तयार भयो कार्यविधि, यसरी हुन्छ अब मार्जिन कारोबार




काठमाडौं । धितोपत्र दलाब ब्यवसायीले मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुझाएका छन् ।

थोरै पुँजी भएका लगानीकर्ताले बजारमा उत्पन्न हुने उचार चढाबबाट लाभ लिन सकुन भन्ने उद्देश्यले संचालन गर्न लागिको मार्जिन कारोबार सुबिधा यो कार्यविधि लागू भएपछि संचालनमा आउने छ ।

धितोपत्र दलाल ब्यवसायीहरुको संस्था स्टक ब्रोकर एसोसिएसनले कार्यविधिको मस्यौदा तयार पारेर बुझाएको नेप्से स्रोतले जानकारी दियो । नेप्सेले सो कार्यविधि स्वीकृत गरेर धितोपत्र बोर्डमा पठाउने छ । बोर्डले पनि कार्यविधि स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।

मार्जिन कारोबारका लागि अनुमति

कार्यविधिमा मार्जिन कारोबार सुविधा उपलब्ध गराउन ईच्छुक सदस्य व्यवसायीले नेप्सेबाट पूर्वअनुमति प्राप्त गर्नु पर्ने ब्यवस्था प्रस्ताव गरिएको छ । यस्तै कारोबार सदस्यले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन तोकिएको ढाँचामा नेप्सेमा निवेदन दिनु पर्नेछ ।

अहिले मार्जिन कारोबार सुविधा उपलब्ध गराउने कारोबार सदस्यको खुद सम्पत्ति कम्तिमा पाँच करोड रुपैयाँ हुनु पर्ने प्रस्ताव गरिएको छ । नेप्सेको सदस्यता नबीकरण गरेका कारोबार सदस्यले मात्रै मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने छन् ।

कारोबार सदस्यबाट प्राप्त निवेदन तथा कागजात जाँचबुझ पश्चात सन्तोषजनक देखिएमा नेप्सेले मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमति प्रदान गर्न सक्नेछ र सोको जानकारी बोर्डलाई समेत गराउनु पर्नेछ ।

योग्य धितोपत्रमा मार्जिन कारोबार सेवा

यस्तै मार्जिन कारोबार सेवा उपलब्ध गराउन अनुमति प्राप्त कारोबार सदस्यले आफ्ना लगानीकर्तालाई नेप्सेले तोकेको धितोपत्रमा मात्रै मार्जिन कारोबार सुविधा दिनु पर्ने प्रस्ताब मस्यौदामा गरिएको छ ।

सम्झौता गर्दा लगानीकर्ताले एक ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्ने

मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदा कम्तिमा १० हजार सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति ऋणात्मक नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा सम्पन्न गरेका कम्पनीको सेयरमा मात्रै यस्तो सुबिधा दिइने प्रस्ताव कार्यबिधिमा छ । तर, योग्य सबै कम्पनीहरुको सेयरमा मार्जिन कारोबार सुविधा प्रदान गर्न भने ब्रोकर वाध्य हुने छैनन् ।

बार्षिक सूची बन्ने

नेप्सेले प्रत्येक आर्थिक बर्षका लागि मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्ने भनिएको छ । यसरी तोकिए बमोजिम तयार गरिएको सूचीलाई नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको ७ महिनाभित्र अद्यावधिक गर्ने भनिएको छ । सूची अध्यावधिक गर्दा कुनै कम्पनी मौजुदा सूचीवाट हट्न गएमा त्यस्तो कम्पनीका लागि प्रदान गरेको मार्जिन सुविधा दश कार्य दिन भित्र राफसाफ गर्नु पर्ने प्रस्ताव मस्यौदामा छ ।

सुरु मार्जिन

सदस्य ब्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मुल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनु पूर्व नै सुरु मार्जिनको रुपमा लिनु पर्ने प्रस्ताव गरिएको छ ।

तर धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य ब्यवसायीले ५० प्रतिशत भन्दा बढि प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने बाटो पनि खुल्ला राखिएको छ ।

