श्वेतपत्रमा पूर्वअर्थमन्त्री महतको टिप्पणीः अर्थमन्त्री खतिवडाको ‘अनप्रोफेशनल नेगेटिभिटी’ (भिडियोसहित)



काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अनप्रोफेशनल’ ढंगले श्वेतपत्र लेखेको प्रतिक्रिया दिएका छन् । श्वेतपत्रमा कतिपय विषयहरुलाई सरल ढंले ब्याख्या नगरिएको उनले बताए ।

सोमबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै महतले विगतमा भएका सकरात्मक कामहरु लुकाएर डाटा म्यानुपुलेट गर्दै अर्थतन्त्रको नकरात्मक कुराहरु सार्वजानिक गरेको आरोप लगाए ।

‘अर्थमन्त्रीजीले सकेसम्म यो अर्थव्यवस्थालाई नकरात्मक देखाउने प्रयास गर्नुभएको छ,’ डा. महतले भने, ‘जुन तथ्यांक जसरी तानेर तुलना गर्दा अर्थतन्त्र कमजोर देखिन्छ, अर्थमन्त्रीजीले त्यसै गर्नुभएको छ । जुन अन प्रोफेसनल छ ।’

जुन जुन तथ्यांक ल्याउँदा अर्थनन्त्र विग्रेको देखिन्छ ती तथ्यांकहरु छानी छानी ल्याएर श्वेतपत्र तयार पारिएको महतले बताए ।

‘कुनै तथ्यांकलाई २ वर्षको, कुनैलाई ५ वर्षको, कुनैलाई १५ वर्षको र कुनैलाई २० वर्षको तथ्यांकसँग तुलना गरिएको छ, यो गलत छ,’ उनले भने ।


वितेका २५ वर्षमा व्यापार घाटा ४१ गुणाले बढेको श्वेतपत्रमा उल्लेख गर्नु तर, यसै अवधिमा ६२ गुणाले राजस्व बढेको कुरा भने उल्लेख नगरिनु अन प्रोफेशनल काम भएको महतले बताए ।

९० को दशकमा धेरै उद्योगहरु खुल्दा निर्यात बढ्यो र निर्यात-आयात अनुपात ५० प्रतिशत पुगेको उनले बताए ।

‘९०को दशकमा देशको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ६ प्रतिशतबाट बढेर १० प्रतिशत पुगेको थियो । अहिले आयात निर्यात अनुपात घटेर १० प्रतिशतमा आएको छ । उत्पादनमूलक उद्योगको अर्थतन्त्रमा योगदान ५/६ प्रतिशतमा झरेको छ ।’ उनले भने, ‘यी सकरात्मक कुराहरु लुकाइएको छ ।’

अर्थमन्त्री खतिवडाले श्वेतपत्रमा सरकारी ढुकुटी रित्तो जस्तै भएको भन्ने उल्लेख गरेका छन् । महतले त्यसमा असन्तुष्टि व्यक्त गरेका छन् ।

‘सरकारको ढुकुटी रित्तो भयो भनेर श्वेतपत्रमा भनिएको छ, मैले अहिले भर्खरै राष्ट्र बैंकबाट लिएको जानकारी अनुसार सरकारको ढुकुटीमा २ खर्ब ७१ अर्ब रुपैयाँ छ’ उनले भने ।

त्यस्तै, ट्याक्स र रेभिन्यूमा वितेका २५ वर्षमा नेपालमा जुन सुधार भएको छ, यो एशियन देशहरुमा नभएको दाबी गर्दै यस्ता सकरात्मक कुरा श्वेतपत्रमा उल्लेख नहुनु दुखद भएको बताए ।

‘हामीले २०४८ सालमा बजेट बनाउँदा कूल बजेटको ३५ प्रतिशत विदेशीसँग लिएका थियौं । अहिले १२/१४ प्रतिशत मात्रै लिन्छौं । हामी कसरी सेल्फ रिलायन्ट भएछौं । यस्तो सकरात्मक कुरा श्वेतपत्रमा देखाइएको छैन । खाली जहाँ बिग्रिएको छ, त्यो मात्रै देखाउन खोजिएको छ ।’ उनले भने ।

अर्थव्यवस्थामा भएका धेरै सकरात्मक पाटाहरुलाई छोप्ने प्रयास गर्नु दुखद भएको उनको भनाई थियो ।

‘अझै धेरै ठाउँमा बैंकहरु पुगेका छैनन् भनेर श्वेतपत्रमा भनिएको छ । तर, हामी हिँजो कहाँ थियौं र आज कहाँ आइपुग्यौं भन्ने कुरा उल्लेख गरिएको छैन । हिँजो त बैंकहरुको पहुँच ५ प्रतिशतमा पनि थिएन ।’ उनले भने, ‘विगतमा भएको प्रगतिलाई अर्थमन्त्रीले इग्नोर गरेर समस्या मात्रै देखाउनु भयो ।’


पुष्प दुलाल