२५ हजारको ‘राष्ट्रबादी अडान’ले यसरी गुम्दैछ करोडौं
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ८ दिनकोबीचमा प्रतिबन्धित हजार र ५ सय दरका ३ करोड १४ लाख भारुभन्दा बढी रकम काठमाडौंबाट बरामद गरेको छ ।
यसको अर्काे रोचक पाटो के छ भने यो रकमसँगै यसको कारोबारमा संलग्न २८ जना ब्यक्तिहरु पक्राउ परेका छन् ।
कहिले कति बरामद ?
सिआइबीले जेठ २ गते ठूलो परिमाणमा प्रतिबन्धित भारुसहित १५ जना ब्यक्ति पक्राउ गर्यो । ब्युरोले जेठ २ मा पहिलो पटक हजार र ५ सय दरका २ करोड १६ लाख भारुसहित १५ जनालाई पक्राउ गरेको थियो ।
गौरीघाटमा रहेको कमला भण्डारीको डेरा र तिलगंगाको एक होटलबाट हजार र ५ सय दरका भारुसहित नेपाली र भारतीय नागरिक पक्राउ परेका थिए ।
त्यसपछि जेठ ६ गते फेरि ठूलो परिमाणमा प्रतिबन्धित भारु नोटसहित प्रहरीले एक जना ब्यक्तिलाई पक्राउ गर्यो । काठमाडौं सोल्टीमोडबाट पक्राउ गरिएका ती ब्यक्तिबाट २९ लाख ५९ हजार बराबरका हजार र ५ सय दरका प्रतिबन्धित भारु नोट बरामद गरिएको थियो ।
कुरा यतिमा मात्रै सिमित रहेन । बरामद हुने रकम बढ्दै गयो । जेठ ८ गते सिआइबीले ५० लाख ५० हजार बराबरका प्रतिबन्धित भारु नोटसहित भारतको हरियाणाका २ जनालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरेको थियो ।
जेठ १० गते फेरि प्रतिबन्धित भारु नोट बरामद भयो । सिआइबीले सो दिन काठमाडौंको नागार्जुनबाट ४ जना र महाराजगन्जबाट ६ जना गरी १० जनालाई पक्राउ गर्यो । पक्राउ परेका ती १० जनाबाट प्रतिबन्धित हजार र ५ सय दरका १८ लाख ४० हजार भारु नोट बरामद गरियो ।
८ दिनमा कति भारु समातियो ?
सिआइबीले जेठ २ गतेदेखि १० गतेसम्ममा ३ करोड १४ लाख ४९ हजार भारु बरामद गरेको छ । यसरी बरामद गरिएको भारु राजस्व अनुसन्धान विभाग पठाउने गरिएको छ ।
किन भइरहेको छ खोटो नोटको तस्करी ?
भारत सरकारले प्रतिबन्ध लगाएको हजार र ५ सय दरका नोट अब कहीँ चल्दैन । सो दरका नोट कागजको खोस्टा सरह हो । तर किन यसरी तस्करी भइरहेको छ ?
यसको मुख्य कारण लोभ नै रहेको सिआइबीका प्रबक्ता मीरा चौधरी बताउछिन् । र, कसैलाई झुक्याएर वा नेपाल भारतबीच कुनै सहमति भएमा साट्न सकिन्छ कि भन्ने उद्देश्यले तस्करी भइरहेको चौधरीको भनाइ छ ।
‘नेपालमा रहेका हजार र ५ सय दरका प्रतिब्यक्ति ४५ सय भारुसम्म सरकारी पहलमै साटिन्छ कि भन्ने सम्भावना पनि छ, दोस्रो कुरा सोझा नेपालीलाई झुक्याएर साट्न सकिन्छ होला भन्ने अभिप्रायले पनि तस्करी भइरहेको पाइयो,’ चौधरीले क्लिकमाण्डूसँग भनिन् ।
कस्तो छ, तस्करीको जालो ?
