पाल्पा निर्वाचन क्षेत्र नं २ नेपाल र पाण्डे मा कसले मार्ला बाजी?
पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा दुई पूर्व सांसदबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र नेकपा एमालेका सोमप्रसाद पाण्डेयबीच कडा प्रतिस्पर्धा हुँदै छ । नेपाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य र पाण्डेय एमालेका केन्द्रीय सदस्य हुन् । पाण्डे पूर्वमन्त्री पनि हुन् ।
नेपाल क्षेत्र नं ३ बाट र पाण्डेय क्षेत्र नं २ बाट संविधानसभा निर्वाचन २०७० मा निर्वाचित पूर्व सांसद हुन् । दुवै नेताहरुले अहिले एउटै निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवारी दिएपछि चुनावमा कडा प्रतिस्पर्धा हुने देखिएको हो । तीन निर्वाचन क्षेत्र रहेको पाल्पालाई राज्य पुनःसंरचना गर्दा दुई निर्वाचन क्षेत्र कायम गरिएको थियो ।
विसं२०७०को संविधानसभा निर्वाचनमा नेपालले १३ हजार १३५ मत ल्याएर विजयी भएका थिए । उनी २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि पाल्पा क्षेत्र नं ३ बाट विजयी भएका थिए । पाण्डेयले १३ हजार १९३ मत ल्याई संविधानसभाको सदस्य निर्वाचित भएका थिए । पूर्व मन्त्रीसमेत रहेका पाण्डेय पाल्पा क्षेत्र नं २ बाट २०५१ र २०५६ सालमा सांसद बन्नुभएको थियोे ।
त्यसैले पनि यस क्षेत्रको निर्वाचनमा कसको पक्षले विजय सुनिश्चित हुने भन्न कठिन भएको छ ।
विगतमा फरक फरक क्षेत्रमा निर्वाचन लड्ने नेपाल र पाण्डे निर्वाचन क्षेत्र निर्धारणमा एउटै निर्वाचन क्षेत्रमा परेपछि चुनावमा प्रतिस्पर्धामा होमिएका हुन् ।
नेपाल र पाण्डे यो सहित गरेर ५ पटक निर्वाचनको प्रतिस्पर्धामा उत्रेका छन् ।
यसअघि भएका चुनावमा नेपालसँग २ पटक जितेको र २ पटक हारेको अनुभव छ । यस्तै पाण्डेसँग ३ पटक जितेको र एक पटक हारेको अनुभव छ । जिल्लाको पार्टी राजनीतिमा दुवै बढी नै प्रभावशाली मानिन्छन् ।
पुराना नेताले नै निकट पाएको हुँदा कांग्रेस र एमालेमा केही असन्तुष्टी भने कायम छ ।
दुवै लोकप्रिय नेता भएकाले निर्वाचनमा यसले नै जित्छ भन्न सकिने अवस्था नभएपनि २०७० सालको संविधानसभाको निर्वाचनका आधारमा वाम गठबन्धनको पाल्पाका दुवै निर्वाचन क्षेत्र बलियो देखिएको छ ।निर्वाचनपछि जिल्लामा करिब १८ हजार ७०० मत बढेकाले सो मतदाताको मत नै निर्णायक हुने अनुमान छ ।
संविधानसभा निर्वाचन २०७० मा प्रत्यक्षतर्फ जिल्लामा एमालेले ४२ हजार ५५१, नेकपा माओवादी केन्द्रले १४ हजार ८४८ र नेपाली काँग्रेसले ३८ हजार १९१ मत ल्याएका थिए । २०७० निर्वाचन अनुसार वाम गठबन्धनको ५७ हजार ३९९ मत रहेको छ । काँग्रेसभन्दा १९ हजार २०८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।
स्थानीय तह २०७४ को निर्वाचनमा दलका अध्यक्ष पदका उम्मेदवारको कुल मत जोड्दा काँग्रेसले ४७ हजार २०३ मत ल्याएको थियो भने एमाले ५४ हजार ९४ मत र माओवादीले १६ हजार २६६ मत ल्याएको थियो । अहिले वाम गठबन्धनको ७० हजार ३६१ मत जोडिदा काँग्रेसको भन्दा २३ हजार १५८ मतले वाम गठबन्धन अघि रहेको देखिन्छ ।
पछिल्लोपटक १८ हजार ७०० मतदाता थपिए पछि जिल्लामा कुल एक लाख ८१ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले बताए । रासस