मन्त्रीको सम्झौताले काम गरेन, तोडियो ढल्केबर सवस्टेशनको ठेक्का



काठमाडौं । दुई ऊर्जा मन्त्रीले लिखित सम्झौता गरेर चिनियाँ ठेकेदारलाई काम गर्न दबाव दिएपनि अन्ततः काम अगाडि नबढेपछि ढल्केबर सवस्टेशनको काम अन्तिम चरणमा पुग्न सकेन ।

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र वर्तमान ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले चिनियाँ ठेकेदारसँग लिखित सम्झौता नै गराएका थिए । ठेकेदारले भुक्तानी नपाएको भन्दै काम रोकपछि स्थलगत अनुगमनमा गएका मन्त्री शाहीले तत्काल रकम उपलब्ध गराउने वचन पनि दिएका थिए ।

२५ मेगावाटको सोलार प्लान्ट समेत राख्न नसक्ने अवस्थामा पुगेको प्राधिकरणले कसरी विद्युत् माग व्यवस्थापन गर्ने भन्ने बारेमा कुनै छेऊ टुप्पो पाउन सकेको छैन ।

तर, जति गर्दा पनि काम नगरेपछि प्राधिकरणले वाध्य भएर ठेक्का सम्झौता रद्द गरेको जनाएको छ ।

ठेकेदकारको चरम लापरवाहीका कारण सवस्टेशनको काम अगाडि नबढेपछि नेपाल विद्युत् प्राधिकरणले चिनियाँ ठेकेदार सिजिपिसिको ठेक्का यही असोज ६ गते तोड्यो । सवस्टेशनको काम अगाडि नबढेका कारण प्राधिकरण यतिखेर समस्यामा परेको छ ।

आगामी हिउँदमा भारतबाट सोही सवस्टेशन र ढल्केबर-मुजफ्फरपुर अन्त्रदेशिय प्रसारण लाइन हुँदै ल्याउन लागिएको करिब ३०० मेगावाट विद्युत् नआउने भएपछि प्राधिकरण समस्यामा परेको हो ।

हिउँदमा लोडसेडिङ गर्नुपर्ला कि भन्ने त्रास एकातिर छ भने अर्कोतिर वैकिल्पिक उपाय के खोज्ने होला भन्नेमा समेत चिन्तित रहेको छ । घरेलु विरोधका कारण एइडी बल्ब समेत खरिद गर्न नपाएको, २५ मेगावाटको सोलार प्लान्ट समेत राख्न नसक्ने अवस्थामा पुगेको प्राधिकरणले कसरी विद्युत् माग व्यवस्थापन गर्ने भन्ने बारेमा कुनै छेऊ टुप्पो पाउन सकेको छैन ।

१३२ केभीमा सञ्चालनमा रहेको अन्त्रदेशिय प्रसारण लाइनलाई सवस्टेशनको निर्माणपछि २२० केभीमा चार्ज गर्ने योजनामा प्राधिकरण थियो । प्राधिकरणको त्यसका लागि आन्त्रिक तयारी समेत थालेको थियो । सो क्षमताको प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्राधिकरणलाई आर्थिक रुपमा पनि ठिक ठिकैको अवस्था रहन्थ्यो ।

संयुक्त समितिको बैठकबाट उक्त क्षमताको प्रसारण लाइनबाट विद्युत् आयात गर्दा प्रतियुनिट रु ८.८८ मा विद्युत् आयात हुन सक्थ्यो । तर ठेक्का सम्झौता नै तोडिएको अवस्थामा आगामी समस्या कसरी समाधान गर्ने विषयमा प्राधिकरण गम्भीर छलफलमा रहेको प्रवक्ता प्रबल अधिकारीको भनाइ छ ।

आगामी हिउँदमा विद्युत् माग बढेर १४ सय ५० मेगावाटको हाराहारीमा पुग्नेछ । आन्तरिक उत्पादनबाट यस वर्ष मात्रै १२० मेगावाट विद्युत् थप भएको छ । मुस्ताङको टुकुचेमा निर्माण भएको एक आयोजनाले थप १५ मेगावाट थप गर्दा आन्तरिक उत्पादन १३५ मेगावाटको हाराहारीमा भएपनि हिउँदमा त्यसको आधा मात्रै विद्युत् केन्द्रीय प्रसारण लाइनमा आउनेछ ।

जलाधार क्षेत्रमा उल्लेख्य रुपमा पानी नपर्दा कुलेखानी पनि यस पटक राम्रोसँग भरिएको छैन । एक हजार ९२० मिटरको हाराहारीमा पानी रहेको छ । कम्तीमा पनि एक हजार ९२५ को हाराहारीमा पानीको सतह पुग्नु पर्ने थियो । तर त्यसो हुुन नसक्दा अर्को चुनौती थपिएको छ ।

तर, लोडसेडिङ हुन नदिने गरी व्यवस्थापन गर्ने गरी आन्तरिक तयारीलाई तिव्रता दिएको प्राधिकरण बताउँछ । अवस्था भने सन्तोषजनक रहेको छैन । प्राधिकरणले विकल्पमा टनकपुरबाट थप ३५ मेगावाट विद्युत् आयात गर्ने सोच अगाडि सारेको छ । टनकपुरबाट आयात हुने विद्युत् महंगो पर्ने हुन्छ ।


क्लिकमान्डु