सिआइबीका अनुसार प्रतिबन्धित भारु नोट तस्करीमा साहू, मध्यस्तकर्ता र कारोबारी गरी ३ तहको जालो छ । भारतमा प्रतिबन्ध लागेका नोट हुनेसँग मध्यस्तकर्ताले भेटाइदिने र उनीहरुसँबाट कारोबारीले किनेर नेपाल ल्याउने गरेका छन् ।
‘नोट हुने र नोट किन्नेको सम्पर्क गराइदिने ब्यक्तिले २ प्रतिशत कमिसन लिने गरेको पाइएको छ, कारोबारीले भने नोट हुनेसँगबाट २५ प्रतिशतमा खरिद गरेको पाइयो,’ चौधरीले भनिन् ।
अर्थात १ हजारको प्रतिबन्धित भारु नोट २५० नेपाली रुपैयाँमा किनेर नेपाल भित्र्याउने गरेको सिआइबीको भनाइ छ ।
यसरी २५ प्रतिशतमा किनिएको भारु नोट त्यसपछिका खरिदकर्ताले ३०, ३५, ४० हुँदै ६० प्रतिशतसम्ममा खरिद गर्ने गरेको खुलेको छ । अर्थात २५० रुपैयाँमा भारतमा किनेर ल्याइएको हजार दरको भारु नोट नेपालमा ३ सयदेखि ६ सय रुपैयाँसम्ममा किनबेच हुने गरेको छ ।
कहाँबाट आउछ यस्तो नोट ?
यस्ता नोट विषेश गरेर बीरगन्ज र नबलपरासी सीमा क्षेत्रबाट नेपाल भित्रने गरेको सिआइबीको अनुसन्धानबाट खुलेको छ । भारतले प्रतिबन्ध लगाएको सो दरका नोट कसैसँग भेटिए भारत सरकारले कानुनी कारबाही गर्छ । यसैकारण भारतका विभिन्न ठाउँहरुबाट लुकाइ छिपाइ नेपालको सीमानासम्म ल्याउने र नेपाल भित्रिएपछि पनि लुकाइ छिपाइ काठमाडौं ल्याएर विभिन्न तहमा कारोबार गर्ने गरिएको सिआइबीको अनुसन्धानले देखाएको छ ।
खोटो नोटको पछि किन लाग्यो सिआइबी ?
प्रतिबन्धित हजार र ५ सय दरका भारु नोट भारतमा राख्न वा बोक्न नै पाइँदैन । नेपालमा भने मौद्रिक ‘भ्यालू’ अर्थात कारोबार मात्रै हुँदैन । जुन नोटको कुनै कानुनी हैसियत नै छैन, वा चलनचल्तीबाट हटाइएको छ, त्यस्तो नोटको कारोबार भयो भन्दै सिआइबी किन पछाडि लागेको छ ?
यसको खास कारण रहेको चौधरीले बताइन् ।
‘प्रतिबन्धित नोटको कारोबारको कारण नेपाली मुद्रा बिदेशिएको छ, नेपाल भित्रिएको नोटले सोझा नेपाली फस्ने खतरा पनि त्यत्तिकै छ, प्रतिबन्धित नोटको पछाडि हामी किन लागिरहेका छौं भन्ने भन्दा पनि यस्तो नोटको कारोबार किन भइरहेको छ भन्ने प्रमुख सबाल हो,’ चौधरी भन्छिन् ।
प्रतिबन्धित नोटको ठूलो परिमाणको कारोबारले टाउको दुखाईको बिषय भएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डित बताउँछन् ।
‘शंकास्पद कारोबार किन भइरहेको छ भन्ने हिसाबले सिआइबीले उचित काम गरिरहेको देखिन्छ, नेपालमा प्रतिबन्धित नोट साटिन्छ भन्ने अनुमान र आशाको भरमा भारतमा साट्न नसकिएका नोट जम्मा पार्ने र नेपालमा बोराका बोरा ल्याउने गर्न थालेपछि सिआइबीले हेर्नै पर्ने हुन्छ, यसरी आएको अब खोटो मुद्रा भएपनि पूर्वनोट हो, पूर्वनोट भएकोले कतै भ्रम सिर्जना गर्ने, झुक्याएर कारोबार गर्ने वा अबान्छित गतिविधि गर्नेसम्मको खतरा भएकोले नियन्त्रण जरुरी छ,’ गभर्नर कार्यालयका निर्देशक समेत रहेका पण्डितले क्लिकमाण्डूसँग भने ।
साटिएला त ४५ सयसम्मका भारु ?
