रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँड आज, तपाइलाई कति पर्ला ?




काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बाँडफाँड आज (शुक्रबार) हुने भएको छ ।

बाँडफाँडको समय भने तय भएको छैन । तर दुवै कम्पनीका सम्वद्ध अधिकारीले भने आज नै शेयर बाँडफाँड हुने जानकारी दिए ।

रसुवागढी हाइड्रो पावरका प्रमुख माधव कोइरालले शेयर बाँडफाँड आजै हुने जानकारी दिए ।

यस्तै साञ्जेन हाइड्रो पावरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका सञ्चार अधिकृृत उद्धव सिल्वालले शेयर बाँडफाँड आजै गरिने जानकारी दिए ।

सेयर आवेदकको सम्पूर्ण लगत तथा विवरण संकलन लगायतका आवश्यक गृहकार्य सकिएकोले बाँडफाँडको तयारी गरिएको हो ।

दुवै कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र दोस्रो चरणमा संस्थापक लगानीकर्ता समूहका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

सञ्चयकर्ताका लागि गत फागुन ११ देखि ३० गतेसम्म आवेदन दिने समय तोकिएको थियो । यस्तै, संस्थापक र ऋणदाता संस्थाका कर्मचारीका लागि यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने समय अवधि तोकिएको थियो ।

दुवै समूहका आवेदनकर्तालाई आज नै शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ ।

दुवै कम्पनीले माग गरेको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको शेयर विक्री प्रबन्धकले जनाएका छन् ।

दुवै कम्पनीमा सञ्चयकर्ताका लागि २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ४ लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्ट्याइएको थियो । ती आवेदनबाट ११ अर्ब रुपैयाँ संकलन भएको छ ।

रसुवागढीमा १ लाख ८८ हजार र सान्जेनमा १ लाख ८३ हजारभन्दा बढी सञ्चयकर्ताले आवेदन दिएका थिए ।

यस आधारमा न्यूनतम ७० र बढीमा १०० कित्तासम्म शेयर पाउने अवस्था देखिएको छ ।

आवेदक सबैले पाउने गरी बाँडफाँडको तयारी भइरहेको रसुवागढी कम्पनीका प्रमुख कोइरालाले बताए ।

सान्जेन जलविद्युत कम्पनीको सेयर खरिद गर्न आवेदन दिएका हरेक सञ्चयकर्ताले करिब ४० कित्ता सेयर पाउने भएका छन् ।

मागभन्दा झन्डै ६ गुणा बढी आवेदन परेकाले सेयर संख्या कम भएको हो । रसुवामा ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण भइरहेको छ ।

केही आवेदन रद्द भएकाले शेयर बाँडफाँडमा ढिलाइ भएको थियो ।

यस्तै कम्पनीले संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह) र ऋणदाता संस्थाका कर्मचारीका लागि निष्कासन गरेको शेयरमा १९ हजार १३३ जनाले आवेदन दिएका छन् । उनीहरूबाट ८१ करोड ७३ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ ।

रसुवागढीमा कोषका ५८५ कर्मचारीले आवेदन दिएका छन् ।

उनीहरूबाट ७ करोड ३८ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ । यस्तै, संस्थापक संस्थाका ८ हजार ९ सय ८६ कर्मचारीले दिएको आवेदनबाट ४३ करोड ९३ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ ।

यसैगरी, सान्जेनमा कोषका ५८५ कर्मचारीले आवेदन दिएका छन् । यसबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ ।

उता संस्थापक संस्थाका ८ हजार ९ सय ७७ आवेदकबाट २६ करोड ४२ लाख रुपैयाँ संकलन भएको छ ।


क्लिकमान्डु