कुलमानले तमसुक गरेर लिए ४ अर्ब ३० करोड ऋण




काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा अहिले लोडसेडिङ छैन । प्रधानमन्त्री सहितका उच्च सरकारी अधिकारीहरुको सार्बजनिक भाषणमा सफलताको विषय उठाउनु पर्दा लोडसेडिङ अन्त्यलाई उच्च प्राथमिकता दिने गरिएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको प्रमुख सफलतामध्ये लोडसेडिङ अन्त्यलाई उच्च प्राथमिकता दिने गरिएको छ । उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङ अन्त्य गर्न सफल भएको भनेर बधाइ र धन्यवादका पात्र बनिरहेका छन् ।

लोडसेडिङ अन्त्यको पछाडि कुशल ब्यवस्थापन प्रमुख विषय रहेको स्वयम् घिसिङले बताउँदै आएका छन् । तर कुशल ब्यवस्थापन वा अन्य आवश्यक कार्यको लागि पैसाको आवश्यकता त थियो नै । ८ अर्ब ९० करोड रुपैयाँभन्दा बढी खुद नोक्सानीमा चलेको प्राधिकरणलाई थप ऋण दिन कोही तयार थिएन ।

यस्तो अबस्थामा कार्यकारी निर्देशक घिसिङले अर्थमन्त्रालयसँग तमसुक गरेर ऋण लिएका थिए । त्यस्तो ऋण रकमको सदुपयोग गरेर पूर्वाधारमा लगानी गरिएको थियो ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार नेपाल विद्युत प्राधिकरणले दुई पटक गरी ४ अर्ब ३० करोड रुपैयाँ ऋण लगेको छ । प्राधिकरणले मंसिर ३० गते र फागुन ६ गते गरी दुईपटकमा सो ऋण लगेको हो । प्राधिकरणले तमसुक गरेर ऋण लगेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

यसरी अर्थसँग तमसुक गरेर ऋण लिने प्राधिकरण एक्लो संस्था निकाय भने होइन । चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा ९ वटा सरकारी संस्थान, कम्पनी र निकायले अर्थमन्त्रालयसँग तमसुक गरेर साढे ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका छन् ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार गत फागुन मसान्तसम्ममा ९ वटा सरकारी निकायले अर्थमन्त्रालयसँग ५ अर्ब ५८ करोड ८१ लाख चवालिस हजार रुपैयाँ ऋण लिएका छन् । जनक शिक्षा सामाग्री केन्द्रले अर्थमन्त्रालयसँग तमसुक गरेर गत फागुन ९ गते १ करोड २० लाख रुपैयाँ ऋण लगेको छ ।

अर्थमन्त्रालयसँग तमसुक गरेर ऋण लिनेमा बैंक आफै पनि छ । साना किसान विकास बैंकले अर्थमन्त्रालयसँग तमसुक गरेर दुई किस्तामा १ अर्ब रुपैयाँ ऋण लगेको हो । बैंकले कात्तिक ३० गते र माघ २७ गते गरी सो दुई किस्तामा १ अर्ब रुपैयाँ ऋण लगेको हो ।

यस्तै नेपाल ओरिण्ड म्याग्नेसाइट प्रालिले २ करोड ११ लाख, नेपाल औषधीले ८ करोड ९६ लाख, नेपाल मेटल कम्पनीले ५४ लाख, साझा प्रकाशनले २ करोड, गोरखकाली रबर उद्योगले ३ करोड र नेसनल ट्रेडिङले १० करोड ९९ लाख रुपैयाँ ऋण तमसुक गरेर लगेको अर्थमन्त्रालयले जानकारी दिएको छ ।


क्लिकमान्डु