्योगी ज्ञानेन्द्रलाल प्रधानले भारत सरकारको सहयोगमा बनाउने भनिएको पञ्चेश्वर जलविद्युत आयोजना निर्माण गर्न नसकिने जिकिर गरेका छन् ।

म्यानेजमेन्ट एशोसिएसनमा आयोजित कार्यक्रममा जलविद्युत सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्रधानले हालको मोडलमा पञ्चेश्वर जलविद्युत आयोजना निर्माण गर्न नसकिने बताएका हुन् ।

भारतले आफ्नो पानीको आवश्यकता पूर्ति गर्नका लागि उत्त आयोजना निर्माण गर्न खोजेको समेत उनले बताए ।

उनका अनुसार उक्त आयोजनाबाट ९५ प्रतिशत पानी भारतले नै प्रयोग गर्ने उदेश्य राखेको हुँदा त्यहाँ नेपालले आफ्नो सहभागिता खोजेर मूर्खता देखाएको आरोप समेत उनको थियो ।

‘पानी पनि भारत नै प्रयोग गर्ने, विद्युत पनि भारतबाट नै खरिद गर्ने भए पछि त्यसमा नेपालले लगानी किन गर्ने ? ’ उनले प्रश्न गरे ।

उनका अनुसार भारतले पञ्चेश्वर जलविद्युत आयोजनाबाट यमुना, राजस्थान हुँदै गुजरातसम्म नेपालबाट पानी लग्न खोजेको छ ।

भारतलाई पञ्चेश्वर विद्युतिय प्रयोजनको लागि भन्दा पनि पानीको प्रयोजनका लागि अति महत्वपूर्ण रहेको बताउँदै उनी भन्छन् ‘पञ्चेश्वर नेपालको भन्दा पनि भारतको आवश्यकता हो, त्यो उसलाई(भारत) निर्माण गर्न दिनुपर्छ । अहिले त्यहाँ हामीले(नेपाल) लगानी गर्नु हुँदैन ।’

उनले निजी क्षेत्रले यो परियोजना बनाउन नसक्ने र सरकारले मात्र बनाउन यसको लागि १ प्रतिशत ब्याजदरमा लिनुपर्ने बताए ।

उनका अनुसार दुई देशका सरकारी कर्मचारीमा चाहिनेभन्दा धेरै स्वाभिमान देखिने गरेको बताउँदै उनले भने ‘आयोजनाको अफिस कता राख्ने भन्ने विषयमा त विवाद हुने ठाउँमा कसरी त्यति ठूलो परियोजना निर्माण होला भनेर विश्वास गर्नु ?’

भारतीय र नेपाली कर्मचारीको अहंकारले नै पञ्चेश्वर परियोजना आजसम्म अगाडी बढ्न नसकेको बताउँदै उनी भन्छन ‘भारत र नेपालका कर्मचारी संयन्त्र फ्यासीलेसन भन्दा पनि रुलिगं गर्छन, र रुलिगं कहिल्यै पनि विकास निर्माणका लागि सहयोगी हुँदैन ।’

पञ्चेश्वर परियोजना निर्माणका लागि राजनीतिक तहमै सम्झौता गर्नुपर्ने बताउँदै उनी भन्छन् ‘भारत र नेपाल दुवै देशका सरकारी निकायलाई सहभागि नगरी नीजी कम्पनीलाई दिएमा ७ वर्षमा पञ्चेश्वर निर्माणसम्पन्न गर्न सकिन्छ ।’

एक अर्को प्रसंगमा प्रधानले चीन नेपालमा बेल्ट एण्ड रोड इनिसिटिभ्स(बिआरआई) अन्र्तगत लगानी गर्न इच्छुक रहेको पनि बताए ।

उनका अनुसार चीन अहिले रेल निर्माण गर्ने भन्दा पनि नेपालमा सडकमा लगानी गर्न धेरै इच्छुक छ । उनले चीन नेपाललाई कुनै पनि अवस्थामा ठूलो रकम ग्रान्ट नदिने समेत बताए ।

उनका अनुसार चीनबाट नेपालले कर्मसियल ऋण लिनुपर्छ । बेल्ट एण्ड रोड इनिसियटिभ्स अन्र्तगत पाकिस्तान लगायतका देशले ऋण लिएर विकास गरिरहेको दृष्टान्त पनि उनले प्रस्तुत गरेका थिए ।


क्लिकमान्डु