विद्युत् प्रणालीमा सुधार: भोल्टेजको समस्या हट्दै, एक अर्ब बराबरको राजस्व बढ्ने



काठमाडौं । विगतमा तपाईले घर तथा आवास क्षेत्रमा विद्युत्को भोल्टेज नपुगेर समस्या भएको र कुनै पनि समय बत्ती विद्युत् खपत गर्ने मेशिन चलाउन समेत नपाएर हैरान हुनुभएको थियो होला ।

तर पछिल्ला दिनमा ती समस्या क्रमशः घट्दै गएका छन् । त्यसको कारण हो नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका विभिन्न क्षेत्रमा एक पछि अर्को गर्दै प्रसारण प्रणाली तथा ट्रान्सफर्मरको क्षमता वृद्धि गर्दै लगेको छ ।

प्राधिकरणले ट्रान्सफर्मर, कन्डक्टर, ग्रीड तथा सवस्टेशनको समेत क्षमता वृद्धि गरेको छ ।

यस्तै बढी भोल्टेज आउने र कम भोल्टेजको समस्या समेत समाधान गरिरहेको छ । प्राधिकरणकाअनुसार हालसम्म देशभरका १० वटा सवस्टेशन तथा २५ प्रसारण प्रणालीको स्तोरन्न्ती गरिसकेको छ ।

प्राधिकरणले औद्योगिक कोरिडोर, बढी लोड भएका क्षेत्र पहिचान गरी युद्धस्तरमा विद्युतीय प्रणालीलाई समयानुकुल परिवर्तन गर्दै लगेको छ ।

सेवाग्राहीलाई सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ प्रसारण प्रणाली तथा सवस्टेशनको स्तारोन्न्ती गरेको हो ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा ‘ग्रीड सबस्टेसन सुदृढीकरण आयोजना’ ले देशभरका सवस्टेशन तथा प्रसारण प्रणालीको स्तारोन्न्ती गरेको हो ।

प्राधिकरणकाअनुसार पहिलो चरणमा १३२/३३, ६६/११ र ३३/११ केभी क्षमताका सबस्टेसनमा नयाँ ट्रान्सफर्मर जडान गरी क्षमता बढाइएको छ ।

काठमाडौंको चपली, बानेश्वर, बालाजु तथा स्यूचाटारको सवस्टेशन समेत स्तारोन्नती गरिएको छ । गण्डक, बुटवल, भरतपुर र ढल्केबर सबस्टेसनको समेत स्तारोन्नती भइसकेको छ ।

यस्तै बनेपा लाहान र कावासोतीको समेत सवस्टेशनमा नयाँ प्रणाली जडान गरिएको छ । सबस्टेसन स्तरोन्नतीपछि देशभरको वितरण प्रणालीमा सुधार आउँदा विद्युतको माग र आपूर्ति व्यवस्थापन सहज भएको छ । अनियमित रुपमा कटौती हुँदै आएको विद्युत् प्रणालीमा सुधार आएपछि करिब १ अर्ब बराबरको राजस्वमा समेत वृद्धि हुने प्राधिकरणको विश्वास छ ।

सेवाग्राहीले सहज रुपमा विद्युत् सेवा पाएपछि त्यसबाट राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने भन्दै प्राधिकरणले औद्योगिक कोरिडोर, बढी लोड भएका क्षेत्र पहिचान गरी युद्धस्तरमा विद्युतीय प्रणालीलाई समयानुकुल परिवर्तन गर्दै लगेको छ ।

सेवाग्राहीले कुनै पनि गुनासो नगरुन् भन्ने ध्येयका साथ प्रक्रिया युद्धस्तरमा अगाडि बढाइएको र जिम्मेवार संस्थाको रुपमा प्राधिकरणलाई स्थापित गराउने प्रयासमा लागेको प्राधिकरणका अधिकारीको भनाइ छ ।

भोल्टेजको समस्या समाधान गर्न प्राधिकरणले औद्योगिक कोरिडोरमा भोल्टेज कन्ट्रोलर राख्नसमेत भनेको छ । यस्तै कुनै स्थानमा भोल्टेजमा समस्या आए प्राधिकरणलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

‘हामी स्वच्छ र प्रभावकारी सेवाका लागि निरन्त्र प्रयासरत छौ । नागरिकले पनि सहयोग गर्नु जरुरी छ । समस्या आएको छ भने तत्काल प्राधिकरणमा सम्पर्क गर्नुस्’-प्राधिकरणको प्रसारण निर्देशनालयले आग्रह गरेको छ ।


क्लिकमान्डु