बन्द भएको एभरेष्ट होटलमा गैरकानूनी रुपमा क्यासिनो सञ्चालन



काठमाडौं । तीन वर्षदेखि बन्द पाँच तारे होटल एभरेष्टमा सोमबार मध्यरात देखि अबैधानिक रुपमा क्यासिनो सञ्चालनमा ल्याइएको छ ।

नेपालको क्यासिनो सम्बन्धि नियमावली २०७० ले पाँच तारे होटल संञ्चालनमा रहेको अवस्थामा मात्रै क्यासिनो सञ्चालन गर्न नपाईने व्यवस्था छ ।

२०७२ बैशाख १२ गते गएको भूकम्पका कारण भवनमा समस्या आएको भन्दै होटल संचालकले होटल बन्द गरेका थिए । हालसम्म पनि होटल सञ्चालनमा आउन नसकेको अवस्थामा सोमबार मध्यरातबाट क्यासिनो सञ्चालनमा ल्याएको हो ।

होटल संञ्ंचालन रहेकै अवस्थामा बक्यौता तिर्न अटेर गरेको तथा सरकारले जारी गरेको क्यासिनो सम्बन्धि नियमावली–२०७० अनुसार दर्ता नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७१ साल वैशाख ५ गतेबाट पूर्ण रुपमा बन्द गरेको थियो ।

क्यासिनो सञ्चालले हालसम्म पनि सरकारलाई तिर्नुपर्ने बक्यौता १० करोड ३५ लाख ६२ हजार तिरेको छैन ।

एभरेस्ट होटल सञ्चालकबाट क्यासिनो लिजमा लिएको एभलोन इन्टरनेसनल प्रालिले लगानीकर्ता खोजेर सञ्चालनको जिम्मेवारी तोकेसँगै क्यासिनो खोलेको हो ।

होटल सञ्चालकबाट एभोलनले १० वर्षका लागि वार्षिक ८० लाख रुपैयाँ तिर्ने गरी क्यासिनो लिजमा लिएको थियो ।

लिजमा लिएकोमा एभलोनले क्यासिनोमा लगानी गर्न तयार चक्रबहादुर शाहलाई क्यासिनो सञ्चालनको जिम्मेवारी दिएको समेत पाइएको छ ।

सञ्चालनको जिम्मेवारी पाएका शाहले क्यासिनोमा सोमबार मध्यरातबाट सञ्चालनमा ल्याएका हुन् ।

केही दिन अगाडि सार्वजनिक सूचना जारी गर्दै पुराना कर्मचारीलाई फर्कन आग्रह समेत गरिएको थियो । व्यवस्थापनको सूचनापछि ४ सय ८२ कर्मचारी पुनः कामको लागि उपस्थित भएको स्रोतले जानकारी दिएको छ । पुराना कर्मचारीहरुलाई १ साउनदेखि ९ साउनसम्म सम्पर्कमा आउन सूचना जारी गरिएको थियो ।

यता होटल तथा क्यासिनो क्षेत्रको नियमक निकाय पर्यटन विभागले भने क्यसिनो सञ्चालनको कुनै पनि जानकारी नआएको बताएको छ ।

‘होटल नभएको स्थाननमा क्यासिनो चलाउनु भनेको नेपालको कानुन विपरित हो, यो सरकारलाई मान्य हुदैन,’ पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले क्लिकमान्डूसँग भने ।

एभरेष्ट क्यासिनाले सञ्चानल गर्ने बारेका विभागमा कुनै जानकारी नदिएको समेत भट्टराईले जानकारी दिए ।

किन बन्द भएको थियो क्यासिनो एभरेस्ट ?

सरकारले जारी गरेको क्यासिनो नियमावली अनुसार दर्ता प्रक्रियामा नआएपछि सकारले बन्द गरेको थियो ।

तत्कालीन मन्त्रिपरषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले ल्याएको नियमावलीअनुसार नवीकरण नगरेका कारण नवीकरण गर्ने म्याद चार चारपटक थप्दा पनि नयाँ नियम मान्न तयार नभएपछि क्यासिनो बन्द गरिएको थियो ।

नियमावली अनुसार क्यासिनो सञ्चालन गर्न २५ करोड चुक्ता पुँजी चाहिने, २५ करोड पनि कर चुक्ता गरेको प्रमाण हुनुपर्ने, क्यासिनोको वार्षिक रोयल्टी ५ करोड तिर्नुपर्ने, क्यासिनोमा आउने खेलाडी गेस्टको बारेमा भिडियो राख्न पर्ने तथा क्यासिनोबाट जितेको पैसाबाट कर लिनुपर्ने लगायतका व्यवस्था गरिएको छ ।

मजदुरमार्फत् क्यासिनो सञ्चालन

उच्च अदालतमा एभरेस्ट क्यासिनो एभरेस्ट क्यासिनो बन्द भएसँगै क्यासिनोमा कार्यरत ८ सय ४८ मध्ये ५ सय ९२ कर्मचारीले काननुनी बाटो खोजेका थिए । कर्मचारीको भेलाबाट समस्या समधानको लागि क्यासिनो विकास समिति खडा गरेको थियो ।

मजदुरहरुले श्रम अदालतमा मुद्दा दायर गरेर चार महिनाको तलब र २४ महिनाको सञ्चयकोष लिन बाँकी रहेको जानकारी गराएका थिए ।

क्यासिनो सञ्चालक सम्पर्कमा नरहेको भन्दै मुद्दा दायर गरेको थियो । साथै सञ्चालक सम्पर्कमा नआएको अवस्थामा स्रोत प्रयोग गरी नयाँ लगानीकर्ताबाट क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने माग गरिएको थियो ।

श्रम अदालतले १० वर्षे लिजमा एभरेस्ट होटल सञ्चालकबाट क्यासिनो सञ्चालनको जिम्मेवारी पाएको एभलोन इन्टरनेसनल प्रालिलाई कर्मचारीको तलब, सञ्चयकोष, उपदानका साथै रोयल्टीसमेत गरी ३४ करोड रुपैयाँ बुझाउनुपर्ने आदेश जारी गरेको थियो ।

तर, पुरानो रकम तिर्नको लागि क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने मागसहित पाटन उच्च अदालतमा एभलोन इन्टरनेसनलको तर्फबाट वीरेन्द्र महर्जनले मुद्दा जाहेर गरेका थिए ।

२०७४ असार २७ गतेकोको न्यायाधीश राजेन्द्र सुवेदीको एकल इजालसले अन्तिम निर्णय नआएसम्म क्यासिनो सञ्चालनमा अवरोध नगर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका निकायलाई निशेधाज्ञा जारी गरेको थियो ।

त्यसपछि एभलोन इन्टरनेसनल प्रालिले लगानी थपेर क्यासिनो सञ्चालनको लागि तयार चक्रबहादुर शाहलाई सञ्चालन जिम्मेवारी दिइएको थियो । शाहले पहिलो चरणमा ६ करोडसम्मको लगानी गरेर क्यासिनो सञ्चालनमा ल्याएका हुन् ।


पुष्प दुलाल