यस्तो छ १३६ वर्षे जलविद्युत् आयोजनाको विश्व इतिहास, कम छैन नेपाल पनि




काठमाडौं । संसारभर ऊर्जाको महत्वपूर्ण स्रोतको रुपमा जलविद्युत्लाई लिइँदै आएको छ । ऊर्जाका विभिन्न स्रोतहरुको प्रयोग गरिए पनि पानीबाट विजुली निकाल्ने प्रणाली नै संसारको सबैभन्दा पुरानो र प्रभावकारी स्रोत हो ।

विश्व इतिहासमा जलविद्युत् इतिहास १३६ वर्षको छ । तर नेपाल पनि त्यसमा कम छैन ।

चन्द्र शम्सेरले चन्द्रज्योति नहरमार्फत् काठमाडौंको फर्पिङमा पहिलो पटक विद्युत् उत्पादन गरेका थिए ।

करिब २०० किलोवाट क्षमताको सो आयोजना नेपालको हकमा मात्रै नभइ दक्षिण एसियाको हकमा पनि पहिलो आयोजनाको रुपमा लिने गरिन्छ ।

चन्द्रज्योति आयोजनाको इतिहास पनि १०६ वर्ष भएको छ । विश्व इतिहासमा नेपाल जलविद्युत् उत्पादनमा ३० वर्षमात्रै पछि रहेको देखिन्छ ।

विश्वमा जलविद्युत्को इतिहासका बारेमा फरक-फरक धारणा र मूल्यांकन रहँदै आएको छ । मानिसहरुका आ-आफ्ना सोचाई र धारणा पनि रहँदै आएको छ ।

तर विद्युत् उत्पादनमा प्रयोग भएको प्रविधि नेपालको ग्रामीण तथा पहाडी क्षेत्रमा पिठो पिध्न प्रयोग हुने घट्टबाटै सुरु भएको मानिन्छ ।

करिब २ हजार वर्ष पहिले ग्रीकमा पिठो पिध्ने प्रविधि विकास भएको मानिन्छ । पानीले घट्ट घुमाएर पिठो पिध्ने प्रविधिको विकासबाटै जलविद्युत् विकासको युय सुरु भएको विश्व इतिहासमा चित्रित छ । तर त्यो प्रविधि विस्तार हुन भने लामो समय लागेको देखिन्छ ।

सन् १७०० मा आइपुग्दा मात्रै जलविद्युत् क्षेत्रको विकासमा एउटा युगको सुरु भएको मानिन्छ । तर त्यसले पनि समाजमा कुनै प्रभावकारी प्रभाव पार्न नसकेको विश्व ऊर्जा परिषद्ले जनाएको छ ।

जब १८८२ मा संयुक्त राज्य अमेरिकाका वैज्ञानिक एपेल्टनले नायगरा फल्समा १२.५ किलोवाट क्षमताको ऊर्जा उत्पादन गरे । त्यसैलाई आुनिक विश्वको पहिलो जलविद्युत् आयोजनाको रुपमा लिने गरिन्छ ।

तर अर्काे सन्दर्भमा भने ३० सेप्टेम्बर, १८८२ मा भूल्कन स्ट्रिट प्लान्ट नै विश्वको पहिलो जलविद्युत् आयोजनाको रुपमा लिने गरिन्छ ।

यस्तै केही मान्छेहरुले भने १८४९ मा ब्रिटिश अमेरिकन इन्जिनियर जेम्स फ्रान्सिसले पहिलो आधुनिक टर्वाइन फ्रान्सिस टर्वाइन निर्माण भएको दाबी गरेका छन् । सन् १८७० मा अमेरिकन अन्वेषक लिजर एलन पेल्टनले पेल्टन ह्विल विकास गरेको बताइन्छ ।

