काठमाडौं १०ः राजन केसी र हितमान शाक्यको यस्तो छ चुनावी अंक गणित



काठमाडौं । मौनअवधि शुरु हुन लागे पनि विभिन्न राजनीतिक दलका उम्मेदवारलाई मतदातासम्म पुग्ने चटारो भने उस्तै रहेको छ ।

यस्तै चटारोका बीच काठमाडौं क्षेत्र नं १० का उम्मेदवार पनि आजको दिनलाई बढीभन्दा बढी सदुपयोग गर्न लागिपरेका छन् ।

सो क्षेत्रमा बाम गठन्धनका तर्फबाट हितमान शाक्य र नेपाली काँग्रेसका तर्फबाट युवा तथा खेलकुदमन्त्री समेत रहेका राजन केसी चुनावी प्रतिस्पर्धामा छन् ।

संविधानसभाको पहिलो निर्वाचनमा सो क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन जितेका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा राजन केसीसँग पराजित भएका थिए ।

अध्यक्ष दाहाललाई केसीले पराजित गर्दा केसी निकै चर्चित बनेका थिए । यस पटकको चुनावलाई आंकलन गर्ने पनि सो क्षेत्रमा वाम गठबन्धन र काँग्रेसबीच नै खास अर्थमा चुनावी प्रतिस्पर्धा हुने बताएका छ ।

एमालेका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्र मानन्धर वाम गठबन्धनका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक रहेका छन् । उनी समानुपातिक उम्मेदवार हुन् ।

एमाले र माओवादीबीच चुनावी तालमेल गर्दा सो क्षेत्र माओवादीको भागमा परेपछि मानन्धर समानुपातिकतर्फ बसेका हुन् । वाम गठबन्धनले प्रदेशसभातर्फ ‘क’ मा दिलीप मर्हजन र ‘ख’ मा रमा आलेमगरलाई उम्मेदवार बनाएको छ ।

काँग्रेसले प्रदेशसभा ‘क’ मा पुकार महर्जन र ‘ख’ मा धर्मनन्द श्रेष्ठलाई अगाडि सारेको छ । यस्तै नयाँ शक्ति नेपालका तर्फबाट पञ्चलाल मर्हजनलाई उम्मेदवार बनाइएको छ । यस्तै प्रदेशसभा ‘क’ बाट केशरत्न ब्रजाचार्य र प्रदेसभा ‘ख’ मा होमप्रसाद रिमाल उम्मेदवारी दिएका छन् ।

यस्तै विवेकशील साझा पार्टीबाट प्रतिनिधिसभामा प्रदीप ढकाल र प्रदेशसभा ‘क’ देवबहादुर मर्हजन र प्रदेशसभा ‘ख’ मा एलिशा महर्जनलाई मैदानमा उतारेको छ । सो क्षेत्रमा प्रतिनिधिसभामा स्वतन्त्रसहित १५ उम्मेदवार मैदानमा छन् भने प्रदेशभातर्फ कुल १४ उम्मेदवार मैदानमा छन् ।

काँग्रेसका तर्फबाट सो क्षेत्रका उम्मेदवार राजन केसी घरदैलो र कार्यकर्ता भेटघाटलगायतका काम सकिएको र मौनअवधि शुरु हुनु अगाडिसम्म निर्वाचन केन्द्रित काममा नै सरिक हुने बताउँछन् ।

आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक सम्हालेको जानकारी दिँदै केसीले आफू स्थानीय पनि भएको र मतदाताले फेरि पनि आफूलाई मतदान गर्ने विश्वासमा उनि रहेका छन् ।

“मलाई सम्पूर्ण मतदाताको घर कता फर्केको छ, को को घरमा छन् भन्ने पनि थाहा छ, मैले ती सबै मतदातालाई भेटें र मत दिन आग्रह गरेको छु” केसीले भने ।

उता वाम गठबन्धनका उम्मेदवार शाक्यले पनि काठमाडौँ दश आफ्ना लागि नयाँ क्षेत्र नभएको र वामपन्थी शक्तिको विगतदेखि कै आधारभूमि भएकाले जित निकाल्न कुनै समस्या नभएको दाबी गरेका छन् ।

संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट विजयी भएका शाक्य संविधानसभा दोस्रो निर्वाचनमा भने मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा लागेका कारण चुनावमा सहभागी भएनन् ।

स्थानीय नेतासमेत रहेका प्रदेशसभाका ‘क’ का उम्मेदवार दिलीप महर्जन वामपन्थी शक्तिको आधारभूमि भएको, स्थानीय जनताको माग र अपेक्षाको समेत वाम गठबन्धनले सम्बोधन गर्ने भएकाले आफूहरुको जित सुनिश्चित भएको दाबी गर्छन् ।

सो निर्वाचन क्षेत्रमा कीर्तिपुर र दक्षिणकाली नगरपालिका सबै वडा र चन्द्रागिरि नगरपालिकाका ११ वडा पर्दछ ।

कीर्तिपुरमा वाम गठबन्धनको ११ हजार ३६९ मत छ भने काँग्रेसको ६ हजार ६१६ मत पाएको छ । दक्षिणकालीमा ६ हजार ७४९ वाम गठबन्धनले ल्याउँदा काँग्रेसले ४ हजार ६९८ मत पाएको थियो ।

यस्तै चन्द्रागिरिमा पनि स्थानीय तह निर्वाचनमा काँग्रेसको भन्दा बढी मत वाम गठबन्धनले पाएको छ । सो निर्वाचन क्षेत्रमा ७१ हजार २०१ मतदाता छन् ।

राष्ट्रिय जनमोर्चा, नेपालका प्रतिनिधिसभातर्फका उम्मेदवार गणेश कुँवरले उम्मेदवारी नै त्यागेर वाम गठबन्धनलाई समर्थन गरेका छन् । सो पार्टीका तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका उम्मेदवारले वाम गठबन्धनका उम्मेदवारलाई नै समर्थन गर्ने जनाएका छन् ।

जनमोर्चाका नेता कुँवरले राष्ट्रिय आवश्यकताका आधारमा बनेको वाम गठबन्धनलाई सहयोग गर्ने र विजयी गराउने लक्ष्यसहित आफू र आफ्नो पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको बताए ।

समानुपातिकतर्फका उम्मेदवारसमेत रहेका सुरेन्द्र मानन्धर वामपन्थी जनमत नै बढी भएका कारण काठमाडौं १० मा आफूहरुको विजय सुनिश्चित रहेको बताउँछन् ।

वाम तालमेलपछि काठमाडौं १० का मतदातामा समेत नयाँ उभार आएको छ” मानन्धरले भने । तर काँग्रेसका उम्मेदवार केसी भने वाम गठबन्धनले आफूलाई केही फरक नपार्ने दाबी गर्छन् । केसीले आफू निर्वाचित भएपछि सो निर्वाचन क्षेत्रमा ३१ वटा ठूला परियोजना सम्पन्न भएको, चालु आवमा ६३ वटा आयोजना रातो किताबमा पार्न सफल भएको र १२ वटा ठूला परियोजना अगाडि बढाएका कारण स्थानीयले विजयी गराउने दाबी गरे ।

काँग्रेसका तर्फबाट प्रदेशसभा ‘क’ का उम्मेदवार पुकार महर्जन काँग्रेसको लोकतन्त्रप्रतिको प्रतिवद्धता र विश्वासलाई जनताले अनुमोदन गर्ने बताउँ छन् । नयाँ शक्तिका उम्मेदवार पञ्चलाल मर्हजन जनताले नयाँ राजनीतिक शक्ति खोजेका कारण यसपटक काठमाडौं १० मा आफ्नो पार्टीको विजय सुनिश्चित रहेको दाबी गरे । तर स्थानीय भने वाम गठबन्धन र काँग्रेसबीच नै खास प्रतिस्पर्धा हुने बताउँछन् ।

कीर्तिपुर नपा–३ का मतदाता राम मानन्धर ठूला पार्टीका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने आफूलाई लागेको बताउँछन् । आज मध्यरातसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने भएकाले राजनीतिक दलका उम्मेदवारले आजै चुनावी अभियानलाई मैजारो गर्ने भएका छन् । रासस


क्लिकमान्डु