अर्थ मन्त्रालयले किन काट्यो यस्तो पत्र ? किन पुगे सबै फ्याक्ट्रीमा करका कर्मचारी




काठमाडौं । अर्थमन्त्रालय अन्तरगतको आन्तरिक राजस्व विभागले बजेट आउने दिन (जेठ १५ गते) सबै उद्योगलाई आफ्ना उत्पादन विक्री गर्न रोक लगाएको छ । बजेट आउने दिन भन्सार कार्यालय बन्द भएर आयात निर्यात बन्द हुने भएपनि आन्तरिक उद्योगहरुलाई आफ्ना उत्पादन विक्रीमा रोक लगाइएको यो पहिलो पटक हो ।

विभागले जेठ १५ गते आफू मातहतका सबै कार्यालयहरु र सबै करदाता सेवा कार्यालयहरुलाई पत्राचार गर्दै आआफ्नो कार्यक्षेत्र भित्रका उद्योगहरुबाट उत्पादित बस्तु विक्री गर्न नदिन पत्राचार गरेको हो ।

‘जेठ १५ गते आर्थिक बर्ष २०७५/०७६ को बजेट तथा आर्थिक ऐन जारी हुने भएकोले त्यस कार्यालयको कार्यक्षेत्र अन्तरगत भौतिक नियन्त्रण प्रणाली तथा स्वयं निष्कासन प्रणालीका वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुको मिति २०७५/०२/१५ गतेको सुरु मौज्दात परीक्षण र प्रमाणित गरी देहाय बमोजिमको ढाँचामा २ दिनभित्र पठाउनु हुन र मिति २०७५/०२/१५ गते उक्त वस्तुहरुको निष्कासन नगर्नु नगराउनु हुन निर्देशानुसार अनुरोध छ,’ विभागले आफू मातहतका कार्यालय र करदाता सेवा कार्यालयहरुलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा तयारी वस्तुहरु (मदिरा, चुरोट र सूर्तिजन्य) को विवरण, शक्ति, साइज, मौज्दात परिमाण र कैफियत खुलाएर पठाउन भनिएको छ । यस्तै मदिरा, चुरोट र सूर्तिजन्य वस्तुका कच्चा पदार्थ तथा अर्ध तयारी पदार्थको विवरण पनि सोही ढाँचामा पठाउन भनेको छ ।

यति मात्र होइन, विभागले अन्य प्रकारका बस्तुहरुको पनि विवरण मागेको छ । स्वयं निष्कासन अन्तरगतका अन्य तयारी बस्तुहरुको तयारी वस्तुको नाम, मौज्दात परिमाण र कैफियत पठाउन पनि पत्रमा भनिएको छ ।

किन पठाइयो यस्तो पत्र ?
सरकारले बजेट मार्फत करका दरमा परिवर्तन गर्ने वस्तुको बारेमा यस्तो ब्यवहार गर्ने गरेको छ । बजेटमा आयात निर्यात हुने वस्तुको भन्सार दर परिवर्तन हुने भएकोले सो दिन भन्सार कार्यालय बन्द गरेर आयात निर्यात रोक्का राख्ने गरिएको भएपनि आन्तरिक उत्पादनका बस्तुहरुको बारेमा यस्तो गर्ने प्रचलन नहरेको एक उद्योगीले बताए ।

‘आयात निर्यात हुने वस्तुको भन्सार दर परिवर्तन हुने हुनाले भन्सार कार्यालयहरु बन्द हुने गरेका थिए, अन्तशुल्क लाग्ने वस्तुहरुको अन्तशुल्क परिवर्तन हुने भएकोले पनि त्यस्ता वस्तुको बारेमा यस्तो पत्र लेख्ने गरिन्थ्यो, तर यसपाली अन्तशुल्क नलाग्ने आन्तरिक उत्पादनको हकमा पनि यस्तो ब्यवहार गरिएकोले केही परिवर्तन हुदैछ कि भन्ने हाम्रो पनि अनुमान हो,’ ती उद्योगीले क्लिकमाण्डूसँग भने ।

कर प्रशासनको यस्तो पत्रले अहिले कार्यान्वयनमा रहेको मूल्य अभिबृद्धि कर (भ्याट) को दरमा परिवर्तन हुने अनुमान गरिएको छ । अहिले १३ प्रतिशत भ्याट लाग्छ । यो दरमा केही परिवर्तन गर्दै १५ प्रतिशत पुर्याउने कि भनेर केही साता अगाडिदेखि नै अर्थमन्त्रालयको आन्तरिक छलफलमा कुरा उठ्दै आएको थियो ।

दुई बर्ष अगाडिको बजेट मार्फत भ्याटको दर बढाएर १५ प्रतिशत पुर्याउने चर्चा त्यो बेलै चलेको थियो । तर यसरी भ्याट परिवर्तन गर्नलाई भन्सार महसुल दरमा केही सहुलियत दिनुपर्ने आवाज अर्थमन्त्रालयमै उठेको थियो ।

‘कार्यान्वयनमा रहेको १३ प्रतिशत भ्याट दरलाई बढाएर १५ प्रतिशत पुर्याउने र कार्यान्वयनमा रहेको भन्सार दरलाई एक तह कम गर्ने भन्ने कुरा पहिला पनि चलेको हो, यसपालीको बजेट बनाउने अन्तिम समयसम्म पनि त्यो बहस भएको थियो, अब बजेट आउन केही घण्टा मात्रै बाँकी रहेकोले मेरो मुखबाट त्यो खुलाउन नलगाउनुस्, बजेट आएपछि तपाइ हामी सबैलाई थाहा भइहाल्छ नि,’ भ्याटको दरमा परिवर्तन गरिएको हो भन्ने प्रश्नमा अर्थ मन्त्रालयका एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने ।

भ्याटको दरमा परिवर्तन गरिएको वा नगरिएको, भ्याटको दर बढाइएको भए भन्सार महसुल दर एक तह कम गरिएको वा नगरिएको तथा भन्सार दर अहिलेकै कायम गरेर भ्याट दर बढाइएको वा नबढाइएको विषयमा ती अधिकारीले केही खुलाएनन् ।

सबै फ्याक्ट्रीमा करका कर्मचारी
विभागले यस्तो पत्र पठाएसँगै करका कर्मचारी सबै फ्याक्ट्रीमा पुगेका छन् । ती कर्मचारीले अहिले स्टकमा रहेका वस्तुको परिमाण, काटेका बिल जस्ता विवरण लिइरहेको एक उद्योगीले जानकारी दिए ।


क्लिकमान्डु