नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपास बनाउन इच्छुक कम्पनीको नाम एक साताभित्र टुङ्गो लाग्ने



काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपासको बनाउन इच्छुक कम्पनीको नाम एक साताभित्रमा टुङ्गो लाग्ने भएको छ ।

अन्डरपास निर्माण गर्न इच्छुक देखिएका कम्पनीहरुको नाम एक सातभित्रमा सार्वजनिक गरिने पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रभातकुमार झाले जानकारी दिए ।

‘अन्डरपास बनाउन इच्छा जाहेर गरेका कम्पनीको प्राविधि मूल्याङकन अन्तिम चरणमा पुगेको छ, मूल्याङकन समितिले एक साताभित्रमा अन्डरपास बनाउन सक्षम कम्पनीको नाम सार्वजनिक गर्नेछ,’ इन्जिनियर झाले क्लिकमाण्डूसँग भने ।

महाशाखाले काठमाडौंमा बढ्दै गएको सवारी जामलाई न्युनिकरण गर्ने विकल्प स्वरुप अन्डरपास बनाउन खोजेको हो ।

महाशाखाले २०७४ पुसमा नयाँ बानेश्वर र महाराजगंजमा अन्डरपास बनाउन इच्छुक कम्पनीको बारेमा जानकारी लिनका लागि एक्प्रेसन अफ इन्ट्रेस्स (इओआइ) आव्हान गरेको थियो । अन्डरपास निर्माणका लागि १३ वटा कम्पनीले इच्छा जाहेर गरेका थिए ।

अन्डरपास बनाउन इच्छा जाहेर गरेका १३ कम्पनीमध्ये सक्षम ठरिएका कम्पनीको नाम मूल्याङकन समितिले सार्वजनिक गर्नेछ । यी कम्पनीका नाम महाशाखाले सार्वजनिक सूचना मार्फत जानकारी दिनेछ ।

यसरी सार्वजनिक सूचनामा प्रकाशित भएको मितिको ७ दिनभित्रमा मूल्याङकन समितिबाट अयोग्य ठरिएका कम्पनीले दाबी विरोध गर्न सक्नेछन् ।

‘कम्पनीले आफू किन अयोग्य भएको भनेर प्रस्न गर्नका लागि ७ दिनको समय उपलब्ध गराइने छ, दाबी विरोधको छिनोफानो भएपछि छनोट भएका कम्पनीलाई रिक्वेस्ट फर प्रपोजल (आरएफपी) को लागि आव्हान गरिने छ,’ इन्जिनियर झाले भने ।

अन्डरपास कस्तो हुन्छ ?

बिजुली बजारको धोवीखोला पुलदेखि बागमती पुलसम्मको साढे १ किलोमिटर र धुम्बाराई चोकदेखि बसुन्धारा चोकसम्म आधा किलोमिटर सडकमा अन्डरपास निर्माण गर्न लागेको हो ।

बानेश्वर चोक र महाराजगन्ज चोकको जाम छिचोल्नका लागि यी दुई स्थानमा अन्डरपास बनाउन लागिएको इन्जिनियर झा बताउँछन् ।

‘बानेश्वर चोक र महाराजगंज चोक काठमाडौंको व्यवस्थ सडकमध्ये एक हो, यी दुई स्थानमा अन्डरपास निर्माण गर्न सकिए जामबाट धेरै राहत मिल्नेछ,’ इन्जिनियर झाले भने ।

बागमती पुलदेखि बिजुली बजारतर्फ जाने गाडी अन्डरपासहुँदै जानेछन् । शंखमूल वा पूरानोबानेश्वर तर्फ जाने सवारी साधनहरु अन्डरपास माथि गड्ने छन् । यसरी सवारी गड्डा बानेश्वर चोकमा सवारीको कारण ठूलो जाम नहुने महाशाखाको दाबी छ ।

यस्तै धुम्बराही चोकबाट बसुन्धारा चोक जाने गाडी अन्डरपास भएर गुड्ने छन् । महाराजगंज वा बूढानीलकण्ठ तर्फ जाने गाडी अन्डरपास माथि गुड्ने छन् ।

शंखमुल चोकबाट पुरानो बानेश्वर र महाराजगन्ज चोकबाट बुढानिकण्डतर्फ जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिने छ । ती सवारी साधनहरु अन्डरपास माथि निर्माण हुने आकाशे पुल भएर गुड्ने छन ।

अन्डरपासभित्र एक्जिट वे (बाहिर निस्किने बाटो) हुने छैन । एकपटक अन्डरपासभित्र गाडी छिरेपछि अन्डरपासको अन्तिम विन्धुमा पुगेरमात्र बाहिर निस्किन सकिन्छ । अन्डरपासभित्र प्रवेश गर्नु अघि नै सवारी साधनहरुले आफ्नो गन्तव्य तय गर्नुपर्ने हुन्छ ।


पुष्प दुलाल