सम्भार मार्जिन

सदस्य व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर लगानीकर्ताबाट सुरु मार्जिन कायम राख्न लगाउनुपर्ने ब्यवस्था गरिएको छ । सदस्य व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम ४० प्रतिशत सम्भार मार्जिन माग गर्न सक्ने ब्यवस्था पनि राखिएको छ ।

लगानीकर्ताले सम्भार मार्जिन कायम नगरेमा सदस्य व्यवसायीले आफनो लेना असुलउपर गर्ने हदसम्मको धितोपत्रहरु बिक्री गरी बाँकी रहेको धितोपत्रहरु निजको हितग्राही खातामा हस्तातरण तथा नगद बाँकी रहेमा लगनीकर्तालाई चेक मार्फत रकम भुक्तानी दिनु पर्ने ब्यवस्था गरिएको छ ।

मार्जिन कल

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन ४० प्रतिशत भन्दा तल आएमा सदस्य ब्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्ने भनिएको छ । यस्तो मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि कायम गर्नु पर्ने भनिएको छ ।

वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राहि खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।

मार्जिन कल गरेको दोस्रो कार्यदिन भित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि नपु¥याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन ४० प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य ब्यवसायीले दोस्रो कार्यदिनमा वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्रि गर्न सक्ने बाटो भने खुल्ला गरिएको छ ।

सूचित गरेको ७ कार्य दिनभित्र उक्त धितोपत्र बापतको मार्जिन ऋण चुक्ता नगरेमा ब्रोकरले सेयर बिक्री गरी लगानीकर्ताको हिसाब राफसाफ गर्न सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।

मार्जिन कल गरेपछि कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन ३० प्रतिशत वा सो भन्दा तल आएमा सदस्य व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन ४० प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्नेे धितोपत्रहरु बिक्रि गर्नेछ । यसरी धितोपत्र बिक्री गर्दा सदस्य व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन भनिएको छ ।

अन्य अवस्थामा ब्रोकरले अन्य कुनै कारणले मार्जिन खातामा रहेका सेयर बिक्री गर्न सक्ने ब्यवस्था छैन । मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत संगठित संस्थाहरुले बोनस सेयर जारी गर्ने भएमा दाखिल खारेज बन्द पछि मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त धितोपत्रहरुले प्राप्त गर्ने बोनस सेयरको संख्या समेत मूल्यांकन गरिने ब्यवस्था प्रस्ताव गरिएको छ ।

यसरी प्राप्त हुने बोनस सेयर स्वतः धितोबन्धकमा जाने भनिएको छ । मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुमा सूचीकृत संगठित संस्थाले हकप्रद सेयर जारी गर्ने भएमा सदस्य व्यवसायीले हकप्रदको अनुपात हेरी उक्त धितोपत्रहरुको लािग मात्र छुट्टै सम्भार मार्जिन तोक्न सक्ने भनिएको छ ।

यस्तै मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्यूजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक २० प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई ७ दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सोसंग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सदस्य व्यवसायीले सूचित गर्न सक्ने बाटो खुल्ला राखिएको छ ।

यसरी सूचित गरेको ७ कार्य दिनभित्र उक्त धितोपत्र बापतको मार्जिन ऋण चुक्ता नगरेमा ब्रोकरले सेयर बिक्री गरी लगानीकर्ताको हिसाब राफसाफ गर्न सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।

मार्जिन कल पश्चात नगद वा थप धितोपत्र जम्मा गरिएको मार्जिन खातामा रहेका धितोपत्रको बजार मूल्य वृद्धि भई वास्तविक मार्जिन सुरु मार्जिनभन्दा बढि हुन गएमा सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन सुरु मार्जिन भन्दा कम नहुने गरी थपिएको नगद वा धितोपत्र फिर्ता लिन वा बिक्री गर्न सक्ने भनिएको छ ।

