ऊर्जाको निर्देशनपछि २१ सय मेगावाट क्षमताका आयोजनासँग पिपिए गर्ने तयारी



काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले थप २ हजार १०० मेगावाट क्षमताका आयोजनासँग विद्युत् खरिद सम्झौता गर्ने तयारी गरेको छ ।

प्राधिकरणले केही समय पहिलेदेखि रोकेको ‘टेक अर पे’ अर्थात् लिउ या तिर अवधारणामा रोकेको पिपिए पुनः सुरु गर्ने तयारी गरेको छ ।

ऊर्जा मन्त्रालयले यही माघ ४ गते गरेको निर्देशनात्मक परिपत्रका आधारमा थप पिपिएको तयारी गरेको हो ।

प्राधिकरणले यसअघि नै निजी ऊर्जा उद्यमीसँग ३ हजार ५०० मेगावाट क्षमताका आयोजनासँग पिपिए गरिसकेको छ ।

संकटकालीन कार्ययोजनामा नदी प्रवाही आयोजनाबाट ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाबाट २० प्रतिशत र जलाशययुक्त आयोजनाबाट ५० प्रतिशत विद्युत् उत्पादन गर्ने विषय समावेश गरिएको छ ।

प्राधिकरणमा अझै ५ हजार मेगावाट क्षमताका आयोजना पिपिएको प्रतिक्षासूचीमा रहेका छन् ।

जर्धजलाशय र जलाशयुक्त आयोजनामा मात्र पिपिए गर्ने अडान राख्दै आएको प्राधिकरण ऊर्जाको पछिल्लो निर्देशनपछि पुनः पिपिएका लागि तयार भएको हो ।

सरकारले २०७२ फागुन ६ गते जारी गरेको ऊर्जा संकटकालीन कार्ययोजनाअनुसार नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाबाट ३० प्रतिशत विद्युत् उत्पादन गर्ने जनाएको थियो । ऊर्जाको दिगो व्यवस्थापनका लागि नदी प्रवाही आयोजना भन्दा अर्धजलाशय र जलाशययुत्तः आयोजना नै प्रमुख प्राथमिकतामा रहने उल्लेख थियो ।

तर ऊर्जा उद्यमीको निरन्तरको आग्रहपछि थप २ हजार १०० मेगावाट क्षमताका आयोजनासँग पहिलो चरणमा पुनः पिपिए गर्न तयार भएको छ ।

ऊर्जा संकटकालीन कार्ययोजनाको सहयाक कार्ययोजनाको रुपमा तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले ल्याएको १० वर्षमा १७ हजार मेगावाटको अवधारणालाई आधार मानेर थप आयोजनासँग पिपिए गर्ने तयारी गरिएको हो । ऊर्जाले पनि सोही अवधारणाका आधारमा प्राधिकरणलाई निर्देशन दिएको हो ।

ऊर्जाबाट निर्देशन आएको अनौपचारिक जानकारी आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ । संकटकालीन कार्ययोजनामा नदी प्रवाही आयोजनाबाट ३० प्रतिशत, अर्धजलाशययुक्त आयोजनाबाट २० प्रतिशत र जलाशययुक्त आयोजनाबाट ५० प्रतिशत विद्युत् उत्पादन गर्ने विषय समावेश गरिएको छ ।

कार्ययोजनाअनुसार नै आवश्यक निर्देशन दिइएको ऊर्जा मन्त्रालयको भनाइ छ । ऊर्जाको प्रस्तावका बारेमा प्राधिकरण सञ्चालक समितिको बैठकमा छलफल गरेर निर्णय गर्नुपर्ने हुन्छ । सञ्चालक समितिले पारित नगरीकन पिपिए भने अगाडि बढ्ने छैन ।


क्लिकमान्डु