नेपाली प्रतिनिधि तथा भारत सरकार र भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरविआइ) का प्रतिनिधिबीच पछिल्लो पटक नेपालमा यो बिषयमा छलफल भएको थियो । काठमाडौंमा गत मार्च २६ र २७ तारिकमा भएको सो छलफलमा नेपालीसँग भएका प्रतिब्यक्ति ४५ सय भारुसम्म सटही सुबिधा दिन भारत तयार रहेको तर यसको लागि २ दिनभित्रमा जवाफ दिइसक्नु पर्ने भारतीय पक्षको अन्तिम जवाफ थियो ।
तर नेपाली पक्षले न त सो छलफलमा, न त छलफलको २ दिनभित्रमा नै भारतीय पक्षलाई त्यसको जवाफ दिनसक्यो । नसक्नुको कारण के थियो भने नेपाली पक्षले प्रतिब्यक्ति २५ हजार भारुसम्म साटिदिनु पर्ने अडान राखेको थियो । भारतीय पक्षले ४५ सय भारुभन्दा बढी साटिदिन नसक्ने भन्यो । छलफल निष्कर्षबिहिन सकियो ।
नेपाली पक्षको नेतृत्व डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले गरेका थिए ।
नेपाली पक्ष समस्यामा थियो । अर्थमन्त्री कृष्णबहादुर महरा र राष्ट्र बैंकका केही अधिकारी २५ हजार भारुसम्म साटिदिनुपर्ने अडान राखिरहेका थिए । भारतीय पक्षले प्रष्ट रुपमा ४५ सयभन्दा बढी साटिदिन सकिदैन भनेपछि यसको निर्णय कसले गर्ने भन्ने समस्या भयो । भारतीय पक्षले भनेको मान्दा भारतसँग घुडा टेकेको आरोप लाग्ने र नमान्दा पाएको सुविधा पनि गुम्ने चेपुवामा नेपाली पक्ष थियो । यो समस्याकाबीच राष्ट्र बैंकले अन्तिम निर्णयको लागि सरकार गुहार्यो । जसको जवाफ दिन नै सरकारलाई करिब ५ दिन लाग्यो ।
‘भारतीय पक्षले २ दिनभित्रमा जवाफ दिनुस् भनेको थियो, सरकारले हामीलाई ४/५ दिनपछि मात्रै ४५ सय साट्दै गर्दा हुन्छ भनेर अनुमति दियो, सरकारको अनुमति आएलगत्तै हामीले आरविआइलाई पत्राचार गर्यौं, तर भारतबाट अहिलेसम्म कुनै जवाफ आएको छैन,’ राष्ट्र बैंकको विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुंगाना भन्छन् ।
नेपालका राष्ट्रपति विद्यादेबी भण्डारी भारत भ्रमणमा गएका बेलामा पनि नोट सटही सुविधाबारे भारतीय उच्चअधिकारीहरुसँग यो बिषयमा छलफल भएको थियो । सो छलफलमा सहभागी भारतीय बित्तमन्त्री अरुण जेट्लीले नोट सटही गरिदिने बारेमा आफूहरु सकारात्मक भएको मौखिक जवाफ दिएका थिए ।
