मर्जरमा जाने संस्थाको अन्यौलतामा सकियो एभरेष्ट बैंकको साधारणसभा



काठमाडौं । एभरेष्ट बैंकले ले विशेष साधारणसभा बोलाएपछि यसका सेयरधनी र सरोकारवालामा एभरेष्टको साधारणसभाको बारेमा निकै चासो बढेको थियो । बुधवार सकिएको एभरेष्टको विशेष साधारणसभा मर्जर जान लागेको संस्थाको अन्यौलतामै सकिएको छ ।

साधारणसभाले मर्जर तथा एक्विजेशन गर्नको लागि संचालक समितिलाई अधिकार दिएको छ । यस्तै बैंकमा रहेको ७० प्रतिशत संस्थापक सेयरपनि ५१ प्रतिशतमा झरेको छ ।

खासगरी मर्जरको विषयमा भने सेयरधनीबीच विभिन्न अनुमान थियो । साधारणसभामा स्वागत गर्दै अध्यक्ष बिकेमान श्रेष्ठले एउटा बैंकसँग मर्जर वा एक्विजेशनमा जाने कुरा भएको र यसको सेयर मुल्य ४ सय ५० रुपैयाँ हाराहारी भएको जानकारी सेयरधनीलाई दिएका थिए ।

अध्यक्ष बोल्दै गर्दा सेयरधनीबीच लक्ष्मी वा आइसिएफसी फाइनान्स को सँग मर्जरमा जाने छलफल चलेको थियो । श्रेष्ठले भनेजस्तो प्रतिकित्ता ४ सय ५० रुपैयाँ सेयर मुल्य लक्ष्मी बैंकको छ । पछिल्लो समय हल्लापनि लक्ष्मीसँग नै चलेको छ । केही सेयरधनीले कुन बैंकसँग मर्जरमा जाने हो त्यो भन्नुपर्ने आवाज अध्यक्षलाई राखेका थिए ।

विशेष साधारणसभामा लगानीकर्ताले कुन बैंकसँग मर्जरमा जान लागेको प्रश्न गरेका थिए । सेयरधनी मेजर कुवेर श्रेष्ठले अध्यक्षलाई प्रश्न सोध्दै भने,‘ अध्यक्ष ज्यू हामीलेपनि पैसा कमाउन पाए हुन्थ्यो,कोसँग मर्जरमा जाने तयारी भएको छ त्यो भन्नुपर्यो त्यसको सेयर किन्नुहुन्थ्यो।’

यस्तै अर्का सेयरधनी अमृतनाथ रेग्मीले एभरेष्टको ग्रोथको लागि एउटा संस्थासँग मिल्न आवश्यक भएको प्रतिक्रिया दिए ।

सेयरधनीका विभिन्न प्रश्नको उत्तर दिदै अध्यक्ष बिकेमान श्रेष्ठले भने,‘ मर्जरमा कुराकानी भएको नाम भन्न मिल्दैन,त्यो भनेपछि भोलीदेखि हाम्रो सेयर कारोबार रोकिन्छ।’

उनले सेयरधनीलाई आफ्नो प्राथमिकता मर्जरभन्दा पनि एक्विजेशनमा रहेको र यसले एभरेष्टको सेयर कारोबार नरोकिने जानकारी दिए ।

‘एभरेष्टको मर्जरको लागि कुरा नभएको स्टाण्र्डर्ट चार्टर्ड र नबिल बैंकमात्र हो’,उनले सेयरधनी समक्ष भने,‘ मर्जरको लागि सम्पत्ती र दायित्वको मुल्यांकन गर्न विदेशी नियुक्त गर्न राष्ट्र बैंकले अनुमनी दिएको छ।’ कोसँग मर्जरमा जाने भन्ने कुरा सम्झौता भएपछि जानकारी हुन्छ ।

उनले बैंकले रिजर्ब बढाउन जोड दिने भन्दै नगद लाभांशमा अब प्राथमिकता दिने जानकारी दिए ।

साधारणसभामा सेयरधनीले रिजर्ब बढाउनको लागि हकप्रद बाहेक,मर्जर एफपिओको सहारा लिनुपर्ने सुझाव दिएका थिए ।


क्लिकमान्डु