हवाई टिकट खरिदमा बेथिति: परराष्ट्र मन्त्रालयले सार्बजनिक खरिद अनुगमन कार्यालयलाई टेरेन




काठमाडौं । परराष्ट्र मन्त्रालयले सार्बजनिक खरिद अनुगमन कार्यालयको निर्देशनको उल्लघन गरेको छ । कार्यालय अन्तरगतको सार्बजनिक खरिद पुनराबलोकन समितिले परराष्ट्र मन्त्रालयले टिकट खरिदको सम्झौता रद्द गर्न दिएको निर्देशन विपरित सोही कम्पनीसँग टिकट खरिद गरेर निर्देशन नटेरेको हो ।

मन्त्रालयले नेपालबाट हुने अतिविशिष्ट, विशिष्ट र आफ्ना कर्मचारीको विदेश भ्रमणको लागि आवश्यक हवाइ टिकट खरिद गर्न भन्दै गत असोज १८ गते बोलपत्र प्रकाशित गरेको थियो । यस्तो बोलपत्रमा सिलिंक र सुरुची ट्राभल्स एण्ड टूर सहभागी भएका थिए ।

मन्त्रालयले सिलिंकको बोलपत्र स्वीकृतिको लागि छनोट भएको भन्दै गत पुस २७ गते आशयपत्र जारी गरेको थियो । र, गत माघ १० गते सिलिंकसँग टिकट खरिद गर्ने सम्झौता गरेको थियो ।

तर, समितिले यी दुबै बोलपत्रदाताको योग्यता नपुगेको भन्दै सो बोलपत्र नै रद्द गर्न गत फागुन ११ गते परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । सो पत्रमा सिलिंकसँग सम्झौता गर्ने जिम्मेवार पदाधिकारीलाई कानुन अनुसार कारबाही गर्न भनिएको भए पनि मन्त्रालयले सोही कम्पनीसँग टिकट खरिद गरिरहेको पाइएको हो ।

‘श्री परराष्ट्र मन्त्रालयले प्रदान गरेको आशयपत्र उपर चित्त नबुझ्ने पक्षको यस पुनराबलोकन समितिमा निवेदन दिन पाउने हद म्याद बाँकी हुदाँहुदै र सर्बाेच्च अदालतको उपर्युक्त निर्देशनात्मक आदेश तथा सार्बजनिक खरिद अनुगमन कार्यालयको परिपत्र तथा सार्बजनिक सुचनाको जानकारी हुँदाहुँदै कानुन अवज्ञा गरी सम्झौता गरेकोले जिम्मेवार पदाधिकारीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने देखिन्छ,’ समितिले फागुन ११ गते मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

बोलपत्रमा यसरी बदमासी गरिएको थियो ।

मन्त्रालयले यसअघि २०७२ सालमा बोलपत्र प्रकाशन गरेको थियो । सो बोलपत्र अनुसार सिलिंक ट्राभल एण्ड टूर सो बर्षको लागि छनोट भएको थियो । प्रत्येक बर्ष यसरी बोलपत्र प्रकाशन गरेर प्रतिस्पर्धाको आधारमा टिकट खरिद गर्नुपर्ने बाध्यकारी कानुनी ब्यवस्था भएपनि मन्त्रालयले साढे १ बर्षपछि मात्रै अर्काे बोलपत्र प्रकाशन गरी सिलिंकसँगको कारोबार समय लम्ब्याएको थियो ।

तर अहिले पनि मन्त्रालयले सिलिंकसँग नै टिकट खरिद गरिरहेको बताइएको छ । सो बोलपत्र रद्द भएको जानकारी प्राप्त भएपनि यसअघि सम्झौता भएको कम्पनी भएका कारण सिलिंकसँग नै परराष्ट्रले कारोबार गरिरहेको अनौपचारिक जानकारी आएको सार्बजनिक खरिद अनुगमन कार्यालय स्रोतले बतायो ।

‘बोलपत्र रद्द गरियो भनेर पत्र पठाउनु भएको छ, पुरानो सम्झौताको आधारमा अहिले पनि सि लिंकसँग नै कारोबार गरिरहेको अनौपचारिक जानकारी पाएका छौं,’ कार्यालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरु यस बिषयमा जानकारी दिन पन्छिने गरेका छन् । बोलपत्र प्रकाशन गरी टिकट खरिदको ब्यवस्था मन्त्रालयको प्रशासन महाशाखाले गर्ने गरेको छ । सो महाशाखाका प्रमुख तापस अधिकारी यस बारेमा आफूलाई खासै जानकारी नभएको बताउँछन् ।

‘सार्बजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र रद्द गर्न भनेपछि रद्द भएको होला, अहिले कोसँग टिकट लिने गरिएको छ भन्ने मलाई जानकारी छैन,’ सहसचिब अधिकारीले भने ।

मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल पनि यस बिषयमा आफूलाई जानकारी नभएको बताउँछन् । र, उनले यसबारेमा प्रशासन महाशाखा प्रमुख अधिकारीसँग आफूले बुझ्नुु पर्ने बताए ।

‘बोलपत्र रद्द भएको होला, धेरै जानकारी मलाई छैन, तापसजी (प्रशासन महाशाखा प्रमुख तापस अधिकारी) सँग सोधेर मात्रै बताउँन सक्छु,’ पौड्यालले भने ।

दुबै सहसचिबले यसबारेमा जानकारी दिन नचाहे पनि मन्त्रालयले सिलिंकसँग नै टिकट खरिद गरिरहेको मन्त्रालय स्रोतले बतायो । सिलिंकसँग गरिएको यसअघिको सम्झौतामा अर्काे ब्यवस्था नभएसम्मको लागि पुरानै दरमा टिकट किन्ने भन्ने प्रावधान रहेको र सोही प्रावधानलाई टेकेर यस्तो कारोबार भइरहेको मन्त्रालय स्रोतको भनाइ छ ।

‘मन्त्रालयले योग्य देखेर सिलिंक छानेकै हो, सार्बजनिक खरिद पुनराबलोकन समितिले मात्रै रोकेको हो, त्यो बोलपत्र रद्द भएपछि अर्काे बोलपत्र प्रकाशन गरेर नयाँ कम्पनी छनोट नहुदासम्म पुरानो सम्झौताको आधारमा सिलिंकसँग टिकट खरिद गर्न पाइने भन्ने ब्यवस्था छ, त्यही कम्पनी चाहिएको हो भने पुरानै सम्झौताको आधारमा टिकट किन्न पाइरहेको अबस्थामा अर्काे बोलपत्र प्रकाशनको हतारो किन गर्नुपर्यो भन्ने जस्तो पनि देखिएको छ,’ मन्त्रालय स्रोतले क्लिकमाण्डूसँग भन्यो ।


क्लिकमान्डु