योभन्दा अगाडि नै नेपालका प्रधानमन्त्री, अर्थमन्त्री, गभर्नर लगायत उच्च नेपाली अधिकारीहरुले भारतीय समकक्षीसँग विभिन्न माध्यमबाट सम्पर्क गरी नोट सटही सुविधान दिन आग्रह गरेका थिए । नेपाली अधिकारीहरुको सोही पहलको कारण भारतीय पक्ष प्रतिब्यक्ति ४५ सय भारुसम्मको सटही सुविधा दिन तयार भएको थियो । तर यसको फाइदा नेपालीले लिन पाएका छैनन् ।
अब के हुन्छ ? ४५ सयसम्मका नोट साटिन्छ त ? यो प्रश्न अहिले अहम बनेको छ ।
राष्ट्र बैंकका अधिकारीहरु अब सम्भावना कम भएको बताउँछन् ।
‘आरविआइका अधिकारीसँग म सम्पर्कमै छु, उनीहरु ‘हामीले तपाइहरुको प्रस्ताव बित्त मन्त्रालय पठाएका छौं, त्यहाँबाट कुनै जवाफ आएको छैन’ भन्छन्, अब अहिले बोराका बोरा भारु नोट नेपालमा बरामद हुन थालेको छ, यसले गर्दा साटिने सम्भावना कम भएको म देख्छु,’ विदेशी विनिमय विभागका प्रमुख ढुंगाना भन्छन् ।
सहायक प्रवक्ता पण्डितको अनुमान पनि त्यस्तै छ ।
‘साटिन्छ भन्न सक्ने अबस्था अब छैन, उनीहरुले भनेको समयमा हामीले निर्णय गर्न सकेनौं, उनीहरुले दिएको सुविधा प्रयोग गरेर ४५ सयसम्म भएपनि साट्दै गर्नुपथ्र्याे, हजार र ५ सय दरका भारु नेपालमा धेरै छदैथिएनन्, अब त भारतमा नसाटिएका नोट नेपालमा साटिन्छ भन्ने हल्लाले २÷३ अर्ब जति नेपाल भित्रिएको अनौपचारिक अनुमान सुनिएको छ, यसले ४५ सयसम्म मात्रै पनि साटिन्छ भन्ने आशा मर्दै गएको छ, नेपालमा बोराका बोरा प्रतिबन्धित नोट बरामद भएको उनीहरु (भारतीय पक्ष) ले पनि सुनेका होलान्, यसले उनीहरुमा झन संसय पैदा गरेको छ,’ सहायक प्रवक्ता पण्डित भन्छन् ।
भारतको जस्तो शंका, नेपालमा उस्तै गतिबिधि ?
नेपालमा भएका भारु नोट सटही सुविधा दिन भारतीय पक्षलाई कुनै समस्या थिएन । भारतीय पक्षले यो कुरा औपचारिक अनौपचारिक छलफलमा नेपाली अधिकारीहरुसँग राखेकै थिए ।
भारतीय पक्षको खास चिन्ता र चासो भारतमा नसाटिने वा नसाटिएका प्रतिबन्धित नोट नेपालमा ल्याएर साटियो भने के गर्ने ? नेपालले यसको नियन्त्रण गर्न सक्ला ? भारतीय पक्षले विषेश रुपमा उठाएको सबाल यो थियो ।
स्रोत नखुलेको कालोधन नेपालमा आएर निर्मलीकरण हुन्छ कि भन्ने चिन्ता भारतीय पक्षको थियो । नेपालले त्यसमा भारतीय पक्षलाई आश्वस्त पार्ने हर प्रयत्न गरेको थियो । त्यसका लागि नेपाली पक्षले मोडालिटी बनाएर भारतलाई दिएको थियो ।
के थियो मोडालिटीमा ?