नायगरा फल्सको विद्युत् उत्पादन नै विश्व इतिहासको पहिलो आयोजनाको रुपमा लिइन्छ । यस्तै सन् १८८२ मा विश्वको पहिलो डिसी हाइड्रो इलेक्ट्रिक स्टेशनका रुपमा लिइन्छ ।

सन् १८८६ पछि अमेरिका र क्यानडामा मात्रै ५० को हाराहारीमा जलविद्युत् आयोजना निर्माण र सञ्चालन भएको देखिन्छ । त्यसको दुई वर्षपछि उज्यालोमा बस्न चाहने मानिसहरुको संख्या बढ्दै गएको र मानिसका आवश्यकता समेत बढ्दै गएको सन्दर्भमा २०० को हाराहारीमा आयोजना बनेको विश्व इतिहास रहेको छ ।

ओरिगन सहरमा सन् १८८९ मा पहिलो एसी हाइड्रोइलेक्ट्रिक प्लान्ट स्थापना गरिएको देखिन्छ भने टेक्सास नजिकै अस्ट्रिन बाँध जलविद्युत् उत्पादनकै लागि भनेर निर्माण गरिएको पहिलो वैज्ञनिक र व्यवसायिक बाँधको रुपमा लिइन्छ ।

१८९६ मा नायगरा फल्स पावर स्टेशन खुल्यो । त्यसले नै स्थानीय स्तरमा प्रसारण लाइनमार्फत विद्युत् वितरण गरेको देखिन्छ । २० माइल टाढाका बासिन्दालाई समेत ऊर्जा वितरण गरिएको थियो ।

नीतिगत रुपमा भने १९०१ मा मात्रै पहिलो वाटर पावर एक्ट आएको र त्यसले अमेरिकामा विद्युत् उत्पादनलाई नीतिगत रुपमा अगाडि बढाउन सहयोग पु¥याएको देखिन्छ ।

सामान्य रुपमा अगाडि बढ्दै आएको जलविद्युत् इतिहासमा भने अमेरिकाको बोउल्डर बाँध निर्माणपछि मात्रै व्यावसायिक रुपमा अगाडि बढेको देखिन्छ । सो आयोजनाबाट १ लाख ३० हजार किलोवाट विद्युत् उत्पादन हुन सकेको देखिन्छ । पछि उक्त बाँधको नाम परिवर्तन गरेर होभर बाँध बनाइएको छ ।

कोलम्बिया र अमेरिकाबीच कोलम्बिया सन्धी भएपछि बाढी नियन्त्रण तथा विद्युत् आयोजना निर्माणका लागि सहज भएको बताइन्छ ।

क्रमशः अगाडि बढ्दै आएको जलविद्युत्को विश्व इतिहासमा आज चीन, क्यानडा, ब्राजिल र अमेरिका नै अग्रणी रुपमा जलविद्युत् उत्पादनमा रहेका छन् । ती ४ मुलुकले विश्वमा ४४ प्रतिशतको हाराहारीमा जलविद्युत् उत्पादन गर्दै आएका छन् ।

सन् १९१२ मा चीनको येनानमा २४० किलोवाट विद्युत् उत्पादन भएको देखिन्छ । हाल चीनमा २२ हजार ५०० मेगावाटको थ्री गर्जेज आयोजना सञ्चालनमा रहेको छ ।

सो आयोजना सन् २००८ मा सम्पन्न भएको हो । त्यसका अलावा १६ वटा ठूला आयोजना सञ्चालनमा आइसकेका छन् । ती आयोजनाको क्षमता मात्रै ७० हजार मेगावाट बढी रहेको छ ।

हाल चीनले जिन्सा नदीमा बेइतन बाँध निर्माण गरिरहेको छ । सो आयोजानको क्षमता मात्रै १६ हजार मेगावाट रहेको छ । यस्तै २२ हजार ७०० मेगावाट क्षमतामा ९ आयोजना समेत निर्माणको क्रममा रहेको छ ।


पुष्प दुलाल