भुक्तानी नहुँदा उखु किसान आर्थिक मारमा
वीरगञ्ज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले हालसम्म किसानलाई ४० करोड भुक्तान गर्न नसक्दा उखु उत्पादक किसान मारमा परेका छन् ।
उद्योगले बुधबारसम्म किसानबाट दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर एक अर्ब ३५ करोड भुक्तानी गरे पनि बाँकी किसानलाई ४० करोड दिन नसक्दा मारमा परेको सम्बद्ध किसानको गुनासो छ ।
हरिवन नगरपालिका–१ मा रहेको सो चिनी मिलमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले उत्पादन गरेका करिब ८७ हजार बिगाह क्षेत्रफलको उखु बिक्री हुँदै आइरहेको छ ।
नगदेबालीको रुपमा रहेको उखुखेतीतर्फ किसान व्यवसायिकरुपले खेती गर्दै आएकाले यस उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्षरुपमा ५५ हजार परिवार लाभान्वित हुँदै आएको चिनी मिल प्रशासनले जनाएको छ ।
विसं २०४२ मा स्थापना भएको सो उद्योगले चालू आर्थिक वर्षको हालसम्म ३६ लाख १५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ । नेपालमा वार्षिक सवा दुई लाख मेट्रिक टन चिनी खपत हुने गरेपनि उद्योगले यस वर्ष ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।
बत्तीस वर्षको लामो इतिहास बोकेको उद्योगले सबभन्दा बढी यसवर्ष उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष नेपालमा एक लाख २७ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो ।
प्रदेश नं २ मा छ वटा चिनी उद्योग सञ्चालनमा रहेको छ भने दुई वटा उद्योग निर्माणाधीन अवस्थामा छ । प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरिद गर्दैआएको चिनी मिलले यस वर्ष पाकिस्तान र बंगलादेशबाट चिनी नेपाल आइसकेकाले हालसम्म किसानलाई भुक्तानी दिन नसकिएको जानकारी दिंदै उपप्रबन्धक योगनारायण रजकले राससलाई भने, “आउँदो साउन मसान्तसम्ममा बाँकी रकम भुक्तान गरिने छ ।”
मिलले चिनी बिक्री भएपछि मात्र उखुको भुक्तानी दिने भनेकाले किसान आर्थिक मारमा परेका हुन् । सर्लाही जिल्लाको पश्चिमी नाकाबाट भारतीय उखु तस्करी भई आउने गरेकाले पनि लागतअनुसारको मूल्य किसान पाउन नसकेको उखु किसान राम कलेवर साह र शुभनारायण रायको गुनासो छ ।
किसानले ऋण काढेर उखुखेती गरे पनि चिनी मिलले समयमा उखुको भुक्तानी दिन नसक्दा उनीहरु ऋणमा डुब्ने गरेको बताइएको छ । रासस