एडिएसएल इन्टरनेटको ‘स्पीड’ ५ गुणा बढ्यो, ग्राहक घटेपछि झस्कियो टेलिकम



काठमाडौं । एडिएसएल चलाउँदै आउनुभएको छ भने सोमबारदेखि तपाइको इन्टरनेट स्पीड ५ गुणा बढ्दै छ । देशभर १ लाख ८० हजार प्रयोगकर्ता रहेको एडिएसएल वर्षौंदेखि एउटै शुल्क र स्पीडमा सीमित थियो ।

आगामी तीन महिनाको लागि ‘प्रमोसनल अफर’ भन्दै टेलिकमले एक्कासि शुल्कमा समायोजन गरेको छ । स्रोतका अनुसार तीन महिना पछि पनि यसै दररेटलाई निरन्तरता दिने सोचमा टेलिकम व्यवस्थापन देखिन्छ ।

टेलिकम प्रवक्ता प्रतिभा बैद्यका अनुसार यो अफरमा मासिक १ हजार १७ रूपैयाँ तिरेर १ सय ९२ केबिपिएस प्याकेज लिइराखेका ग्राहकले अब १ हजार रुपैयाँमै १ एमबिपिएस (१ हजार २४ केबिपिएस) स्पीडको इन्टरनेट चलाउन पाउने छन् ।

सरकारी स्वामित्वको नेपाल टेलिकम एडिएसएल प्रविधि मार्फत इन्टरनेट प्रदान गर्ने एक मात्र कम्पनी हो । देशभर मोबाइल फोनबाट इन्टरनेट चलाउने ग्राहक पछि सबैभन्दा धेरै ग्राहक एडिएसएलकै छन् ।

ग्राहक घटेपछि चर्को दबाब

वर्षौंदेखि इन्टरनेट बजारको ठुलो हिस्सामा कब्जा जमाइराखेको नेपाल टेलिकमका ग्राहकहरूको असन्तुष्टि बढ्दै गएको छ । समय अनुसार इन्टरनेट स्पीड समायोजन नभएपछी टेलिकमका ग्राहक धमाधम नीजि कम्पनी तर्फ आकर्षित भएका छन् ।

पछिल्लो चार महिनाको तथ्याकंमै एडिएसएलका ग्राहक झन्डै ४ हजार घटेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्याकंमै एडिएसएलका ग्राहक झन्डै ४ हजार घटेका छन् । जबकि यो अवधिमा सबै इन्टरनेट सेवाका प्रयोगकर्ता बढेर ५५ बाट ५८ प्रतिशत पुगेको छ ।

समग्रमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा आफ्ना ग्राहक भने घट्दै गएपछी नेपाल टेलिकम ‘झस्किएको’ अड्कल गर्न मुस्किल पर्दैन ।

समग्रमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा आफ्ना ग्राहक भने घट्दै गएपछी नेपाल टेलिकम ‘झस्किएको’ अड्कल गर्न मुस्किल पर्दैन ।

सेवामा समेत गुनासो

टेलिकमकले छुट्टाएकै स्पीड पनि नपाउने र नियमित इन्टरनेट अवरोध भइरहने गुनासो व्यापक छ । टेलिकम प्रवक्ता बैद्य भने राजधानीको सडक विस्तारका क्रममा तार ब्यबस्थापनको समस्याले सेवा अवरोध भएको तर्क अगाडी सार्छिन् ।

ग्राहकलाई विकल्प छैन

निजी इन्टरनेट सेवा प्रदायक राजधानी लगायत सहरी क्षेत्रमा मात्रै सीमित हुँदा देशको अधिकाशं क्षेत्रमा चाहेर पनि एडिएसएलको विकल्प छैन । एडिएसएलको लागि टेलिफोनको तारले नै काम गर्ने भएकोले ग्राहक र सेवा प्रदायकलाई अरू भन्दा यो जोड्न सजिलो र सस्तो पर्छ । केबल, अप्टिक फाइबर र रेडियो मार्फत नीजि क्षेत्रले ग्राहक सम्म इन्टरनेट पुर्‍याउँदा पूर्वाधारमा नै ठूलो खर्च पर्छ । यो कारणले नीजि क्षेत्र सबै ठाउँमा पुग्ने सकेको छैन् ।

५ गुणा घट्दा पनि अझै महंगो

‘प्रमोसनल अफर’ भन्दै टेलिकमले बजारमा ल्याएको यो प्याकेज पनि प्रतिश्पर्धी नीजि कम्पनीको भन्दा महँगो छ । एउटै मुल्यमा विदेशबाट ल्याइने इन्टरनेट ब्यान्डविथ नीजि कम्पनीले सस्तोमा बेच्दा टेलिकमले किन सक्दैन? जब कि पुर्वाधारमा टेलिकमको नै कम खर्च देखिन्छ ।

१. वल्डलिङक:  १ हजार ३ सय ५० प्रति महिना , एमबिपिएस

२. क्लासिक टेक:  १ हजार ९९ प्रति महिना, एमबिपिएस

३. भाया नेट:  १ हजार ४ सय प्रति महिना, एमबिपिएस

४. नेपाल टेलिकम: १ हजार प्रति महिना, एमबिपिसएस (सोमबार देखि)

वल्डलिंक, भायानेट, क्लासिक टेक, सुविसु जस्ता कम्पनीहरू अहिले बिना अफर नै टेलिकमभन्दा धेरै सस्तोमा इन्टरनेट उपलब्ध गराइराखेका छन् । यद्यपि टेलिकम प्रवक्ता बैद्य बजारको माग अनुसार नै आफुहरूले मुल्य समायोजन गर्दै जाँने बताउँछिन् ।


क्लिकमान्डु