नयाँबानेश्वर र महाराजगञ्जमा सडकमुनी सडक, डिजाइन बनाउन ६ कम्पनी सक्षम



सांकेतिक तस्वीरः एविसीडटनेटडटएयु

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर र महाराजगञ्जमा बन्ने अन्डरपास (अहिलेको सडकमुनी अर्काे सडक) को डिजाइन बनाउन ६ वटा कम्पनी सक्षम देखिएका छन् ।

अन्डरपासको डिजाइन बनाउनका लागि चीनको बेइजिङ चाइना हाइवे इन्जिनियरिङ एण्ड कन्सल्टिङ तथा नेपाली कम्पनीहरु विल्डिङ डिजाइन अथोरिटी र विएन कन्सल्टेन्सी कम्पनी सक्षम देखिएका छन् ।

यस्तै नेपाली कम्पनीहरु सिभिल इफरमेटिक्स एण्ड सलुसन, जीइओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्ट, जीओसी–जीआइडीए–एपेक्स जेभी, आइटीइसीओ नेपाल जेभी सिएआरडी कन्सल्ट एण्ड होमल्याण्ड इन्जिनियरिङ कन्सल्टेन्सी, टीएसइ जेभी जिओकम इन्टरनेसनल एण्ड सिभिल इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्टेन्सी पनि सक्षम देखिएका हुन् ।

अन्डरपासको डिजाइन बनाउन इच्छा देखाएका १३ कम्पनीमध्येमा ६ वटा कम्पनी सक्षम देखिएको सडक विभाग अन्तरगतको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रभात कुमार झाले जानकारी दिए ।

‘महाशाखाकाको मूल्याङकन समितिले प्राविधिक तथा आर्थिक क्षमताको आधारमा ६ वटा कम्पनी छनोट गरेको हो, छनोट भएका कम्पनीलाई अन्डरपासको डिजाइन बनाउन लागि रिक्वेस्ट फर प्रपोजल (आरएफपी) माग गरिसकेका छौं’ इन्जिनियर झाले क्लिकमाण्डूसँग भने ।

महाशाखाले नयाँबानेश्वर र महाराजगञ्जमा बढ्दै गएको सवारी जामलाई न्युनिकरण गर्ने विकल्प स्वरुप अन्डरपास बनाउन खोजेको हो ।

महाशाखाले २०७४ पुसमा नयाँबानेश्वर र महाराजगञ्जमा अन्डरपास बनाउन इच्छुक कम्पनीको बारेमा जानकारी लिनका लागि एक्प्रेसन अफ इन्ट्रेस्स (इओआइ) आव्हान गरेको थियो । अन्डरपासको डिजाइन बनाउनका लागि १३ वटा कम्पनीले इच्छा देखाएका थिए ।

सक्षम देखिएका कम्पनीलाई महाशाखाले बैशाख १२ गते आरएफपी माग गरेको हो ।

छनोट भएका कम्पनीले ३० दिन भित्रमा आरएफपी बुझाउने छन् । ती कम्पनीहरुले बुझाएको आरएफपीका आधारमा महाशाखाले अन्डरपासको डिजाइन बनाउने कम्पनी छनोट गर्नेछ ।

अन्डरपास कस्तो हुन्छ ?
बिजुली बजारको धोवीखोला पुलदेखि बागमती पुलसम्मको साढे १ किलोमिटर र धुम्बाराई चोकदेखि बसुन्धारा चोकसम्म आधा किलोमिटर सडकमा अन्डरपास बनाउन लागिएको हो ।

नयाँबानेश्वर चोक र महाराजगञ्ज चोकको जाम छिचोल्नका लागि यी दुई स्थानमा अन्डरपास बनाउन लागिएको इन्जिनियर झाले बताए ।

बागमती पुलदेखि बिजुली बजारतर्फ जाने गाडी अन्डरपास हुँदै जाने छन् । शंखमूल वा पूरानो बानेश्वरतर्फ जाने सवारी साधनहरु अन्डरपास माथि गड्ने छन् । यसरी गाडी गुडाउँदा बानेश्वर चोकमा हालको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको अपेक्षा छ ।

यस्तै धुम्बाराही चोकबाट बसुन्धारा चोक जाने गाडी अन्डरपास भएर गुड्ने छन् । महाराजगञ्ज वा बूढानीलकण्ठ तर्फ जाने गाडी अन्डरपास माथि गुड्ने छन् ।

शंखमूल चोकबाट पुरानो बानेश्वर र महाराजगञ्ज चोकबाट बुढानिकण्ठतर्फ जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिनेछ । ती सवारी साधनहरु अन्डरपास माथि निर्माण हुने आकाशे पुल भएर गुड्ने छन् ।

अन्डरपासभित्र एक्जिट वे (बाहिर निस्किने बाटो) हुने छैन । एकपटक अन्डरपासभित्र गाडी छिरेपछि अन्डरपासको अन्तिम विन्दुमा पुगेर मात्र बाहिर निस्किन पाउछन् । अन्डरपासभित्र प्रवेश गर्नु अघि नै सवारी साधनहरुले आफ्नो गन्तव्य तय गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु