चिनियाँ हाइब्रिड धानमा भरपर्दै किसान, धान र मकैको परीक्षण हुँदै



भक्तपुर । नेपाल र चीनबीचको सम्झौतासँगै शुरु भएको परियोजनामार्फत परीक्षणका रुपमा लगाइएको चिनियाँ हाइब्रिड धानको उत्पादन चारगुणाले वृद्धि भएको पाइएको छ ।

सम्झौतासँगै सन् २०१६ देखि तीन वर्षे चाइना नेपाल प्राविधिक सहयोग परियोजनामार्फत परीक्षणका रुपमा भक्तपुरमा लगाइएको चिनियाँ हाइब्रिड धान उत्पादनमा वृद्धि भएको पाइएको हो ।

मध्यपुरथिमिमा करिब १२ रोपनी जग्गामा यस वर्ष परीक्षणका रुपमा लगाइएको एलपिएम बिआर १६२८ र एलपिएम बिआर १६३२ जातको धानको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), चिनियाँ टोली, चाइना नेपाल प्राविधिक सहयोग परियोजना, कृषि वनस्पति महाशाखा, धान लगाउने कृषकको टोलीसहितले सोमबार अवलोकन गरेको हो ।

कार्यक्रममा चिनियाँ टोलीका संयोजक जिहाङ जोहुईले चीनको आर्थिक एवं प्राविधिक सहयोगमा शुरु भएको सो परियोजनाले चीन र नेपालमा विभिन्न तालीम उपलब्ध गराएको बताए । उनले चीनको ६७ जातका धानको परीक्षण नेपालमा शुरु गरिएको र चिनियाँ हाइब्रिड धान प्रतिहेक्टर ८ टनदेखि १० टनसम्म उत्पादन हुने बताए ।

धान तथा मकैका लागि चीनले नेपालमा प्राविधिक सहयोग, ट्र्याक्टर, राइस मिल, ट्रान्सप्लान्ट यन्त्रलगायतका सहयोग गरेको छ भने धानको प्रयोगशाला बनाइदिने भएको छ ।

स्थानीय किसानले धानमा कालोपोके आएको र केही बोट मर्ने समस्या आएको बताउँदै यसलाई नियन्त्रण गर्न सके उत्पादनमा वृद्धि हुने बताए । धान पसाउने बेलामा केही बोट मर्ने र केही बाला नलाग्ने समस्या छ ।

कृषि वनस्पति महाशाखाका प्रमुख सुरेशकुमार राईले परियोजनाअन्तर्गत चीनबाट ल्याइएका हाइब्रिड धान र मकैको परीक्षण गरिरहेको बताए । परीक्षणमा कृषकबाट आएको सुझाव र उत्पादन बढ्ने निश्चित भएमा धान, मकैलगायत उन्नत जातका बीउ जिल्ला जिल्लामा पठाइने उनको भनाइ थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का योजना तथा समन्वय निर्देशक डा आन्दकुमार गौतमले किसानले सधैँ एकै प्रकारको धान लगाउने गरेको र नेपालले आफ्नै उन्नत नयाँ जातको धानको बीउ उत्पादन गर्न नसकेकाले चिनियाँ हाइब्रिड धानको बीउ परीक्षणमा ल्याइएको बताए। नेपालमै हाइब्रिड धानको बीउ उत्पादन गर्ने तयारीमा रहेको र चिनियाँ हाइब्रिड धान परीक्षणका क्रममा उपयुक्त देखिएमा यसलाई प्रमाणीकरण गरेर बीउ वितरण गरिने उनले बताए ।


क्लिकमान्डु