कृषकको ट्याक्टरमा सरकारले हान्यो ब्रेक, साउनदेखि आयात ठप्प




काठमाडौं । सरकारले कृषकलाई बिशेष सहुलियत दिने प्रत्येक बजेट भाषणमा ठुला–ठुला कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । तर, कृषकको लागि अत्यावश्यक ट्याक्टरमा भने साउनदेखि मूल्य अभिबृद्धि कर (भ्याट) लगाएको छ ।

भ्याट लाग्ने भएपछि कृषि प्रयोजनमा प्रयोग हुने ट्याक्टरको आयात साउनदेखि ठप्प भएको छ । तराई क्षेत्रमा किसानले विशेषगरी ट्याक्टरबाटै धेरै काम गर्दै आएका छन् ।

एक हजार सीसी इन्जिन क्षमताभन्दा कमका ट्याक्टरमा पुरानै व्यवस्था कायम गरिए पनि सोभन्दा बढी क्षमताका ट्याक्टरमा भने भ्याट लगाइएको हो । कृषि प्रयोजनमा प्रयोग हुनेभन्दै सरकारले यसअघि सबैखाले ट्याक्टरमा ४.५ प्रतिशत भन्सारबाहेक अन्तःशुल्क र भ्याट मिनाहा गर्दै आएको थियो ।

आर्थिक वर्ष २०७४/७५ सुरु भएदेखि सरकारले १ हजार सीसीभन्दा बढी इन्जिन क्षमताका ट्याक्टरमा भ्याट लगाएकाले तीन सातादेखि आयात ठप्प भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ट्याक्टर समिति सभापति कपिल शिवाकोटीले जानकारी दिए ।

नेपालमा हाल २२ वटा कम्पनीका ट्याक्टर बिक्री हुँदै आएको छ । गत वर्ष देशभर १० हजारभन्दा बढी ट्याक्टर बिक्री भएको बिक्रेताहरुले जानकारी दिएका छन् ।

‘सबैजसो ट्याक्टर कृषि प्रयोजनमै प्रयोग हुने गरेकोमा सरकारले किन भ्याट लगाउने निर्णय ग¥यो भनेर व्यवसायी अन्योलमा परेका छन्, तराई क्षेत्रमा अधिकांश हजार सीसीभन्दा बढी इन्जिन क्षमताका ट्याक्टर बिक्री हुनेको छ, यसले कृषिको यान्त्रिकरणमा समेत नकारात्मक असर परेको छ,’ शिवाकोटीले भने ।

नेपाल भित्रिएर बिक्री भइसकेका तर भुक्तानी हुन बाँकी रहेका ट्याक्टरमा समेत भ्याट लाग्दा व्यवसायी तथा किसान मर्कामा परेका शिवाकोटीको भनाइ छ ।

‘डेलिभरी गरिसकिएको तर भुक्तानी नपाइसकेको ट्याक्टरको समस्या समाधान नहुँदा आयात समेत प्रभावित भएको छ, सरकारले कृषिलाई प्राथमिकता दिएको भन्दै कृषि सामग्री नै महँगो बनाइ किसानलाई हतोत्साही बनाइरहेको छ,’ उनले भने ।

किसानले लगिसकेको तर भुक्तानी हुन बाँकी रहेको ट्याक्टरको संख्या नै ४ हजारभन्दा धेरै रहेको व्यवसायीको भनाइ छ । नेपालमा हाल २२ वटा कम्पनीका ट्याक्टर बिक्री हुँदै आएको छ । गत वर्ष देशभर १० हजारभन्दा बढी ट्याक्टर बिक्री भएको बिक्रेताहरुले जानकारी दिएका छन् ।

विगतमा सरकारले ट्याक्टरमा कुनै वर्गीकरण नै नगरी ४.५ प्रतिशत भन्सारमात्र लिँदै आएको थियो भने भ्याट र अन्तःशुल्क लाग्दैनथ्यो । तर, चालु आर्थिक बर्षदेखि लागू हुनेगरी किसान तथा व्यवसायीसँग छलफल नै नगरी १ हजार सीसीभन्दा बढी क्षमताका ट्याक्टरमा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था सरकारले गरेको छ ।

यसले किसानलाई ट्याक्टर महँगो पर्ने देखिएको छ । त्यस्तै बिक्री भएका तर पूर्ण भुक्तानी नभएका ट्याक्टरमा समेत भ्याट लाग्ने भएपछि थप अन्योल देखिएकाले यसको समाधानका लागि सरकारलाई नाडाले आग्रह गरेको शिवाकोटीले बताए ।

यो समस्याका समाधान तत्काल नहुने हो भने भन्सारमा आएर अड्किएका ट्याक्टर के हुने भन्ने अन्योलता बढ्ने र व्यवसायीहरु मर्कामा पर्ने उनीहरुको भनाइ छ ।


क्लिकमान्डु