ब्रोकरले सेयर बिक्री पश्चात सम्बन्धित लगानीकर्तासँग हिसाव फछ्र्र्याैट गरी सोको जानकारी नेप्सेलाई गराउनु पर्ने भनिएको छ ।

स्रोत तथा हिसाब किताब

ब्रोकरले मार्जिन कारोबारका लागि आवश्यक रकम कम्पनीको आफ्नै स्रोत (कम्पनीको खुद सम्पत्ति, कम्पनीका प्रबद्र्धकसँग लिएको पेश्की, ऋण सापटी) तथा वाणिज्य बैंकसंग ऋण लिई लगानी गर्न सक्ने ब्यवस्था मस्यौदामा उल्लेख गरिएको छ ।

ब्रोकरले आफ्नो प्रमाणित खुद सम्पतीको दुई गुणासम्म मार्जिन कारोवार सुविधा उपलब्ध गराउन सक्नेछन् भने धितोपत्र ब्यवसायीले कुनै एक लगानीकर्ता (निजको एकाघरको परिवार समेत) लाई गरी आफ्नो खुद सम्पतीको १० प्रतिशतभन्दा बढी हुने गरी मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने छैन ।

मार्जिन कारोबार अन्र्तगत खरिद भएका धितोपत्रहरु राफसाफ भए पश्चात लगानीकर्ताले मार्जिन कारोबारका लागि खोलेको छुट्टै मार्जिन खातामा राख्नु पर्ने भनिएको छ । मार्जिन कारोबारका लागि सदस्य व्यवसायीले आफ्नो खुद सम्पती मध्ये कम्पनी संचालन र नियमित राफसाफको लागि दुई करोड रुपैयाँ कम्पनीमा रिर्जभ राखी सो भन्दा बढी रकम मात्र लगानी गर्न पाउने भनिएको छ ।

सदस्य ब्यवसायीले मार्जिन कारोबार प्रयोग गरेको आफ्नो स्रोत तथा वाणिज्य बैंकबाट लिएको ऋण, लगानीकर्ताले दिएको शुरु तथा थप मार्जिन रकम, लगानीकर्ताले खरिद बिक्री गरेको धितोपत्र, लगानीकर्ताले प्राप्त गर्ने लाभ (नगद लाभांश, बोनस सेयर तथा हकप्रद सेयर) लगानीकर्तासँग लिएको ब्याज तथा सेवा शुल्क, आफुले भुक्तानी गरेको ब्याज तथा सेवा शुल्क आदिको विवरण छुट्टाछुट्टै अभिलेख राख्नु पर्नेछ ।

सदस्य व्यवसायीसँग लगानीकर्ताले लिएको मार्जिन खरिदसँग सम्बन्धित सम्पूर्ण दायित्व चुक्ता गरेपश्चात मार्जिन खातामा रहेको नगद तथा धितोपत्र लगानीकर्तालाई फिर्ता दिनु पर्नेछ । यसरी मार्जिन कारोबार खाताबाट लगानीकर्ताको हितग्राही खातामा धितोपत्र हस्तान्तरण गर्नु पर्नेछ ।

सदस्य व्यवसायीले बजारको नीहित जोखिमलाई मध्यनगर गर्दै लगानीकर्तालाई यथासम्भव लगानी विविधिकरण गर्न लगाउनु पर्ने तथा सदस्य व्यवसायीले आफ्नो कुल मार्जिन कारोबार सुविधामध्ये कुनै एक धितोपत्रमा १० प्रतिशतको सीमा नबढ्ने गरी मार्जिन कारोबार सेवा उपलब्ध गरानु पर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

सम्झौता गर्नु पर्ने

सदस्य ब्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन लगानीकर्तासँग सम्झौता गर्नु पर्ने भनिएको छ । यसरी सम्झौता गर्दा लगानीकर्ताले एक ब्रोकरबाट मात्र कारोबार गर्ने स्वघोषणा गर्नुपर्ने ब्यवस्था प्रस्ताव गरिएको छ ।


क्लिकमान्डु