मर्ज भए कुमारी, काष्ठमाण्डप, महाकाली, काँक्रेविहार र पश्चिमाञ्चल, चुक्ता पुँजी साढे ६ अर्ब



काठमाडौं । कुमारी बैंक, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एक आपसमा मर्जर भई शुक्रबारदेखि कुमारी बैंकको नाममा एकिकृत कारोबार सुरु गरेका छन् ।

मर्जपछिको एकीकृत कारोबारको उदघाटन शुक्रबार दिउसो राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले गरे ।

यसअघिकुमारी बैंकको चुक्ता पुँजी ४ अर्ब ६१ करोड रुपैयाँ थियो । मर्जसँगै बैंकको चुक्ता पुँजी ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

मर्जपछिको चुक्ता पुँजीको २० प्रतिशत हकप्रद सेयर र चालू आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिएर कुमारी बैंकले राष्ट्र बैंकले तोकेअनुसार चुक्ता पुँजी पुर्याउने बताइएको छ ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले पुँजी बढाउने निर्णय गरेपछि कुमारी बैंकले मर्जरमा गएर पुँजी बढाएको हो ।

सुरुमा कुमारी बैंकले एनसीसी बैंकसँग मर्जर प्रक्रिया अघि बढाएको थियो । तर, एनसीसी बैंकको साधारणसभाले मर्जरमा जान नहुने निर्णय गरेपछि कुमारी र एनसीसीको मर्जर प्रक्रिया टुंगिएको थियो ।

चार वटा संस्थालाई गाभ्दा कुमारी कुमारी बैंकमा १ अर्ब ६० करोड रुपैयाँ सेयर पुँजी थपिएको छ । चार वटै संस्थाको सेयर स्वाप रेसियो १०० बराबर ८५ कायम गरिएको छ ।
मर्जपछि बैंकको कुल निक्षेप ५२ अर्ब र कर्जा ४६ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी, ७४ वटा शाखा र ८०० जना भएका छन् ।

बैंकले एक महिनाअघि मात्र प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । काष्ठमाण्डप डेभपलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारी कुमारी बैंकको डेपुटी सिईओ बनेका छन् ।


पुष्प दुलाल