नेपालले भारतसमक्ष प्रस्ताव गरेको मोडालिटीमा नोट साट्ने ब्यक्तिले आफ्नो आम्दानीको स्रोत र नोट सक्कली भएको बारेमा आफैले जिम्मेवारी लिनु पर्ने भन्ने थियो । यस्तै नोट साट्ने ब्यक्तिले बैंकमा खाता खोलेर भारु जम्मा पार्ने, नेपाली बैंक वित्तीय संस्थाले त्यस्तो रकम राष्ट्र बैंकमा पठाउँने र राष्ट्र बैंकले सबै रकम जम्मा भएपछि सम्बन्धित ब्यक्तिको खातामा भारुको नेपाली विनिमय दर अनुसार जम्मा गरिदिने ब्यवस्था थियो । केही दिनको लागि सटही सुविधा दिने र यस्तो सुबिधा दिएको दिनसम्मलाई नेपाल भारत सीमा नाका बन्द गर्नेसम्मको काम गर्न सकिने नेपाली पक्षको प्रस्ताव थियो । तर अहिले भारतबाट बोराका बोरा प्रतिबन्धित नोट नेपाल भित्रन थालेका छन् । अर्थात भारतले जुन कुराको चिन्ता जनाएको थियो, त्यही भइदियो ।
कति भारु थिए नेपालमा ?
यसको जवाफ कसैले पनि दिन सकेन । र, आजसम्म पनि दिएको छैन । नेपालमा हजार र ५ सय दरका भारुको कारोबार हुन थालेको २०७१ को फागुन पछि मात्रै हो । त्यो समयभन्दा अगाडि सो दरका नोट नेपालमा प्रतिबन्ध नै थियो ।
नेपालमा भारुको कारोबार अनौपचारिक रुपमा धेरै हुने गरेको छ । सामान्य दैनिक उपभोग्य बस्तु र सेवाको किनबेचमा पनि भारुको प्रयोग सहजै हुने गरेको छ ।
नेपाल राष्ट्र बैंकले आरबिआइबाट भारु नोट ल्याउने गरेको छ । तर राष्ट्र बैंक वा अन्य बैंक वित्तीय संस्थाले भारतबाट औपचारिक रुपमा हजार र ५ सय दरका नोट अहिलेसम्म नल्याएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
‘सर्बसाधारणसँग कति भारु थियो वा छ भन्ने यकिन जानकारी प्राप्त हुन सकेको छैन, बैंकिङ प्रणालीमा भने ७ करोड ८४ लाख ६१ हजार भारु बराबरका हजार र ५ सय दरका भारु नोट छन्,’ ढुंगाना भन्छन् ।
अब के गर्ने त ?
प्रतिबन्धित भारु नोट ठूलो परिमाणमा नेपाल भित्रदा समस्या हुने राष्ट्र बैंकको भनाइ छ । यो समस्या समाधानको लागि सरकारले तत्काल पहल गर्नुपर्ने ढुंगाना बताउँछन् ।
‘साट्ने हो भने तत्काल साट्नु पर्यो, नसाटिने हो भने हामीले तत्काल जनतालाई भन्नुपर्यो, नेपालमा साटिन्छ भन्ने आशा र अनुमानका आधारमा ठूलो परिणाममा प्रतिबन्धित भारु नोट नेपाल भित्रिन थालेको छ, यसले नेपाली अर्थब्यवस्थामै समस्या उत्पन्न गराउन सक्छ, त्यसकारण नेपाल सरकारले भारत सरकारसँग कुरा गरेर के हुने हो त्यसको तत्काल जानकारी जनतालाई दिनु आवश्यक हुन्छ,’ ढुंगानाको भनाइ छ ।
र, अन्त्यमा यति भन्नै पर्ने हुन्छ, नेपाली पक्षले ‘राष्ट्रबादी’ अडानबाट नझुक्ने निर्णय गरेकै कारण अहिले भारु तस्करीको अन्तराष्ट्रिय संजाल तयार भएको छ । नेपालीसँग भएका हजार र ५ सय दरका प्रतिबन्धित भारु नोट नसाटिने खतरा बढेर गएको छ ।